
माधव खनाल, दाङ ।
स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको छ । त्यसैगरी गढवा गाउँपालिका दोश्रो, तुलसीपुर उपमहानगरपालिका तेश्रो र बंगलाचुली गाउँपालिका चौथो भएको छ ।
स्वास्थ्य कार्यालय दाङको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समिक्षा कार्यक्रममा राप्ती गाउँपालिकालाई उत्कृष्ट घोषित गरेको हो । अन्य पालिकामध्ये राप्ती गाउँपालिकाले स्वास्थ्यका विभिन्न सूचकहरु गत वर्षको कार्यक्रममा सबै भन्दा राम्रो बनाएको आधारमा सोमबार एक कार्यक्रमका बीच उत्कृष्ट भएको घोषणा गर्दै प्रमाण पत्र प्रदान गरिएको छ ।
गत आर्थिक वर्षमा पालिकाहरुले स्वास्थ्य कार्यक्रमका गरेको कामको मुल्यांकन गर्न स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भरत कुवरको संयोजकत्वमा गठित ४ सदस्यीय टोलीले उत्कृष्टता घोषणा गरेको हो । खोप, सुरक्षित मातृत्व, स्वास्थ्यका लक्षित कार्यक्रमसहित १६ वटा सूचकलाई आधार बनाएर उत्कृष्ट घोषित गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताए ।
उत्कृष्ट भएका पालिकाहरुलाई घोराही उपमहनगरपालिकाका मेयर नरुलाल चौधरी, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा लगायतले प्रमाण पत्र हस्तान्तरण गरे । कार्यक्रममा जिल्लाका १० वटै पालिकाले पालिकागत रुपमा गत वर्ष गरेको स्वास्थ्य क्षेत्रका कामका बारेमा जानकारी गराउँदै कार्य प्रगति र चुनौतिका बारेमा अवगत गराएका थिए ।
कोभिड विरुद्धको खोप अभियानमा उत्कृष्ट व्यवस्थापन गरेको भन्दै राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउत, शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर पुन र तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक विमला केसीलाई उत्कृष्ट जनस्वास्थ्यकर्मीका रुपमा सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया