दशरथ घिमिरे

देउखुरी । लुम्बिनी प्रदेशको प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको मातृ मृत्युदर र कडाखालको कुपोषणको समस्या कम गर्न एकीकृत योजना बनाउन थालिएको छ ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले मातृ मृत्युदर र कडाखालको कुपोषण कम गर्न एकीकृत योजना बनाउन थालेको हो । सरोकार राख्ने निकाय, विज्ञ तथा दातृ निकायहरुसँग योजना निर्माणका लागि छलफल र सुझाव संकलन गरिएको छ । दिगोविकास लक्ष्यमा सन् २०३० सम्ममा बच्चा जन्मदिने एकलाख जीवित आमामध्ये मृत्यु हुने आमाको संख्या ७० मा झार्ने संकल्प गरेको छ । तर राष्ट्रिय स्तरमा अहिले पनि एक लाख जीवित आमामध्ये एक सय ५१ जनाले ज्यान गुमाउनुपर्ने अवस्था छ भने लुम्बिनी प्रदेशमा यो संख्या बढेर दुई सय ७ रहेको छ । हरेक एक हजार जीवित जन्म भएको शिशुमध्ये मृत्यु हुने दर २० जनामा झार्ने संकल्प छ । तर अहिले राष्ट्रिय स्तरमा हरेक एक हजार जीवित जन्ममा ३३ जना र लुम्बिनी प्रदेशमा ४१ जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।
सन् २०२२ मा गरिएको जनसांख्यिक सर्वेक्षणमा मातृ मृत्युदरको अवस्था चिन्ताजनक देखिएपछि यो समस्या समाधान गर्न योजना निर्माणमा प्रदेश सरकार जुटेको स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले बताउनुभयो । ‘महिलाभित्र मातृ मृत्युदर उच्च छ भने कुपोषणभित्र पनि रक्तअल्पताको समस्या उच्च छ । मुख्य समस्यालाई ध्यानमा राखेर एकीकृत योजना निर्माण गरेर कार्यान्वयनमा जाँदैछौं’– सचिव पन्थीले भन्नुभयो– ‘कुरीतिमा विश्वास गर्ने समाज छ । यसले गर्दा पनि कतिपय ठाउँमा समस्या छ । अर्काे कुरा जंकफुड खाने चलन बढ्दा कुपोषणको अवस्था बढेको देखिन्छ । यी दुबै समस्या न्यूनीकरण गर्न मन्त्रालयले एकीकृत योजना बनाउँदैछ ।’ प्रदेश सरकारले गुणस्तरीय गर्भवती, प्रसूति र सुत्केरी सेवा प्रदान गर्ने, जटिल अवस्थाका विपन्न गर्भवती, सुत्केरी तथा नवजात शिशुको मृत्युलाई कसरी घटाउने, जटिल प्रसूति प्रेषण प्रणालीलाई कसरी सुधार गर्ने, आमा र पोषणको स्थितिको सुधार, मेडिकल कलेज, निजी तथा गैरसरकारी अस्पतालहरुको मातृ तथा नवजात मृत्यु घटाउन योगदान कसरी बढाउन सकिन्छ, विकास साझेदार स्वास्थ्य संस्थाको भूमिकालाई आधार मानेर एकीकृत योजना बनाउन थालिएको हो ।
मातृ मृत्युदर महिला गर्भवती हुँदा वा बच्चा जन्माउने क्रममा वा कारणले हुने मृत्युको दर भन्ने बुझिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार गर्भावस्था र सुत्केरी भएको ४२ दिन (६ हप्ता) सम्मको अवधिमा गर्भवती वा सुत्केरीका कारणबाट हुने मृत्यु नै मातृ मृत्यु हो । यो मृत्युदर लुम्बिनीमा उच्च छ ।
आमा र बच्चाको उपचारको लागि छुट्टै अस्पताल जरुरी प्रसूति सेवा र नवजात शिशुको स्याहार तथा उपचारको लागि लुम्बिनी प्रदेशमा कम्तिमा दुई वटा छुट्टै अस्पताल आवश्यक पर्ने र यसका लागि सरकारले कार्यक्रममा समेट्न जरुरी रहेको सुझाव दिइएको छ । गर्भवती आमाको निगरानी, प्रसूति सेवा, जटिलताको अवस्था पहिचान, रेफर गरेर पठाउने, जटिल समस्या भएकाहरुको उपचारको लागि सघन उपचार कक्षको अभाव, दक्ष जनशक्तिको अभाव रहेको भन्दै यी समस्या समाधान गर्ने गरी योजना बनाउन सुझाव दिइएको छ । प्रदेशका १२ जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख, विभिन्न अस्पतालका उच्च ओहोदामा कार्यरत स्वास्थ्यकर्मी, दातृ निकायका प्रतिनिधिहरुले मातृ मृत्युदर, बाल मृत्युदर घटाउन, पोषणको अवस्थामा सुधार ल्याउन सुझावहरु दिएका हुन् । गर्भवती अस्पतालसम्म नपुग्ने, पुगिहाले पनि राम्रो सेवा पाउन नसकेको, अस्पताल तथा स्वास्थ्य संस्थाले निरन्तर सम्पर्क गर्न नसकेको, चार पटक गर्भजाँचको काम प्रभावकारी रुपमा हुन नसक्दा समस्या त्यहींबाटै शुरु हुने, यो समस्या समाधान गर्न चारपटक गर्भजाँचलाई प्रभावकारीरुपमा अघि बढाउनुपर्ने, किशोरी लक्षित सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने सुझाव दिइएको छ ।
गुणस्तरीय प्रसूति तथा सुत्केरी सेवाको लागि केही अस्पतालहरुमा मात्रै चाप बढी देखिएकाले आमा र बच्चाको उपचार हुने छुट्टै अस्पतालको आवश्यकता परेको देखिएकाले निर्माणको लागि पहल लिन सरकारलाई आग्रह गरिएको छ । प्रसूति गराउँदा बेड नपाउने, जटिल प्रकारको प्रसूति समस्या भएकाहरुले आईसियु, एनआईसियु समयमा नपाउँदा जोखिम बढ्दो छ । यस्तो अवस्थामा अस्पतालमा भएका बेडहरुको उपलब्धता र जनशक्तिको बारेमा मोबाइल एप्लिकेशनबाट थाहा पाउने योजना कार्यान्वयनमा ल्याउन आग्रह गरिएको छ । लुम्बिनी प्रदेशमा एम्बुलेन्स निःशुल्क गर्नुपर्ने, एम्बुलेन्समा स्वास्थ्यकर्मीसहितको सेवा प्रदान गर्नुपर्ने, यस्तो गरिएको खण्डमा एक अस्पतालबाट अर्काे अस्पतालमा जाँदा हुने मृत्युको घटनालाई कम गर्न सकिनेमा जोड दिइएको छ । आमा र पोषणको स्थितिमा सुधार गर्न सानै उमेरमा हुने बाल विवाहलाई पूर्णरुपमा रोक्नुपर्ने, जंकफुडको सेवनलाई रोक्न सुझाव दिइएको छ ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले मातृ मृत्युदर, बाल मृत्युदर घटाउन र कुपोषणको समस्या न्यूनीकरणका लागि समुदाय स्तरमा जनेचतना अभिवृद्धिको अभियान चलाउन जरुरी रहेको बताउनुभयो । लुम्बिनी प्रदेशको प्रमुख समस्याको रुपमा रहेको मातृ मृत्यु, बाल मृत्यु र शीघ्र कुपोषणको समस्या समाधान गर्न समुदायस्तरमा जनचेतना अभिवृद्धिको अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया