काठमाडौं । प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त अर्थ मन्त्रालयको सीसी क्यामेराको रिकभर फुटेजमा एउटा शंकास्पद गाडी देखिएको छ।

बजेट घोषणाको अघिल्लो दिन (जेठ १४ गते)को राति १२ बजेतिर एउटा शंकास्पद गाडी अर्थ मन्त्रालय प्रवेश गरेको देखिएको संसदीय विशेष छानबिन समितिका एक सदस्यले जानकारी दिए।
‘जेठ १४ गते राति एउटा गाडी अर्थ मन्त्रालयमा आएर २/३ घण्टा रोकिएर गएको देखिएको छ,’ समितिका एक सदस्यले भने, ‘यो गाडी कसको हो, के प्रयोजनले आएको भन्ने कुरा भोलि (बुधबार) विस्तृत रुपमा बुझिन्छ।’
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपको छानबिनका लागि गठित समितिले जेठ १४ गतेको सीसीटीभी फुटेज मागेको थियो। अर्थ मन्त्रालयले उक्त अवधिको फुटेज स्वत: मेटिएको भन्ने जवाफ दिएपछि समितिले फुटेज भण्डार (स्टोर) हुने हार्ड ड्राइभ नै झिकाएर परीक्षण तथा रिकभरका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको थियो।
प्रहरीको विधि विज्ञान प्रयोगशालाले सोमबार समितिलाई आफ्नो रिपोर्ट बुझाएको थियो। सिलबन्दी गरिएको रिपोर्ट मंगलबार बिहान बसेको समितिको बैठकमा खोलिए पनि प्राविधिक भाषाहरु नबुझिएको भन्दै विज्ञसँग छलफल गर्ने निष्कर्ष निकालिएको थियो।
मंगलबार अपराह्नको बैठकमा विज्ञहरुसँग छलफल गर्दा फुटेजका धेरै दृश्यहरुमा ‘क्लियर’ हुन नसकिए पनि एउटा शंकास्पद गाडि बजेट निर्माण भइरहँदा जेठ १४ गतेको राति अर्थ मन्त्रालय छिरेको देखिएको ती सदस्यको भनाइ छ।
‘बजेट निर्माणका क्रममा प्रवेश गरेको गाडीको नम्बर प्लेट पनि देखिएको छ,’ ती सदस्यले भने।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको हो वा होइन भन्ने विषय प्रमाणित गर्नका लागि ‘शंकास्पद गाडी’ प्रवेश गरेको फुटेज अन्तिम क्लू भएको ती सदस्यको भनाइ छ। ‘सीसीटीभीका धेरै क्लिपहरु छन्। ती सबै क्लिपलाई जोडेर हेर्दा पनि निष्कर्ष निकाल्न सकिन्छ,’ ती सदस्यको भनाइ छ।
नेपाल लाइभबाट

तपाईको प्रतिक्रिया