खुशी साट्दै देउखुरीका पाका पुस्ता

दशरथ घिमिरे

 

देउखुरी । लमही निवासी गंगादेवी खड्का शनिबार कहिले आउला भनेर औंला भाँच्दै बस्नुहुन्छ । यसरी पर्खनुको एउटा मात्रै कारण छ आफ्ना उमेर समूहका सँगसाथीहरुबीच भेट गर्ने, मनका बह पोख्ने अनि भजनकीर्तन गरेर रमाउने ।

घरमा एक्लै बस्दा कुरा गर्ने मान्छेसम्म हुँदैनन् । एक्लो हुँदा मनमा धेरै कुराहरु खेल्ने भएकाले आफ्नो उमेर मिल्ने साथीहरु भेटिने ठाउँमा भेला हुन ज्येष्ठ नागरिकहरु आतुर देखिन्छन् । बाजागाजासहित स्थापना भएको दिवा सेवा केन्द्रमा उनीहर भजनकीर्तन गरेर रमाउने गरेका छन् । ‘बुढेसकालले छोयो भने घरको पनि हेलारी भइँदोरहेछ । यस्तो बेलामा सँगसाथी पनि चाहिँदो रहेछ । घरमा कुरा गर्नेसम्म मान्छे हुँदैनन् । अहिले दिनभरी भए पनि साथीहरुसँग गफिन पाइएको छ । यसैमा खुशी छु’– खड्काले भन्नुभयो– ‘सबै ठाउँ यस्तै सुविधा भइदिए हुन्थ्यो ।’

पाका उमेरका मानिसहरुको पीडा भुल्ने ठाउँ बन्न थालेको छ दिवा सेवा केन्द्र । हप्ताको एक दिन भेला हुने, छलफल, भजनकीर्तन र नाचगान गरेर रमाउने गरिएको छ । जसबाट उहाँहरुमा मानसिक र शारीरिक स्वास्थ्यमा समेत सहयोग पुगेको पाइएको छ । उमेर पुगेका ज्येष्ठ नागरिक मात्रै होइन, बाद्यवादन तथा कला संस्कृतिसँग जोडिएका व्यक्ति पनि पाका पुस्तासँग रमाउने गरेका छन् । ‘उमेर ढल्किदैछ । पुग्नुपर्ने त्यही पाका पुस्ताको उमेरमै हो । म उहाँहरुसँग भेट्न पाउँदा र खुशी साट्न पाउँदा ज्यादै खुशी छु’– कलाकर्मी तथा संगीत शिक्षक बेदुलाल सुवेदीले भन्नुभयो– ‘भजनमा लीन हुँदा बेग्लै आनन्द आउँछ, त्यो आनन्द शब्दमा व्यक्त गर्न सकिनँ ।’

स्थानीय सरकार गठन भएपछि सहारा ज्येष्ठ नागरिक सञ्जाल गठन गरिएको थियो । त्यही सञ्जालमा आवद्ध ज्येष्ठ नागरिकहरुले आफ्ना समस्या समेत दर्शाउने गरेका छन् । सूचना प्रविधिको विकास, वैदेशिक रोजगारी, सामाजिक क्षेत्रमा देखिएको विकृतिका कारण ज्येष्ठ नागरिकहरु एक्लो बन्दै गएको देखिन्छ । उमेर बढ्दैजाँदा देखिने स्वास्थ्यसम्बन्धी समस्याहरु पनि छन् । यसरी रमाइलो गरेर दिनहरु बिताउँदा ज्येष्ठ नागरिकहरुमा बेग्लै खालको उत्साह पलाएको छ । ज्येष्ठ नागरिकहरुमा खुशी भर्न दिवा सेवा केन्द्रले महत्वपूर्ण भूमिका खेलेको छ । २०७८ असार २३ गतेदेखि केन्द्र सञ्चालनमा आएको थियो । अहिले साप्ताहिकरुपमा नियमित भजनकीर्तन तथा ज्येष्ठ नागरिकहरुको भेला हुँदै आएको छ । घरमा एक्लै बस्दा धेरै ज्येष्ठ नागरिकहरुमा मनोसामाजिक समस्या समेत देखिने गरेको छ । तर यसरी सामूहिक रुपमा भेला हुने, मनका बह पोख्ने, नाचगान, भजनकीर्तन गर्ने कार्यले मनोसामाजिक सहित शारीरिक समस्या समेत हटेर गएको ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष जागेश्वर शर्मा घिमिरेले बताउनुभयो ।

‘भुल्ने ठाउँ भएको छ । मानसिक स्वास्थ्यमा सुधार भएको छ । शारीरिक स्वास्थ्यमा सुधार भएको छ । एक आपसमा चिनापर्ची हुन्छ’– उहाँले भन्नुभयो– ‘सुख, दुःख शेयर गर्ने कुराहरु हुन्छन् । यो धेरै सकारात्मक कुरा हो ।’ दिवा सेवा केन्द्रले ज्येष्ठ नागरिकहरुको आत्मसम्मान बढाउने काम भएको ज्येष्ठ नागरिक सञ्जालका सचिव दामोदर पाण्डेले बताउनुभयो । ‘घरमा कुज्जिएर बस्नुपर्ने अवस्था थियो । तर हप्तामा एक दिन भए पनि घरबाट बाहिर निस्किने, रमाउने वातावरण बन्यो’– उहाँले भन्नुभयो –‘शनिबार कहिले आउँछ भनेर औंला भाँच्ने ज्येष्ठ नागरिक पनि हामीसँग हुनुहुन्छ । ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर यस्ता दिवा सेवा केन्द्रहरु वडा तहमा समेत पु¥याउन जरुरी छ । जहाँ गाउँभरिका ज्येष्ठ नागरिकहरु भेला भएर आफ्ना समस्याहरु साट्न सकून् ।’

तपाईको प्रतिक्रिया