
तुल बहादुर कवँर मगर
देउखुरी । राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनीपाटामा सामुदायिक स्वास्थ्य ईकाइ भवनको मंगलबार उद्घाटन गरिएको छ।
भवनको पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश संसद इन्द्रजित थारुले उद्घाटन गर्नुभएको हो। भवन उद्घाटन गर्दै संसद थारुले मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष स्वास्थ्य भएको बताउदै विकट गाउँहरुमा स्वास्थ्य सेवा पुर्याउनु सरकारको दायित्व भएको बताउनुभयो।
नागरिकहरु स्वस्थ नभए सम्म घर, समाज र देशको विकास सम्भव नहुने बताउदै संसद थारुले स्वास्थ रहन खानपिन, जीवनशैली सँगै समयसमयमा स्वास्थ्य चेकजाँच गराउन समेत आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समय गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच नपुगेका विकट गाउँहरुमा स्वास्थ्यको पहुँच पुर्याउने उदेश्य सहित स्वास्थ्य इकाईहरुको स्थापन गरेको बताउनुभयो ।
भौतिक संरचना भन्दा पनि त्यहाँ बाट प्रवाह हुने सेवा कस्तो छ भन्ने कुराले ठुलो अर्थ राख्ने बताउदै अध्यक्ष विष्टले गुणस्तरीय र निःशुल्क स्वास्थ्य सेवा प्रवाहमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
राप्ती गाउँपालिकाको १० लाख र जनश्रमदान मार्फत १ लाख ७३ हजार १ सय ३५ रुपैयाँ गरि कुल ११ लाख ४३ हजार १ सय ३५ रुपैयाँ लागतमा भवन निमार्ण भएको हो भने वडा कार्यालयको १ लाख रुपैयाँ लागतमा शौचालय निर्माण गरिएको छ।
स्वास्थ्य इकाई निर्माण भई सञ्चालनमा आए सँगै सो क्षेत्रका मानिसहरुलाई सामान्य बिरामी हुदा समेत भालुवाङ्ग लगायत अन्य ठाउँका अस्पतालहरुमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ।

स्वास्थ्य इकाई बाट दैनिक बिरामी चेकजाँच, परिवार नियोजन सेवा, पोषण सेवा, क्षयरोग उपचार सेवा, गर्भवती चेकजाँच तथा खोप सेवा प्रदान सँगै नेपाल सरकारद्धारा उपलब्ध गराईने ९८ किसिमका औषधी निःशुल्क प्रदान गरिने राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयो ।
सो अवसरमा जग्गा दाता गोपीराम बुढा मगरलाई समेत सम्मान गरिएको थियो ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा लुम्बिनी प्रदेश संसद इन्द्रजित थारुको प्रमुख आतिथ्यता एवम् गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी र प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओलीको विशिष्ट आतिथ्यतामा भवनको उद्घाटन गरिएको हो।
राप्ती गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चौधरीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण हेल्थ असिस्टेन्ट पद प्रसाद पौडेलले गर्नु भएको थियो ।
गाउँपालिकामा २ स्वास्थ्य चौकी सहित ४ वटा आधारभूत स्वास्थ्य केन्द्र,५ वटामा सामुदायिक स्वास्थ्य इकाई,१९ वटा गाउँघर किल्निक र १५ वटा खोप केन्द्र सञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया