राप्ती–९ मा सञ्चालित विभिन्न विकासे योजनाहरुको अनुगमन

 

 

तुल बहादुर कवँर मगर
देउखुरी । राप्ती गाउँपालिका वडा नं. ९ मा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भई रहेका र सम्पन्न भई सकेका विभिन्न विकासे योजनाहरुको आइतबार अनुगमन गरिएको छ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा योजना अनुगमन समितिकि संयोजक कमलापती चौधरी नेतृत्वको टोलीले उक्त योजनाहरुको अनुगमन गरेको हो।

अनुगमन टोलीले रुपाकोट–जाबुने बाटो मर्मत, घुमाउने–नयाँगाउँ बाटो स्तर उन्नति ,नयाँ गाउँ–सिम्ले बाटो मर्मत, सल्ले–छुचुद्रे–रातामाटा बाटो मर्मत , रोहीणी –जाकिने बाटो मर्मत लगायतका सम्पन्न भई सकेका योजनाहरु अनुगमन गरेको हो।

त्यस्तै टोलीले वडा कार्यालय रुपाकोटको पर्खाल तथा गेट निर्माण र घोरेबास देखि वडा कार्यालय सम्मको निर्माणाधीन मोटर बाटो स्तर उन्नति कार्यको पनि अनुगमन गरेको छ ।

सीमित स्रोत साधनको बीच जनताहरुको मागलाई मध्यनजर गर्दै यस आर्थिक वर्ष वडामा १५ वटा योजनाहरु छनोट गरि सञ्चालन गरिएको वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले बताउनुभयो ।

यस वडा आफैमा पालिकाकै विकट पहाडी क्षेत्रमा पर्ने भएकाले पनि जन चाहाना अनुरुप काम गर्न समस्या हुने उहाँको भनाई रहेको छ।

वडाका सव इन्जिनियर मान बहादुर जिसीका अनुसार वडाका १५ वटा योजनाहरु मध्ये ८ वटा योजनाको काम सम्पन्न भई सकेको २ वटा सञ्चालनमा रहेको र ५ वटा सञ्चालनको तयारीमा रहेको छ।

यस्तै गाउँपालिकाका अन्य वडाहरुमा सञ्चालित योजनाहरु पनि कतिपय सम्पन्न भइ सकेका छन् भने कतिपय सञ्चालनमै रहेका छन्।

गाउँपालिकाले यस वर्ष समयमै योजनाहरुको काम सम्पन्न गर्ने उदेश्यले कार्य तालिका नै बनाएर लागु गरेको छ।

तपाईको प्रतिक्रिया