लुम्बिनी प्रदेश सरकारले कर्मचारीलाई ५ दिने पर्यटन बिदा दिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश मातहतका कर्मचारीलाई ५ दिने पर्यटन काज बिदा दिने भएको छ ।

 

प्रदेश सरकारले कर्मचारीको आन्तरिक पर्यटन काज कार्यक्रम (पहिलो संशोधन) कार्यविधि २०७८ जारी गर्दै काज बिदा दिने सुनिश्चित गरेको हो ।

मूख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले जारी गरेको कार्यविधि अनुसार यो प्रावधान चालु आर्थिक वर्षको साउन १ गतेदेखि सुरु भएको छ ।

कार्यविधि अनुसार लुम्बिनी प्रदेशमा समायोजन भएका, प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नियुक्त भएका, प्रदेश सरकारका निकायमा सरुवा वा काजमा खटिई कामकाज गरिरहेका, नेपाल सरकार वा संघीय निकायले प्रदेशमा कामकाज गर्न खटाएका र प्रदेश सरकारी निकायमा काम गरेको एक वर्ष पूरा भएका स्थायी कर्मचारीले पर्यटन काज बिदा पाउने छन् ।

कार्यविधि अनुसार कर्मचारीले प्रदेश भित्र मात्र पर्यटकीय क्षेत्र रोज्न सक्ने छन् भने छनोट समेत आफैंले गर्न सक्ने छन् । पर्यटकीय स्थल छनोट गर्दा आफ्नो स्थायी बसोबास भएको जिल्लाका र हाल बहाल रहेको जिल्ला रोज्न पाइने छैन ।

आन्तरिक पर्यटन काजमा कामकाजमा असर नपर्ने गरी एक पटकमा तीन जनासम्म कर्मचारी भ्रमणमा जान सक्नेछन् । आन्तरिक पर्यटन काज भ्रमण पूरा गरी कार्यालयमा हाजिर भएको १५ दिन भित्र प्रतिवेदन पेश पर्ने छ । साथै उक्त प्रतिवदनमा भ्रमणको क्रममा लिइएका तस्वीर पनि समावेश गर्नुपर्छ ।

प्रतिवदन पेश गरेपछि आन्तरिक पर्यटन काज बिदामा जाने कर्मचारीले एक मुष्ट २५ हजार रुपैयाँ भुक्तानी पाउने छन् । तर झुटा विवरण पेश गरेमा दोब्बर रकम असुल गरिने छ ।

 

 

तपाईको प्रतिक्रिया