देउखुरीको स्कुल जहाँ विद्यार्थीले पढ्छन् ‘मादल, बाँसुरी’

दशरथ घिमिरे

 

देउखुरी । सुप्रेना चौधरी जनता माध्यमिक विद्यालय गढवा कक्षा ६ मा पढ्नुहुन्छ । गढवा गाउँपालिकाले स्थानीय पाठ्यक्रम अनुसार तयार पारेको ‘हाम्रो गढवा’ कितावमा गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रको छुट्टै पाठ समावेश छ । यो पाठ अनुसार सुप्रेना कला संस्कृति संरक्षण केन्द्रको भ्रमणमा पुग्नुभयो । कक्षा शिक्षक सुनिता चौधरीले सुप्रेनासहित कक्षा ६ मा अध्ययनरत सबै विद्यार्थीलाई त्यहाँ पु¥याउनुभयो ।

‘कितावमा लेखेको कुरा प्रत्यक्ष देख्न पाउँदा विद्यार्थीहरु दंग छन् । रुचिपूर्वक बाजाको बारेमा जान्न खोज्छन् । बाजाहरु छुन पाउने, बजाउन पाउने जस्ता क्रियाकलापले नयाँ सिकाइ भएको छ’– उहाँले भन्नुभयो– ‘स्थानीय पाठ्यक्रम अनुसार विद्यार्थीहरुले आफ्नै गाउँठाउँको बारेमा सजिलोसँग जान्न पाए, मादल, बाँसुरीको बारेमा पढ्न पाए ।’ गढवा गाउँपालिका–६ मा स्थापना भएको गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रमा दैनिक जसो विद्यार्थीहरु अध्ययनका लागि पुग्ने गरेका छन् । दुईवटा विद्यालयका तीन समूहका एक सय ४७ जना विद्यार्थीले संरक्षण केन्द्रमा राखिएका बाजाहरुको अवलोकन गरेको र कक्षा लिएका छन् । विद्यार्थीहरुको समूह अध्ययनका लागि पुग्ने र करिब एक घण्टा विद्यार्थीहरुलाई लोपन्मुख पञ्चे बाजाको बारेमा पढाउने गरिएको पञ्चे बाजा कला संस्कृति संरक्षण केन्द्रका कोषाध्यक्ष रेशमबहादुर शाहीले बताउनुभयो ।

‘अहिले त विद्यार्थीहरु खोज्दै यहाँ आउनुहुन्छ । उहाँहरुलाई बाजाको बारेमा जानकारी दिने र सिकाउने गरेका छौं’– उहाँले भन्नुभयो– ‘विद्यार्थीले बाँसुरी, मादल, ढोलक, सहनाइलगायतका बाजाको बारेमा जिज्ञासा राख्नुहुन्छ । त्यो कसरी बजाउने तरिका पनि सिकाउँ‘छौं ।’ २०७४ सालमा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रको स्थापना गरिएको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट शुरु भएको यो संरक्षण केन्द्रलाई स्थानीय सरकारले सहयोग गर्दै आएको छ । जसले गर्दा स्थानीय समुदायका व्यक्तिहरु कला संस्कृतिको संरक्षण अभियानमा केन्द्रित भएर लागेका हुन् । शुरुमा ७५ हजार रुपैयाँ समुदाय स्तरबाटै सहयोग संकलन गरेर दमाहा, ढोलक, ट्याम्को, नरसिंह, झ्याली, सहनई, कर्नाल बाजा किनिएको थियो । त्यसपछि दैनिक बजाउने अभ्यास गरियो । लोक बाजाको संरक्षणका साथै लोकबाजा, लोकगीतको व्यवसायीकरण गर्न थालिएको छ । विवाह, पूजाआजा, मेला महोत्सवमा बाजा बजाउन जाने गरिएको छ । अहिलेसम्म एक सय १० वटा विवाहमा व्यावसायिकरुपमा बजा बजाउन पुगेको संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापाले बताउनुभयो । ‘हामी मरेर गए पनि हाम्रो संस्कार, संस्कृति नमरोस्, युवा मार्फत हस्तान्तरण भएर बाँचिराखोस् भन्ने चाहना छ’– उहाँले भन्नुभयो– ‘लोक संस्कृति, लोक बाजा संरक्षण गर्ने उद्देश्यले हामी सक्रिय भएर लागेका छौं ।’

तपाईको प्रतिक्रिया