तुल बहादुर कवँर मगर
देउखुरी । देउखुरीको राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो।
खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य थारुले व्यवस्था परिवर्तन गर्न खेल क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भएको छ।
त्यस्तै उहाँले राज्यले खेल क्षेत्रको बृहत विकासका लागि वातावरण बनाउँदै लगेको हुँदा यसको लाभ लिन सक्ने गरि खेल क्षेत्रमा लाग्न खेलाडी तथा नयाँ पुस्तालाई आग्रह गर्नु भएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रतिष्पर्धाले मानव जिवनलाई गतिशील बनाउने हुँदा खेलमा अनुशासन अति आवश्यक रहेको बताउनुभयो ।खेलमा सफलता प्राप्त गर्न एक्लै सम्भव नहुने हुँदा सामुहिकताका माध्यमबाट सहकार्य गरी अघि बढ्नु नै सफलताको आधार रहेको अध्यक्ष विष्टको भनाई थियो ।

त्यस्तै उहाँले यस वर्ष बजेट अभावका कारण अन्य खेलहरुलाई समावेश गर्न नसकिएको बताउदै आगामी वर्षमा सबै खेललाई समेटेर लैजाने बताउनुभयो।
गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले स्थानीय स्तरबाट शुरु गरिएको खेलबाट पालिका हुँदै जिल्ला प्रदेश र देशको प्रतिनिधित्व कायम गर्न सक्ने गरी खेल क्षेत्रमा लाग्न खेलाडीहरुलाई हौसला प्रदान गर्नु भयो ।
सो अवसरमा ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटीयाका प्रमुख बिक्रान्त ज्ञवाली,नेपाली काङ्ग्रेसका राप्ती गाउँपालिका सभापति विद्याशरण चौधरी,नेकपा एमाले राप्ती गाउँ कमिटीका अध्यक्ष मदन अधिकारी ,नेकपा माओवादी केन्द्रका नारायण शर्मा ,नेकपा एकीकृत समाजवादी पार्टीका शिशिर पुन,राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि राजकुमार आचार्य,राष्ट्रिय जनमोर्चाका गिर बहादुर पौडेल ,ईन्देणी युव क्लबका अध्यक्ष भिम बहादुर मरासिनी ,राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उद्घाटन समारोह कार्यक्रमको सहजीकरण शिक्षा अधिकृत बासुदेव खनालले गर्नुभएको थियो ।
यसैबीच शुक्रबार महिला तर्फका ४ र पुरुष तर्फका ४ खेल गरि ८ खेल सम्पन्न भएको छ।
खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार बिहान ७ बजे देखि जनप्रतिनिधि र कर्मचारीहरु बीच खेल हुनेछ भने दिउसो १ बजेदेखि सेमिफाइनलका खेलहरु हुने वडा नं. ३ का वडा अध्यक्ष तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक उमेश अधिकारीले जानकारी दिनुभयो।
प्रतियोगितामा राप्ती गाउँपालिका अन्तर्गतका विभिन्न वडाका महिला तथा पुरुष गरि १६ वटा टिमको सहभागिता रहेको छ।.खेल फिफाको नियम अनुसार नकाआटको आधारमा खेलाइएको छ।
पुरुषहरुको खेल वडा नं. ३ मसुरीया स्थित श्रीचौर खेल मैदानमा सञ्चालन भएको छ भने महिलाहरुको खेल वडा नं. २ लालमटिया स्थित टुडिखेल मैदानमा सञ्चालन भएको छ।
प्रतियोगिताको बिजेता महिला तथा पुरुष दुबै टिमले ४० र ४० हजार तथा उप विजेताले ३०र३० हजार नगद पुरस्कार पाउने संयोजक अधिकारीले जानकारी दिनुभयो ।
खेल आगामी २० गते सम्म सञ्चालन हुने छ।

तपाईको प्रतिक्रिया