बासुदेव न्यौपाने
दाङ । कोरोना संक्रमणले आक्रान्त बनेको नेपालमा गत वर्ष जस्तै यस वर्षपनि डेंगु फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले पछिल्लो समय डेंगु बढ्दै गएको देखाएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकका अनुसार यस वर्ष भाद्र २९ गतेसम्म देशका ७५ वटा जिल्लामा फैलिएको डेंगुबाट १२ हजार दुई सय १७ जना संक्रमित पुष्टि भइसकेका छन। । महाशाखाका अनुसार जनवरीदेखि सेम्टेम्बर १४ सम्ममा ७५ जिल्लामा डेंगु पुष्टि भइसकेको छ। मुस्ताङ र हुम्लामा भने डेंगु पुष्टि नभएको महाशाखाले जनाएको छ।
दाङमा यस वर्ष ८ सय ३९ जनामा डेंगु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत बहादुर शाहीका अनुसार दाङमा श्रावण १ गतेदेखि भाद्र २९ गतेसम्ममा ८ सय ३९ जनामा डेंगु पुष्टि भएको छ भने एक महिलाको मृत्यु भएको छ । घोराही क्षेत्रका विभिन्न अस्पतालमा ७ सय ५१, तुलसीपुर क्षेत्रमा ५८ जना र देउखुरी क्षेत्रमा ३० जनामा डेंगु पुष्टि भएको प्रमुख शाहीले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा (विदेशी) डेंगुका बिरामी देखिएको थिए । सन् २००४ पछि हरेक वर्ष डेंगोको संक्रमण देखिँदै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। महाशाखाको तथ्यांक अनुसार सन् २००५ मा डेंगु पुष्टि भएको रेकर्ड छैन भने सन् २००६ देखि सन् २०२१ सम्ममा २५ हजार ९६६ जनामा डेंगु पुष्टि भइसकेको छ।
एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने गर्दछ । एडिज जातको लामखुट्टेले जमेको सफा थोरै पानीमा पनि फूल पार्छ। त्यसैले एडिज जातको लामखुट्टेबाट बच्न पानी जम्ने टिनका डब्बाहरु, प्लाष्टिकका बोतल, प्लाष्टिकका खोल, टायर, सिसी, गमला, पानी ट्यांकी जस्ता पानी जम्ने भाँडा घरको वरिपरि राख्नु हुदैन । अर्थात यस्ता भाडाहरुमा पानी जम्न नदिनु नै डेंगुबाट बच्ने प्रमुख उपाए रहेको शाहीले बताए ।
एडिज जातको लामखुट्टेले दिउँसोको समयमा टोक्ने हुदा पुरा बाहुला भएको वा पुरै शरिर ढाक्ने लुगा लगाउने, दिउँसोको समयमा सुत्दा पनि झुलको प्रयोग गर्ने, घरका झ्याल ढोकामा जाली लगाउने, घर वरपर सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्दा पनि डेंगुबाट बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया