विश्व क्यान्सर दिवसः क्यान्सर सुर्तीजन्य पदार्थको सेवन गर्नेलाई बढी

 

 

क्यान्सरले उमेर, लि‌ङ्ग, अङ्ग, जात, वर्ण कुनै छुट्टाउँदैन। जसलाई पनि, जहिले पनि, जहाँ पनि लाग्न सक्ने रोग हो ‘क्यान्सर’। शरीरको टाउकोदेखि खुट्टासम्म, भर्खर जन्मेको शिशुदेखि वृद्ध अवस्थासम्म, कुनै पनि धर्म, जातका व्यक्तिलाई लाग्न सक्ने रोग हो ‘क्यान्सर’। हामी सबैको शरीर सूक्ष्मसूक्ष्म कोषिकाले बनेको हुन्छ। कुनै कारणबस, ती सूक्ष्म कोषिकाको अनियन्त्रित वृद्धि हुँदै जानु नै क्यान्सर हो।

क्यान्सर झट्ट सुन्दा मृत्युको विकल्प, भय, त्रास, पीडा र डरको पर्यायवाची। तर क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् ।

प्रायः सबैलाई थाहा छ, सुर्तीजन्य पदार्थको सेवनले हामीलाई क्यान्सर गर्दछ। तर धेरैलाई थाहा छैन कि, मानव शरीरमा लाग्ने हरेक अङ्गको क्यान्सरको पहिलो कारक तत्त्व भनेको सुर्तीजन्य पदार्थ नै हो। सुर्तीजन्य पदार्थ भन्नाले चुरोट, बिंडी, हुक्का, पाइप, चिलिम, गुटखा, खैनी, पान परागा आदि पर्दछन्। सुर्तीजन्य पदार्थबाहेक मदिरापान, विषादीयुक्त खाना, चर्को नुन, ढुसी परेको खाना, पोलेको मासुले क्यान्सरको सम्भावना बढाउद्ँछ। त्यसैले क्यान्सरबाट टाढा हुनु भन्नु नै यी चिजको सेवन नगर्नु हो।

मंगलबार अर्थात फ्रेबुअरी ४ विश्व क्यान्सर दिवस । नेपालमा पनि ‘पृथकतामा एकताः क्यान्सर भोगाईका कथाहरू’ भन्ने मुल नाराका क्यान्सर विरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यसै क्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले विभिन्न सचेतनामुलक कार्यक्रम तथा अन्तरक्रिया गरी दिवस मनाएको छ ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्यकर्मीहरुले क्यान्सर अर्थात् अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि भउको बताएका छन् । क्यान्सर लाग्दैमा डराउनु नपर्ने र प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरूको भनाई छ ।

क्यान्सरमा सामान्य चार अवस्था हुन्छन्। पहिलो, दोस्रो, तेस्रो र चौथो। पहिलो र दोस्रो अवस्थालाई हामी सुरुको अवस्था भन्छौ भने, तेस्रो र चौथोलाई ढिलो अवस्था। कुनै कुनै क्यान्सर लाग्नु भन्दा अगाडि नै शून्य अवस्थामा पनि फेला पर्न सक्दछन् जुन प्रायः निको हुन्छ। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र प्रसाद बरालका अनुसार क्यान्सरमा एउटै गुरु मन्त्र छ ‘सुरुमा उपचार गरे, क्यान्सर निको हुन्छ’। तसर्थ क्यान्सरको उपचार भन्नु नै ती अनियन्त्रित कोषिकाको वृद्धि रोक्नु हो र अन्त फैलन नदिनु हो। मुलतः क्यान्सरको उपचारमा ३ वटा उपचार पद्धति छन् शल्यक्रिया, रेडिएसन, किमोथेरापी।

कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले क्यान्सर जस्ता गम्भीर रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले तीनै तहका सरकार, स्वास्थ्य संस्था तथा स्थानीय समुदायको समन्वयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए । अध्यक्ष विष्टले स्वस्थ जीवनशैली, नियमित स्वास्थ्य परीक्षण र समयमै रोगको पहिचान हुन सके क्यान्सरलाई नियन्त्रण गर्न सकिने बताए ।

तपाईको प्रतिक्रिया