लमहीमा राष्ट्रपति रनिङ शिल्ड: विद्यार्थीलाई उत्सव

दशरथ घिमिरे

 

देउखुरी । पिठ्यूँमा डोको । डोकोमा बिरामी आमा । अनि साथमा नाबालक सन्तानलाई डो¥याउँदै लीलामणि खत्री अघि बढ्नुभयो । यो दृश्यले सबैको ध्यान खिच्यो र भनियो हाम्रो समाजको अवस्था दृश्यले बोलिरहेको छ । लीलामणि खत्री माध्यमिक विद्यालय फल्कापुर कक्षा ९ मा पढ्नुहुन्छ । उहाँ छोराको भूमिकामा हुनुहुन्थ्यो भने आमाको भूमिकामा कक्षा ७ की विद्यार्थी विनिता वली ।

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा प्रस्तुत गरिएको झाँकीमा माध्यमिक विद्यालय फल्कापुरले फरक शैली अपनाएको थियो । समुदाय अनुसार फरक–फरक भेषभुषाको साथै समाजको चित्रलाई झाँकीमा देखाउन खोजियो । अनि विद्यार्थीले स्वरोजगार गरिरहेको अर्काे दृश्य पनि थपिएको थियो । चट्पटे बिक्री गर्दै पढाइलाई निरन्तरता दिएको दृश्यमा कक्षा १० का विद्यार्थी भेषबहादुर खत्री । ‘समाजको अवस्थालाई झाँकीमा उता¥यौं’– विद्यार्थी खत्रीले भन्नुभयो– ‘फरक शैलीमा सन्देश दिन पाएकोमा खुशी छौं ।’ रनिङ शिल्डलाई स्थानीय सरकार, विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले खेल महोत्सवको रुपमा लिने गरेका छन् ।

विद्यार्थीको खेल क्षमता प्रदर्शनको रुपमा मात्रै नभएर समुदाय अनुसारको कला संस्कृति संरक्षणको दृष्टिकोणले पनि रनिङ शिल्डलाई हेरिएको छ । विद्यार्थीहरुको सहभागितामा बृहत झाँ‘की प्रदर्शन गर्ने गरिएको छ । जुन झाँकीमा विद्यार्थीहरुले आ–आफ्नो समुदाय अनुसारको पोशाक, गरगहनामा सजिएका थिए । सोही अनुसारको नृत्यसमेत प्रस्तुत गरे । झाँकीहरुको प्रतिस्पर्धा हुने भएकाले पनि विद्यालयहरुले यसको तयारी गर्ने गर्छन् । स्थानीय सरकार बनेपछि रनिङ शिल्डलाई उत्सवमय बनाउन स्थानीय सरकारले प्रत्यक्ष ध्यान दिने गरेका छन् । स्थानीय सरकार आफैले कार्यक्रम गर्ने गरेका छन् । लमही नगरपालिकाको आयोजनामा मंगलबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

‘विद्यालय तहबाटै खेलाडी तयार पार्ने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिदै आएको छ । यसले विद्यार्थीहरुको खेल क्षमता बढाउन मद्दत गर्छ’– लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले भन्नुभयो– ‘रनिङ शिल्ड प्रतियोगिता एउटा उत्सव हो । नगरभित्रका सबै विद्यालय तथा विद्यार्थीहरु एक आपसमा घुलमिल हुने र सिकाइ हस्तान्तरण गर्ने अभियान पनि हो ।’ मानिसको जीवनलाई अनुशासित बनाउन खेलकूदको भूमिका महत्वपूर्ण हुने र यसबाट धेरै कुराहरु सिक्न सकिने लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताउनुभयो । ‘खेल मानव जीवनको अभिन्न अंग हो । यसलाई हामीले अवसरको रुपमा लिनुपर्छ’– उहाँले भन्नुभयो– ‘हामीले हरेक वर्ष राष्ट्रपति रनिङ शिल्डमार्फत नगरभित्रको खेलकूदको विकासमा ध्यान दिएका छौं ।’ एथलेटिक्स अन्तर्गतका सबै खेल विधामा विद्यार्थीहरुले भाग लिनेछन् । झाँकीमा आदर्श नमूना माध्यमिक विद्यालय देउपुर प्रथम, माध्यमिक विद्यालय फल्कापुर द्वितीय र आधारभुत विद्यालय बालोदय सुनडबरी तृतीय भएको थियो ।

देशको पहिचानसँग खेलकूद जोडिएको छ: मन्त्री खनाल

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले खेलकूदले देशको पहिचान विश्वभरि फैलाउन मद्दत गरेको बताउनु भएको छ । उहाँले नेपालले आफ्नो नाम विश्व सामु चिनाउन खेलकूद माध्यम बन्न थाल्नु सुखद् पक्ष रहेको औंल्याउनुभयो । लमही नगरपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेल क्षेत्रमा संलग्न खेलाडीहरुको भविश्य पनि उज्ज्वल रहेको चर्चा गर्दै खेलाडीहरुलाई व्यावसायिक बन्ने बातावरण सरकारले निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

‘म पनि कुनै समय खेलाडी थिएँ । त्यो भन्दा अहिले गौरव लाग्छ । खेल जीवनले मानिसलाई अनुशासित बनाउँछ’– उहाँ‘ले भन्नुभयो– ‘सरकारले अब खेल क्षेत्रको विकासमा अझ धेरै गर्न बाँकी छ । लुम्बिनी प्रदेश सरकारले पनि खेलक्षेत्रको विकासमा काम गरिरहेको छ ।’ उद्घाटन कार्यक्रमलाई लमही नगरपालिकाका निवर्तमान प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेलबासे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य, आदर्श नमूना माध्यमिक विद्यालय देउपुरका प्राचार्य कुलचन्द्र पौडेल, देउखुरी बहुमुखी क्याम्पस लमहीका अध्यक्ष लालवीर खड्का, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ६ का अध्यक्ष श्यामनारायण चौधरी, जिल्ला खेलकुद विकास समिति दाङका सदस्य अनिल रिजाल लगायतले सम्बोधन गर्दै खेल पूर्वाधार निर्माणमा जोड दिनुभएको थियो ।

उपप्रमुख लक्ष्मी योगीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण खिम बहादुर शाह माध्यमिक विद्यालय कोलहीका शिक्षक शेरबहादुर डाँगी र राप्ती माध्यामिक विद्यालय उचानिम्बुका शिक्षक सीता शर्माले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया