दाङ- लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी सुरु भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना मन्त्री थप गर्ने तयारी गरेका हुन् ।

सम्भवत: आइतबार मन्त्रीपरिषद् बैठक बसेर निर्णय गर्ने योजना छ । तीन वटा मन्त्रालय खाली रहेपनि एउटा मन्त्रालय आफैले राखेर बाँकी दुई वटा मन्त्रालयका मन्त्री थप गर्ने योजना बनाइएको बताइएको छ ।
नेपाली कांग्रेसबाट एक र माओवादी केन्द्रबाट एक जना गरी दुई जना मन्त्री थप गर्ने तयारी छ । कांग्रेसबाट पाल्पाका वीरबहादुर राना र माओवादीबाट बाँकेकी कृष्णा केसीलाई मन्त्री बनाउन थालेको स्रोतले जनाएको छ । केसीलाई खानेपानी, ग्रामिण तथा शहरी विकास, रानालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
हाललाई मुख्यमन्त्री चौधरीले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय आफूसंगै राख्ने योजना बनाएका छन् । गत बैशाख १४ गते एमाले र राप्रपा बाहेक ८ राजनीतिक दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सत्ता साझेदार दलहरुको वीचमा सहमती कायम नहुँदा सरकार बनेको झण्डै ९ महिना सम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन । विभागीय मन्त्री नपाउँदा मन्त्रालयको योजना निर्माण र कार्यान्वयनको काम प्रभावकारी हुन सकेको छैन ।
सरकार गठन हुँदा माओवादीलाई तीन वटा मन्त्रालय दिने सहमती भएको थियो । तर, अहिले जम्मा एक वटा मन्त्रालयको नेतृत्व माओवादी पार्टीले पाएको छ । बाँकी दुई वटा मन्त्रालयको जिम्मेवारी दिइएको छैन । माओवादी पूर्वसहमती कार्यान्वयन नभएको भन्दै असन्तुष्ट रहँदै आएको थियो । ‘आइतबारसम्म सरकार विस्तार गर्ने सरकारले योजना बनाएको जानकारीमा आएको छ । हामीले पूर्वसहमती अनुसार दुई जनालाई मन्त्री बनाउनुपर्छ भनिरहेका छौं’माओवादीका प्रमुख सचेतक इन्द्रजीत थारुले भने,’हाललाई कांग्रेसबाट एक, माओवादीबाट एकजना मन्त्री बनाउने सुन्नमा आएको छ ।’ आइतबार मन्त्रीपरिाषद् बैठक राख्न थालिएको भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले जानकारी दिए । ‘क्याविनेट बैठकको तयारी छ । टाढा जाने कार्यक्रम राखेको छैन’ उनले भने,’सरकार विस्तारको तयारी छ ।’
कांग्रेसले मन्त्रालय संख्या नथप्नेगरी सरकारलाई पूर्णता दिन मुख्यमन्त्री चौधरीलाई आग्रह गरेको थियो । सोही आधारमा मन्त्रालय थप नगर्ने, बाँकी मन्त्रालयहरुको लागि मन्त्री नियुक्त गर्ने तयारी गरेको देखिन्छ ।

तपाईको प्रतिक्रिया