देउखुरीमा टुटा किराको प्रकोप, बोटमै सुक्यो टमाटर

दशरथ घिमिरे

 

देउखुरी । लमही नगरपालिका–६ कुलमोहर निवासी झगबहादुर खत्रीले लगाएको टमाटर बोटमै सुकेर खेर गयो । दश क्वीन्टल जति टमाटर बोटमै सुकेको देख्दा झगबहादुरलाई अब फेरि खेती गर्ने आँट आएको छैन । फागुनको अन्तिम सातादेखि नै टमाटरमा रोग देखिन थाल्यो । त्यसपछि औषधि, बिषादी छर्दा पनि नियन्त्रणमा आउन नसकेपछि अहिले फल लागेकै अवस्थामा बोट सुकेर टमाटर खेर गएको छ ।

‘टमाटरको पातमा सेतो दाग देखियो । पछि फैलिदै गयो । फलमा पनि किरा लाग्यो’– उहाँले भन्नुभयो– ‘अहिले बोटमा रातै टमाटर पाकेको छ तर बोट मरेपछि त्यो पनि खेर गयो ।’ विगत केही वर्षदेखि झगबहादुरले पाँच कट्ठा जग्गामा व्यावसायिक टमाटर खेती गर्दै आउनुभएको हो । तर रोग किराको प्रकोपले खेतीपातीमा घाटा हुने गरेको सुनाउनु भयो । ‘माटोमै पसिना बगाइयो । दुःख ग¥यो तर दुःख अनुसारको आम्दानी लिने बेलामा रोगले उल्टै घाटा लगायो’– उहाँले भन्नुभयो– ‘यसरी घाटा हुँदा सरकारले हामीलाई हेरेन ।’

अर्का किसान श्यामसुङ गिरीले पनि व्यावसायिक टमाटर खेती गर्नुभएको छ । उहाँले लगाएको टमाटरमा पनि झगबहादुरको जस्तै समस्या देखिएको छ । टमाटरमा रोग देखिएपछि बजार पाउन पनि मुस्किल परेकाले गाई, गोरु र सुंगुरलाई दानाको रुपमा टमाटर खुवाउने गरेको बताउनुभयो । ‘बजारमा दश रुपैयाँ किलो पनि बिकेन । अब के गर्ने ?  सुंगुर र गाई गोरुलाई खुवाउने बाहेक अरु उपाय रहेन’– उहाँले भन्नुभयो– ‘तीन वर्षदेखि हामीले टमाटरमा नयँँ खालको रोग प्रकोपको सामना गर्नुपरेको छ । बिषादीले समेत काम नगरेपछि हैरानी भोग्नु परेको छ ।’

लमही नगरपालिका–६ का किसानले गरेको टमाटर खेतीमा टुटा किराको प्रकोप देखिएको पाइएको छ । जसको रोकथामका लागि स्थानीय तहबाट कुनै प्रयास भएको देखिएको छैन । किसानले नयाँ रोग किराको प्रकोपसँग लडिरहँदा नियन्त्रणका लागि किसानलाई परामर्श दिनेदेखि वैकल्पिक उपायको खोजीमा ध्यान नदिएको किसान धनसरी खत्रीले बताउनुभयो । ‘आफुले लगाएको टमाटरको सबै फल टिप्न नपाउँदै बोट सुकेको देख्दा पिरले मन भतभती पोलेको छ । तर के गर्नु, सहनुबाहेक केही रहेनछ’– उहाँले भन्नुभयो– ‘किसानलाई परेको मर्का सुन्ने निकाय कहाँ छ ? ’ अर्जुनखोलाको किनारमा छ, कुलमोहर गाउँ । कुनै समय यहाँ सुख्खा थियो । किसानले खेतीपाती गर्दैनथे । सिंचाईको व्यवस्था थिएन । गाउँमा विजुली पुगेपछि अर्जुनखोलाको पानी तानेर किसानले खेती गर्न थाले । बाटो छेउको बस्ती भएकाले उत्पादन भएको तरकारी बिक्री गर्न सजिलो भयो । त्यसपछि यहाँका किसान विस्तारै खेतीपातीमा संलग्न हुन थाले । अहिले स्थानीय किसानले व्यावसायिक रुपमा टमाटर खेती गर्दै आएका छन् । ‘यो गाउँको माटो राम्रो छ । सिंचाईको सुविधा प्रभावकारी हुने हो भने थोरै जग्गामा पनि धेरै उब्जनी हुन सक्छ’– गिरीले भन्नुभयो– ‘हामीलाई सरकारको साथ चाहिएको छ ।’

के हो टुटा किरा ? 

टमाटरको पात खन्ने किरा टुटा एब्सुलुटा हो । टमाटरको लागि अत्यन्त विनाशकारी किरा हो । दक्षिण अमेरिकामा उत्पति भएको यो किरा तीब्र गतिमा युरोप, नाइजेरिया र एशियामा फैलिदै गएको छ । नेपालमा यो किरा भित्रिएको पुष्टि नेपाल कृषि अनुसन्धान परिषद्ले २०७३ जेठ ३ गते गरेको थियो । टुटाले टमाटर बाहेक आलु, भण्टा, भेडे खुर्सानी, धतुरो जस्ता बालीहरुमा असर गरेको पनि पाइएको छ । यो किराले किरमिर परेको लेखेको जस्तो सुरुङ् अन्य पात खनुवा जस्तो देखिए तापनि यसको क्षति अलि फरक र भयानक छ । यसको व्यवस्थापन बेलैमा गर्न नसके शतप्रतिशतसम्म पनि नोक्सानी बेहोर्नुपर्ने अवस्था छ । यसले पातको हरितकण खाएर बाहिरको झिल्ली मात्र बाँकी राख्छ र विस्तारै बिरुवाको मुना, डाँठ र फलमा समेत नोक्सान पु¥याउने गर्दछ । टुटाको नियन्त्रण कुनै पनि एकल विधिबाट सम्भव हुँदैन । यसका लागि एकीकृत किराको व्यवस्थापन गर्न यसको जीवन चक्र, हावा, पानी, वातावरण आदिको ज्ञान हुनु जरुरी रहेको कृषिविज्ञको भनाइ छ । किराको प्रवेशमा रोक लगाइ आन्तरिक तथा बाह्य क्वारेन्टाइन प्रभावकारी रुपमा सञ्चालन गर्न सके यसको नियन्त्रण सम्भव रहेको विज्ञहरुको सल्लाह छ । जाली घरभित्र बेर्ना उत्पादन गरी रोप्नाले केही हदसम्म क्षति कम गर्न सकिने देखिएको छ ।

सोसल मिडियामा सेयर

तपाईको प्रतिक्रिया