देउखुरीको पिपरीमा गाडीको ठक्करबाट साइकलयात्री दिदिको मृत्यु, बहिनी गम्भीर घाइते

देउखुरी – दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। राप्ती गाउँपालिका–८ निवासी ३५ वर्षीया राधा बस्नेतको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

 

पूर्व – पश्चिम राजमार्गअन्तरगत राप्ती गाउँपालिका–८ पिपरी नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१्०२२ च १३६९ नम्बरको स्काेरपियो गाडीले सोही दिशा भएर गुडिरहेको साइकललाई ठक्कर दिएको थियो।

साइकलमा सवार दिदी बहिनीमध्ये दिदी बस्नेतको मृत्यु भएको र बहिनी राप्ती गाउँपालिका–८ निवासी १८ बर्षीया विपना केसी गम्भीर घाइते भएको प्रहरी कार्यालयले जनाएको छ।

घाइते केसीको सिसहनियाँ स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर थप उपचारका लागि बुटवल लगिएको छ। शव लमही अस्पतालको शव गृहमा राखिएको छ। स्काेरपियो गाडी तीब्र गतिमा भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

गाडी प्रहरी नियन्त्रणमा भए पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया