काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।

क्रिकेट क्यानडाले दासानायके मुख्य प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिम क्यानडा र स्कटल्यान्ड भ्रमणबाट फर्किएलगत्तै पुबुदुले राजीनामा दिएको जानकारी दिएका थिए।
पुबदुले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र पठाएका थिए। उनले व्यक्तिगत कारणले टिम छाडेको राजीनामामा उल्लेख गरेका थिए। एक साताअघि राजीनामा दिए पनि उनले बुधबार मात्र पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिएका हुन्।
पत्रकार सम्मेलनमा पनि उनले परिवारलाई समय दिन क्यानडा फर्किनु परेकाले राजीनामा दिएको बताएका थिए। पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘मैले व्यक्तिगत कारणले राजीनामा दिएको हुँ। क्यानडामा परिवारलाई समय दिन आवश्यक छ। अबका केही वर्ष मैले क्यानडाबाहिर काम गर्न सक्ने अवस्था छैन।’
उनले त्यसो भनेको केही घण्टा नबित्दै क्रिकेट क्यानडाले उनी आफ्नो मुख्य प्रशिक्षक नियुक्त भएको जानकारी दिएको हो ।

तपाईको प्रतिक्रिया