राप्ती गाउँपालिकाले कुकुर र बिरालो लाई खोप लगाउदै !

जगत खनाल,

 

देउखुरी । राप्ती गाउँपालिकाले बिश्व रेजिब दिवसको अबसरमा साताव्यापी रुपमा घरमा पालिएका कुकुर र बिरालोलाई खोप लगाउन थालेको छ ।

पशुपंक्षि शाखा मार्फत एक हप्ता सम्म निःशुल्क खोप लगाउन थालिएको शाखा अधिकृत जिवराज पौडेलले जानकारी दिए। ‘खासमा घरपाला कुकुर र बिरालो तथा सामुदायिक कुकुरलाई खोप लगाउने अभियान चलाएका छौं’ उनले भने ‘हामीले सामुदायिक कुकुरको संख्या घटाउन बन्ध्याकरण शिबिर चलाउने सोचमा छौं ।’

१६ औं बिश्व रेबिज दिवसको उपलक्ष्यमा राप्ती गाउँपालिकाले रेबिज बिरुद्धको खोप लगाई सप्ताह ब्यापी रुपमा मनाउने क्रममा बिहिवार देखि खोप लगाउन सुरु गरिएको हो । कुकुर र बिरालोहरुका लागि निःशुल्क रेविज खोप कार्यक्रम असोज ६ गतेदेखि १२ गतेसम्म चल्ने छ । नियमित रुपमा खोप लागाउने गरिएको छ । तर, सबै कुकुर र बिरालो यसको दायरामा आएका छैनन । ‘सबैलाई खोपको पहुँचमा ल्याउन अभियान थालेका हौं’ उनले थपे ‘रेबिजको जोखिम कम गर्न र रेबिज हुन नदिन यस खाले अभियानलाई प्राथमिकता दिएका हौं ।’

आफूले पालेका वा आफ्नो घर वरिपरिका सामुदायिक कुकुर र बिरालोहरुलाई उक्त स्थानमा ल्याई निःशुल्क खोपको लाभ लिन पालिकाले अनुरोध गरेको छ ।

खोप सञ्चालन प्रत्येक दिन विहान ११ देखि २ बजे सम्म तोकिएको पालिकाले जनाएको छ । खोप वडा नं. १, २ र ३ का लागि वडा नं. २ को कार्यालय, बराखुट्टी, वडा नं. ४, ८ र ९ का लागि पशुसेवा केन्द्र, मौरीघाट, वडा नं. ५, ६ र ७ का लागि वडा नं. ५ को कार्यालय, सिसहनियाँ तोकीको पशुपंक्षि शाखा अधिकृत पौडेलले जानकारी दिए ।

यसैगरी लमही नगरपालिकाले हालसम्म करिब पाँचसय सामुदायिक कुकुरको बन्ध्याकरण गरिसकेको छ । यस बर्ष पनि बन्ध्यनकरण शिबिरको अवसरमा खोप लगाउने कार्यक्रम रहेको पशु शाखाका प्रमुख शिवराज न्यौपानेले जानकारी दिए।

सङ्क्रमित कुकुर तथा जनावरले मानिसलाई टोक्दा लाग्ने रेबिज रोगलाई खोपका माध्यमबाट रोकथाम गर्न सकिने आधारहरु छन ।

रेबिज भाइरसले केन्द्रीय स्नायु प्रणालीमा सङ्क्रमण गर्छ। त्यसैले मानिसमा एकपटक सङ्क्रमण भइसकेपछि रेबिजका बिरामीलाई बचाउन सकिदैन । नेपालमा वार्षिक करिब एक सय जनासम्मले रेबिजका कारण ज्यान गुमाउने गरेको सरकारी विवरण छ।

रेबिज सङ्क्रमण भएका जनावरले मानिसलाई टोकेमा त्यस्ता जनावरको र्‍यालबाट रोग सर्न सक्ने चिकित्सकहरू बताउँछन् । रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि फैलिनका लागि केही दिनदेखि महिनौँसम्म पनि लाग्न सक्ने चिकित्सकको भनाइ छ ।

तपाईको प्रतिक्रिया