देउखुरी । चेम्बर अफ कर्मस लमहीले महोत्सव सञ्चालन गर्ने भएको छ । चेम्बर अफ कर्मस लमहीले आज पत्रकार सम्मेलन गरी लमहीमा रहेको अजम्मरी सामुदायिक वन भित्र रहेको जैविक विविधता ग्रिनपार्कमा ‘दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८०’ सञ्चालन हुने जानकारी गराएको छ ।

जैविक विविधता ग्रिनपार्कलाई संरक्षण गर्ने तथा पर्यटन प्रवद्र्धनका लागि विशेष सहयोग गर्ने मुख्य उदेश्यले माघ ५ गते देखि २० गतेसम्म महोत्सव सञ्चालन गर्न लागेको चेम्बर अफ कमर्सका अध्यक्ष शितल भुसालले जानकारी दिएका छन् ।
महोत्सवमा विभिन्न १ सय ५० बढी स्टलहरु राखिने र महोत्सव अवधिभर करिब ३ लाख दर्शकले अवलोकन गर्ने अध्यक्ष भुसालले जानकारी दिएका छन् । देउखुरी क्षेत्रका विभिन्न कृषि उत्पादनका सामाग्री, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु महोत्सवमा प्रोत्साहन गरिने समेत अध्यक्ष भुसालले बताए ।
महोत्सवमा कृषि तथा पर्यटन स्टललाई निःशुल्क गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक तथा असाहयहरूलाई परिचय–पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । त्यस्तै सर्वसाधारणका लागि लागि १ सय रूपैयाँ टिकट कायम गरिएको छ भने विद्यार्थीहरुलाई २० प्रतिशत छुट गरी ८० रूपैयाँ कायम गरिएको छ ।
महोत्सवबाट आम्दानी भएको रकमबाट जैविक विविधता ग्रिनपार्कको संरक्षण तथा प्रवद्र्धनमा खर्च गरिने छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागीता रहने आयोजकले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया