दशरथ घिमिरे

दाङ- उकालो ओरालो, अनि साँघुरो सडक। पहाडबाट खसिरहने पहिरो। प्युठान र रोल्पा जिल्लाको प्रवेशद्वारका रूपमा परिचित भालुवाङ-प्युठान सडकखण्डको अवस्था अझै सुधार हुन सकेको छैन।
सधैंजसो यो सडक खण्डमा पहिरोको जोखिम उत्तिकै छ। कहिले सुख्खा त कहिले हिलो माटो र चट्टान सहितको पहिरो झर्दा समस्या पर्दै आएको छ।
‘यो सडक भएर यात्रा गर्न निकै दुःख हुन्छ। कहिलेकांही त बीच बाटोमै छेकिनुपर्ने अवस्था छ, ‘ स्थानीय दीपा पौडेलले भनिन्, ‘बाटो सुरक्षित नहुँदा यात्रा गर्न नि हिम्मत आउँदैन।’
गर्जेनीमा साँघुरो घुम्तीको भीर काटेर फराकिलो बनाउन ठूला मेसिन लागे। भीर काटे। मेसिनले जमिन थर्कियो। अहिले त्यही थर्किएको जमिनबाट पहिरो झरिरहेको छ। बुधबारबाट अवरुद्ध सडक आज विहानबाट सुचारु भएको छ। तर, भरपर्दाे छैन। बड्डाडा-चकचके सडकमा कमजोर भौगोलिक बनावट भएका कारणले पहिरो पटकपटक पहिरोको सामना गर्नुपरेको सडक डिभिजन प्रमुख राजीव श्रेष्ठले बताए।
गर्जेनीको पहिरो सधैंका लागि समाधान गर्नेगरी बृहत परियोजना तयार पारिएको छ। बायो इञ्जिनियरिङसहित पक्की संरचना निर्माण गरेर पहिरो नियन्त्रण गर्न करिब साढे ५ करोडको योजना तयार भएको श्रेष्ठले बताएका छन्। ‘यहाँको समस्या समाधान गर्न बृहत योजना निर्माणको काम भएको छ। बजेटको लागि माथिल्लो निकायमा माग गरेर पठाएका छौं, ‘ उनले भने, ‘गर्जेनीको पहिरोले सबैलाई सास्ती दिँदै आएको छ। यसको दीर्घकालीन समाधानको लागि पहल सुरु भएको छ।’
सडक बिस्तारको बेला ठूलो मेसिनले पहाड काट्ने काम गर्दा जमिन थर्किएर कमजोर भू-भागलाई थप कमजोर बनाएर पहिरो झर्ने समस्या बढेको छ।
आकश्मिक मर्मत सम्भार अन्तर्गत पहिरो सफा गर्न बर्सेनि करिब ४० लाख रुपैयाँ विनियोजन गर्दै आएको सडक डिभिजन कार्यालयले जनाएको छ। सडकमाथि चट्टानी भीर, तलतिर माडी नदी भएकाले पैदलमार्गसमेत नहुँदा यात्रुलाई हिँड्डुल गर्न समेत सकस हुँदै आएको छ।

तपाईको प्रतिक्रिया