लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा, बालबालिकाको लागी खोप सुरक्षा कवज

 

 

बासुदेव न्यौपाने
दाङ । लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा भएको छ । पूर्ण खोप समन्वय समितिले प्रदेशका १२ जिल्लामा ६६ हजार ४ सय ६४ बालबालिकालाई खोप लगाइएको विवरण सार्वजनिक गर्दै पूर्ण खोप सुनिश्चिता प्रदेश घोषणा गरेको हो । १६ महिना देखी २३ महिनासम्मका बालबालिकालाई खोप लगाइएको सुनिश्चित गरेर प्रदेशलाई पूर्णखोप सुनिश्तिता प्रदेश घोषणा गरिएको छ ।

लक्ष्य अनुसार बालबालिकालाई पूर्ण खोप लगाइएपछी शुक्रबार राप्ती गाउँपालिकामा औपचारीक कार्यक्रमको आयोजना गरेर पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गरिएको छ । यसरी पूर्णखोप घोषण गर्ने लुम्बिनी प्रदेश दोस्रो हो । यस अघि गण्डकी प्रदेशले पूर्णखोप सुनिश्चितता घोषण गरिसकेको छ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शुक्रबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता भएको घोषणा गरे । अहिले ११ वटा रोगविरुद्ध बालबालिकालाई खोप दिइँदै आएको छ । हालसम्म नेपालमा ६७ जिल्ला पूर्णखोप घोषण भइसकेका छन् ।

पूर्ण खोप अभियानको लक्षित समुहमा सबै खोप पाउने बालबालिकाको उमेर समुह १५ महिना उमेर भित्रका बालबालिकाहरु पर्दछन् । पूर्णखोप सुनिश्चितता अभियानमा १६ देखि २३ महिनासम्मका सबै बालबालिकाहरु पर्ने गर्दछन् । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका पुर्व महानिर्देशक डा. कृष्ण पौडेलका अनुसार नेपालमा सञ्चालित खोप कार्यक्रम जनस्वास्थ्यको सबैभन्दा सफल कार्यक्रमको रुपमा लिइन्छ ।‘रोग लाग्न भन्दा लाग्न नदिनुु उत्तम उपाय हो । रोग लाग्नबाट बचाउनका लागि हाम्रो शरीरमा रोग विरुद्धको प्रतिरोधात्मक शक्ति बढाउन खोपले काम गर्दछ’उनले भने,‘नेपालमा विभिन्न संक्रमणजन्य भाइरस तथा ब्याक्टेरिया विरुद्ध विभिन्न प्रकारका खोपहरु उपलब्ध छन् ।’

खोप दिएर रोगसँग शरीरको प्रतिरोधक क्षमता बढाउने प्रक्रियालाई भ्याक्सीनेसन वा इम्युनाइजेसन पनि भनिन्छ । खोप अनुसार मासुमा, छालाभन्दा भित्र र छालामा दिइन्छ । कुनै कुनै खोपहरु लाईभ भ्याक्सीन हुन्छन् । जिवीत ब्याक्टेरिया वा भाइरस जीवहरुको अंश राखेर दिइन्छ । जस्तै बिसिजी, दादुरा विरुद्धको खोप, यसमा ब्याक्टेरिया वा भाइरसका कणहरु जसले त्यो विरुद्ध प्रतिरोध शक्ति उत्पादन गर्न सक्छ ।

बालबालिकाहरुलाई दिइने पूणखोपहरु

बालबालिकाहरुलाई क्षयरोग विरुद्धको बीसीजी जन्मनासाथ देखि महिना दिनभित्र दिईन्छ । लहरेखोकी वा भ्यागुते रोग विरुद्धको खोप, धनुष्टंकार, हेपाटाइटिस बि र हेमोफिलस (हिब)को खोप ६, १० र १४ हप्तामा दिइन्छ । पोलियो इन्जेक्टेवल १४ हप्तामा दिइन्छ । निमोनिया विरुद्धको पिसिभी १० खोप ६ हप्ता, १० हप्ता र ९ महिनामा लगाइन्छ । दादुरा, रुवेलाको खोप बालबालिका ९ महिना भएपछि दिइन्छ र दोस्रो मात्रा १५ महिनामा दिइन्छ । जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप १२ महिनामा दिइन्छ । १५ महिनाको उमेरमा दादुरा, रुवेलाको दोस्रो मात्रा दिनुपर्छ ।

बालबालिकाहरुलाई उल्लेखित खोपहरु पूर्ण रुपमा दिइएमा पूर्णखोप पाइएको मानिने छ । यी सबै खोपहरु नेपाल सरकारले तोकिदिएको स्वास्थ्य केन्द्रहरुमा निःशुल्क उपलब्ध छ । सरकारले निःशुल्क रुपमा उपलब्ध गराएका खोप बाहेक विभिन्न प्रकारका अन्य खोपहरु पनि उपलब्ध छन् । जसलाई ऐच्छिक खोपका रुपमा लिइन्छ ।

स्वास्थयकर्मीको मेहनतले उपलब्धीः शेरचन

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले स्वास्थ्यकर्मीको मेहनत र खटाइले लुम्बिनी प्रदेश पुर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको बताए । लुम्बिनी प्रदेश पूर्णखोप समन्वय समितिका अध्यक्ष तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन खोप अनिवार्य रुपमा लगाउनुपर्ने बताएका हुन । स्वस्थ्यमन्त्री इन्द्रजित थारूले खोपको महत्व अझै बुझाउन आवश्यक रहेको बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, पाल्पा स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरी, युनिसेफका केन्द्रीय प्रतिनिधि तारिकु बह्रममु लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पूर्ण खोप सुनिश्चितता घोषणामा महत्त्वपूर्ण योगदान पु¥याएका १२ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुख, स्वास्थ्यकर्मी लगायतकालाई प्रसंशापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।

तपाईको प्रतिक्रिया