दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री स्वदेश फर्किएका छन्। चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तरार्ष्ट्रिय सम्मेलनमा भाग लिएर मुख्यमन्त्री बिहिवार स्वदेश फर्किएका हुन्।

उनी कार्तिक २६ गते सोमवार त्यसतर्फ गएका थिए। सिचुआन प्रदेशका वैदेशिक विभागका उपमहानिर्देशक पाङग्वाङ ल्याङले तियान्फु विमानस्थल पुगेर मुख्यमन्त्री आचार्य सहितको प्रतिनिधि मण्डलको विदाई गरे।
स्वदेश फर्किएका मुख्यमन्त्री आचार्यले सम्मेलनमार्फत लुम्बिनी प्रदेशको समृद्धि र विकासका एजेण्डा स्थापित गर्न सफल भएको बताए।
‘सम्मेलन मार्फत लुम्बिनी प्रदेशको विकासको एजेण्डा र भावी योजनाको बारेमा ध्यानाकर्षण गराउन सफल भयौं’उनले भने,‘लुम्बिनीमा हुने लगानी सम्मेलनको वातावरण निर्माण देखि विदेशी लगानीकर्ताहरुलाई आकर्षीत गर्ने सवालमा यो भ्रमण ऐतिहासिक रह्यो।’
सिचुआन प्रदेश र लुम्बिनी प्रदेशको विचमा भएको मितेरी सम्वन्ध पुर्नताजगि भएको, भ्रमणले लुम्बिनीमा लगानी भित्र्याउन वातावरण निर्माण गर्न सफल भएको, नवीन पर्यटनमैत्री योजना र पूर्वाधार निर्माण तथा सिचुआनको देयाङ नगर सँग लुम्बिनीका नगरपालिकाको मितेरी सम्वन्ध स्थापना गर्नेबारे योजना बनाउन सफल भएको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए। सम्मेलन मार्फत मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशभित्र सिचुवान प्रान्तलगायत कुनैपनि प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्र्याउन र लगानी सुरक्षित गर्न आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा सार्वजनिक गरेका थिए।
नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लालाई बुद्ध सर्किटसँग जोड्ने योजनालाई कार्यान्वयनमा ल्याउन मोनोरेल सञ्चालन बारे अध्ययनका लागि विदेशी लगानीकर्ता समक्ष योजना अघि सारेका थिए। प्रदेश राजधानी शहर निर्माण आयोजना, भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश राजधानी शहर राप्ती देउखुरी जोडन आवस्यक पर्ने सुरुङमार्ग निर्माण, बुद्ध सर्किटमा पर्ने बिभिन्न स्थलमा पर्यटन भौतिक पूर्वाधार निर्माण र मोनोरेल, लुम्बिनी प्राबिधिक बिश्वबिद्यालयका लागि चिनियाँ प्राविधिक बिश्वबिद्यालयको आवस्यक सहयोग, चिनियाँ बिधायन पद्धति र सिकाइका आधारमा लुम्बिनी प्रदेश सभाका सभासदहरुको क्षमता अभिवृद्धिका लागि आवस्यक सहयोग, कृषक, पशुपालकका लागि क्षमता अभिवृद्धि उत्पादित बस्तुबजारीकरण तथा जडिबुटी उत्पादकहरुको लागि क्षमता बिकासमा सहयोग तथा बजारीकरणमा सहयोग, पर्यटनस्थल व्यवस्थापन र पथपर्दशन सम्बन्धि बिशिष्ट तालिम एवं भाषा प्रशिक्षणको बिषयमा ध्यानाकर्षण गराइएको थियो।
सम्मेलनमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा। रामबहादुर राउत,स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा। सागर न्यौपाने र मुख्यमन्त्रीकी श्रीमती दीपा आचार्य सहभागी थिए। २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गरिएको थियो। तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गरेका थिए। कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्त विच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो।

तपाईको प्रतिक्रिया