दाङ– दाङका अग्रज पत्रकार खगराज लोहनीको स्मृतिमा क्रियाशील महिला पत्रकारलाई पुरस्कार प्रदान गर्नेगरी उनका छोरी माया लोहनी, देवकी श्रेष्ठ, निर्मला लोहनी र विमला लोहनीले तीन लाख रुपैयाँको पुरस्कार अक्षयकोष स्थापना गरेका छन्।

नेपाल पत्रकार महासंघ दाङ शाखाको ३१ औंं स्थापना दिवसको अवसरमा सो अक्षयकोष स्थापना गरिएको हो। यो पत्रकार महासंघमा हालसम्म भएका अक्षयकोषमध्ये सबैभन्दा ठूलो राशिको पुरस्कार हो।
साथै, पत्रकार महिलालाई पुरस्कार दिने गरी अक्षयकोष स्थापना भएको पनि यो पहिलो हो। बैंकमा जम्मा गरेको भौचर र सम्झौता पत्र हस्तान्तरण आदानप्रदान गरिएको थियो।
कार्यक्रममा पत्रकार प्रेमबहादुर राम्जालाई सवारी दुर्घटनामा परेको र उपचारखर्च वाफत दश हजार रुपैयाँ प्रदान गरिएको थियो। पत्रकार महासंघको बैठकमा सबैभन्दा धेरै उपस्थित हुने कार्यसमिति सदस्य कुलदिप न्यौपाने, उदय विसी, विवेक खड्का र महिला सदस्य यमकला भुषाललाई सम्मान गरिएको थियो। यसका साथै महासंघको स्थापनादिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगीता, रक्तदान लगायतको कार्यमा सहभागी तथा उत्कृष्ठ हुनेहरुलाई कदरपत्र प्रदान गरिएको थियो।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले देशका सबै संरचनालाई बलियो बनाउन सञ्चार क्षेत्रले खबरदारी गरिरहेको बताए।‘सरकार सरकार जस्तो छैन्। संसद संसदजस्तो छैन।
अदालत अदालत जस्तो छैन। त्यही भएर यी सबै क्षेत्रलाई बलियो र प्रभावकारी बनाउन मिडियाको भूमिका बलियो हुनुपर्छ’उनले भने,‘ लोकतान्त्रिक पद्धतीलाई बलियो बनाउन हामीले सक्नुपर्छ। मिडियाले त्यसको अभ्यास गरिरहेको छ। अहिले प्राप्त भएको संघियताको अनुभुती मिडिया क्षेत्रले गर्न पाइरहेको छैन। मिडिया क्षेत्रमा संघीयता लागू गर्न जरुरी छ। यसका लागि हामीले आवाज उठाइरहेका छौं।’

तपाईको प्रतिक्रिया