
तुल बहादुर कवँर मगर
देउखुरी । राप्ती गाउँपालिका दाङको साझेदारी संस्था नामसालिङ सामुदायिक विकास केन्द्रले गाउँपालिकाको विभिन्न वडाहरुमा घर बगैचा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेको छ।
विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाको कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत परियोजना क्षेत्रका वडा नं २ को बाउनिपाटा, ३ को नयाँबस्ती र ९ को जाबुनेमा घर बगैचा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेको हो।
नामसालिङका कृषि अधिकृत सशांक आचार्य, कृषि प्राविधिक धन कुमारी चौधरी तथा सामाजिक परिचालिका पुस्तामा पुनले सहजीकरण गरेको उक्त कार्यक्रममा बाउनिपाटाका २४, नयाँबस्तीका २० र जाबुनेका ३० कृषकहरुको सहभागिता रहेको थियो।
तालिम पश्चात सहभागीहरूलाई विभिन्न जातका तरकारीका बीउ पनि वितरण गरिएको थियो।
वि सं २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा २०७४ साल देखि एकीकृत सामुदायिक विकास परियोजना मार्फत सामुदायिक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।
परियोजना मार्फत कृषि, पोषण, आयआर्जन, जलवायु अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको केन्द्रले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै अगाडि बढाउँदै आइरहेको नाम्सालिङका कृषि अधिकृत तथा कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया