आशाका किरण संस्थाले सञ्चालन गरेको १ हप्ते सरसफाई सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

संस्थाले सोमबार राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
गत २१ गते देखि सुरु गरेको पहिलो चरणको अभियान सम्पन्न गरेको संस्थाले राप्ती गाउँपालिकाद्वारा सञ्चालित सरसफाई महाअभियानलाई समर्थन जनाउँदै सो अभियानलाई सफल बनाउने जनाएको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रमुख बजार भालुवाङ सहितका अन्य बजार क्षेत्रमा फोहोर अत्यधिक बढेको भन्दै सो संस्थाले राप्ती गाउँपालिकासँग समन्वय गरेर १ हप्ता सम्म दैनिक रुपमा माइकिङ गर्ने र यातायात व्यवसायी, सवारी साधान तथा व्यापारीहरुलाई जथाभावी फोहोर नफाल्न निर्देशन दिने गरी कार्यक्रम गरेको थियो ।
सके सफा गरौ, नसके फोहोर नगरौं, गाडीमा यात्रा गर्दा बाहिर फोहोर नफालौं, डस्वीनमा मात्र फोहोर फालौं, सभ्य नागरिकको परिचय दिउ भन्ने मुल नाराका आयोजना गरेको आशाको किरण संस्थाले भालुवाङ, सिसहनिया, लालमटिया लगायतका मुख्य चोकहरुमा जनचेतना सम्बन्धी कायक्रमहरु गरेको थियो ।
संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलमान चौधरीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै चौधरीले फोहोर व्यवस्थापनका लागि वडा नम्बर ४ मौरीघाटमा जग्गा लिजमा लिइसकिएको र त्यहाँ गल्ने र नगल्ने फोहोरका लागि संरचना निमार्ण कार्य भइरहेकोले फोहोर व्यवस्थापन चाँडै हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै उनले फोहोर व्यवस्थापन गाउँपालिका एक्लैले गर्न नसक्ने हुँदा विभिन्न संघसंस्था तथा युवाहरुको आवश्कता रहेको र त्यसमा सवैले स्वमसेवकको रुपमा काम गर्न अनुरोध पनि गरेका छन् ।
समापन कार्यक्रममा वडा नम्बर २ का निर्वतमान वडा अध्यक्ष जगतबहादुर थापा, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्का, हाम्रो लुम्बिनी न्युज डटकमका अध्यक्ष तथा प्रधान सम्पादक बासुदेब न्यौपाने लगायतका वक्ताहरुले महत्वपुर्ण भनाई राखेका थिए ।
कार्यक्रममा उद्योगी, व्यापारी, यातायात व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न संघ संस्थाका प्रमुख तथा सर्वसाधारणको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए ।

तपाईको प्रतिक्रिया