भालुवाङमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

 

 

भालुवाङ । विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । कोभिड १९ को संक्रमण रोकथामको लागी गरिएको बन्दाबन्दी, निशेधाज्ञाका कारणले नेपालभर रगतको चरम अभाव भएको थियो । यस्तो अवस्था जुनसुकै समयमा पनि उत्पन्न हुन सक्छ । दाङमा समय समयमा रगतको अभाव हुदै आएको छ । यो अभावलाई केहि हदसम्म कम गर्ने उद्देश्यले शनिबार दाङको भालुवाङमा राप्ती मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ र आशाको किरण संस्थाको संयुक्त आयोजनामा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 

राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ र आशाका किरण संस्थाको संयुक्त आयोजना भएको उक्त रक्तदान कार्यक्रममा राप्ती गाउँपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र लमही र होटल पौवाको प्राविधिक सहयोगमा रहेको थियो भने रक्त सञ्चार सेवा केन्द्र दाङका प्राविधिक प्रमुख ठाकुर पौडेल, रक्त सञ्चार सेवा केन्द्र लमहीका प्रमुख मनिषा चन्द, प्राविधिकहरू सिमा वली, दिलिप चौधरी र लमही अस्पतालका ल्याप ट्याक्निसियन श्रीजन पौडेलले सेवा दिएका थिए ।

रक्तदान जिवन दान भन्ने मुल नाराका साथ भएको उक्त रक्तदान कार्यक्रममा ३ जना महिला र ४९ पुरूष गरि ५२ जनाले रक्तदान गरेका थिए ।

राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष हरि खड्काको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको रक्तदान उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले रक्तदान पवित्र कर्म भएको हुदा हामीले प्रदान गरेको रगतले कसैको ज्यान बाँच्छ भने रक्तदान गर्न आवश्यक रहेको बताए ।

विशेष गरी थारु जातिमा देखिने सिकलसेल एनिमिया, शरीरमा रगत नै उत्पादन नहुने थालेसेमिया जस्ता धेरै रोगहरु जसका लागि रगत आवश्यक पर्ने हुदा रगत खेर जान दिनु भन्दा दान गरेर पुन्यको काम गर्न अध्यक्ष विष्टले सबैलाई आग्रह गरेको थिए ।

राप्ती मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ वरिष्ठ उपाध्यक्ष नवराज शाहीको स्वागतबाट सुरुभएको कार्यक्रमको सञ्चालन आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासेले गरेका थिए ।

तपाईको प्रतिक्रिया