
बासुदेव न्यौपाने
दाङ । लुम्बिनी प्रदेशमा गर्भपतन गराउनेको संख्या बढेको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको तथ्याङ्क अनुसार गर्भपतन गराउने मध्ये २० वर्ष मुनीका १० प्रतिशत भन्दा बढी रहेका छन् ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन, २०७५ को भाग ४ को दफा १५ ले गर्भवती महिलाको अवस्थाअनुसार १२ हप्तादेखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था भएसँगै सुरक्षित गर्भपतन गराउने बढ्दै गइरहेको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले जनाएको छ ।
लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा १८ हजार १ सय ७ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेशका १२ जिल्लामा गरी १८ हजार १ सय ७ जनाले गर्भपतन गराएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ लुम्बिनी प्रदेशमा १८ हजार ४ सय १५ जनाले सुरक्षित गर्भपतन गराएका थिए ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका तथ्याङ्क अधिकृत तथा सुचन अधिकारी डोरबहादुर बस्नेतका अनुसार सुुरक्षित गर्भपतन गराउने मध्ये १७ हजार ७१ जना २० वर्ष भन्दा माथि उमेर समूहका महिला छन् भने १ हजार ४६ जना २० वर्ष भन्दा कम उमेरका किशोरीहरु रहेका छन् । १५/१६ वर्षकै उमेरमा पनि गर्भपतन गराउन आएका स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत बस्नेतले बताए ।
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य सबै भन्दा धेरै सुरक्षित गर्भपतन गराउनेको संख्या रुपन्देही जिल्लामा रहेको छ भने सबै भन्दा कम रुकुम पूर्वमा रहेको बस्नेतले बताए । गत आर्थिक वर्षमा रुपन्देहीमा मात्रै ४ हजार ४ सय ७९ जनाले सुरक्षित गर्भपतन गराएका थिए भने रुकुम पूर्वमा ७३ जनाले मात्रै गर्भपतन गराएको स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत बस्नेतले बताए ।
स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार १२ हजार ७ सय ९४ जनाको मेडिकल विधिबाट सुरक्षित गर्भपतन गराएका छन् । जस मध्ये १२ हजार १ सय १५ जना २० वर्ष भन्दा बढी उमेर समूहका महिला र ६७९ जना २० वर्ष भन्दा कम उमेरका किशोरीहरु रहेका तथ्याङ्क अधिकृत बस्नेतले बताए ।
पहिले सुरक्षित गर्भपतन गराउने सूचीकृत स्वास्थ्य संस्थाको संख्या कम भएका कारण सबैको पहुँच थिएन । अहिले सूचीकृत स्वास्थ्य संस्थाहरू संख्याक बढेसँगै सबैको पहुँच हुदा गर्भपतन गराउनेको संख्या पनि बढी भएको हुन् सक्ने तथ्याङ्क अधिकृत बस्नेत बताउछन् । बस्नेतका अनुसार विगतमा असुरक्षित गर्भपतन गराउने गरेका कारण अहिले सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको देखिएको हुन सक्छ । निर्देशनालयले समाजमा सचेतनाका विभिन्न कार्यक्रमहरु संचालन गरेकाले पनि सुरक्षित गर्भपतन गराउनेहरुको संख्या बढ्दै गएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा ५ हजार ३ सय १३ जनाको सर्जिकल विधिबाट सुरक्षित रुपमा गर्भपतन गराइएको पाइएको छ । जसमध्ये ४ हजार ९ सय ४६ जना २० वर्ष भन्दा बढी उमेर समूहका महिला र ३ सय ६७ जना २० वर्ष भन्दा कम उमेर समूहका किशोरीहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया