राप्तीमा निःशुल्क क्यान्सर परीक्षण शिविर सम्पन्न, ४ सय ३६ जनाले लिए स्वास्थ्य सेवा

 

 

देउखुरी । दाङको राप्ती गाउँपालिकामा एक दिने निःशुल्क क्यान्सर स्क्रिनिङ्ग शिविर शनिबार सम्पन्न भएको छ ।

राप्ती गाउँपालिकाको आयोजना एवम् शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको समन्वयमा गाउँपालिकाको वडा नं. ५ सिसहनियाँ स्थित स्वास्थ्य चौकी सिसहनियाँमा उक्त शिविर सम्पन्न भएको हो।

लुम्बिनी प्रदेशका प्रदेश सां सद इन्द्रजित थारु उद्घाटन गनुृ भएको उक्त शिविरमा ४ सय ३६ जना बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनुभयो।

सो अवसरमा बोल्दै सांसद थारूले क्यान्सर सम्बन्धी सचेतना जगाएर समयमै रोग पहिल्याउन सकियो भने धेरै हदसम्म रोग निको पार्न सकिने बताउनुभयो।

मानिसको जीवनशैली र खानपिनकै कारण पछिल्लो समय क्यान्सर रोगका बिरामीहरु वृद्धि हुँदै गएको बताउँदै उहाँले रोग लाग्नै नदिनका लागि पनि यस बारेको सचेतना अपरिहार्य रहेको बताउनुभयो।

त्यस्तै सांसद थारुले क्यान्सर रोग लागेका बिरामीहरुको उपचारका लागि स्थानीय सरकारको सिफारिसमा प्रदेश सरकारले दुई लाख रुपैयाँ सम्मको उपचार खर्च व्यहोर्ने बताउनुभयो।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले क्यान्सर रोगका लक्षण देखिएको तर आर्थिक अभावकै कारण उपचार गराउन नसकेका विपन्न नागरिकहरुलाई लक्ष्यित गरि शिविर सञ्चालन गरिएको बताउनुभयो ।

सर्वसुलभ र गुणस्तरीय सहितको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा पालिका प्रतिबद्ध रहेको बताउदै अध्यक्ष विष्टले आगामी दिनमा पनि यस प्रकारका शिविरहरु आयोजना गरिने बताउनुभयो ।

त्यस्तै राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले यस शिविरबाट बिरामीहरुले स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै उनीहरूको पैसा र समय दुबैको बचत भएको बताउनुभयो।

शिविर उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष देव प्रसाद चौधरी, वडा नं. ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, स्वास्थ्य शाखा प्रमुख नारायण रावत, शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेका कार्यवाहक अध्यक्ष इमरान खान, सदस्य मुविन खाँ लगायतको सहभागीता रहेको थियो।

शिविरमा क्यान्सर रोग विशेषज्ञ डाक्टर साजन थापा,डाक्टर सुवास महेता, युरोलोजिस्ट डाक्टर विपिन गुराँगाई, जनरल एण्ड ईमरजेन्सी मेडिसिन विशेषज्ञ डाक्टर खोम बहादुर चौधरी लगायतका चिकित्सकहरुको टोलीले स्वास्थ्य सेवा प्रदान गर्नु भएको थियो।

 

तपाईको प्रतिक्रिया