सिमसार क्षेत्र संरक्षण: हरियाली प्रबद्र्धनमा योगदान

दशरथ घिमिरे

 

देउखुरी । दश वर्षअघि गोवरडिहाको सिमसार क्षेत्रमा पानी थिएन । केही मुहान भए पनि त्यसको संरक्षण थिएन । सिमसार संकटमा पर्दा गाउँमा खानेपानीका इनारमा समेत पानी सुक्थ्यो । सिमसार संकटमा पर्दा गाउँमा पनि पानीको संकट थियो । जब सिमसार संरक्षण हुन थाल्यो अहिले त्यसको उपलब्धि गाउँमा पानीको संकट विस्तारै समाधान हुँदै गएको छ ।

गोवरडिहा सामुदायिक वनले सिमसार क्षेत्र संरक्षण गर्ने अभियान चलाएको छ । दश हेक्टर जमिनमा तीनवटा पोखरी निर्माण गरिएको छ । जुन पोखरीमा पानी छ । माछा छन् । सिमसार क्षेत्र संरक्षण भएपछि समुदायको आम्दानी पनि बढ्न थालेको छ । सिमसार क्षेत्र संरक्षण गर्न बनाइएका पोखरीमा माछा पालन गरेर आम्दानी पनि लिन थालिएको हो । यसरी भएको आम्दानीलाई बृक्षारोपण, वन क्षेत्रको तारबार र पोखरी मर्मतमा लगानी गर्ने गरिएको छ । ‘१५ हजार माछाका भुरा हालिएको थियो । अहिले ती माछा निकाल्न थालिएको छ । उपभोक्ता र गाउँलेलाई बिक्री गरिन्छ’– सामुदायिक वन समुहका अध्यक्ष शिवप्रसाद यादवले भन्नुभयो– ‘यसबाट आउने आम्दानीलाई संरक्षणको काममा लगानी लगाउने गरिएको छ ।’

गढवा गाउँपालिका–३ मा रहेको गोबरडिहा सामुदायिक वनले सिमसार क्षेत्र संरक्षण गर्न थालेको हो । सिमसार क्षेत्र नासिदै जाँदा जमिनमुनिको पानीसमेत घट्न थालेको थियो । अहिले सिमसार क्षेत्रको संरक्षण गर्न पोखरी निर्माण गरिएपछि त्यसले वन, वातावरण र जैविक विविधता संरक्षणमा योगदान मात्रै दिएको छैन्, सामुदायिक वनको आम्दानीको स्रोत पनि बढाएको छ । तीनवटा पोखरी निर्माण गरेर सिमसार क्षेत्र संरक्षण गरिएको छ । यसरी सिमसार क्षेत्र संरक्षणले समुदायको आम्दानी बृद्धि गर्न समेत मद्दत गरेको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यादवको भनाइ छ । ‘संरक्षण गर्न थालेपछि वन पनि हराभरा भएको छ । पानीको स्रोतले गर्दा चारैतिर हरियाली छ’– अध्यक्ष यादवले भन्नुभयो– ‘उपभोक्ताको सक्रियताको उपलब्धि हो ।’

दाङ जिल्लाका सामुदायिक वनले वन, वातावरण तथा जैविक विविधताको संरक्षणमा गरेको योगदान अतुलनीय रहेको सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष हरि भुसालले बताउनुभयो । ‘सामुदायिक वनले आफ्नै स्रोत परिचालन गरेर सिमसार क्षेत्र जोगाउने, वन संरक्षण गर्ने, वृक्षारोपण गर्नेलगायतको काम गर्दै आएका छन्’– अध्यक्ष भुसालले भन्नुभयो– ‘सामुदायिक वन अभियानले हरियाली प्रबद्र्धनमा ठूलो योगदान पु¥याएका छन् । कुनै समय सिमसार क्षेत्र नासिदै जाँदा पानीको संकट पनि गहिरिदै गएको थियो । अहिले सिमसार क्षेत्रको संरक्षण भएपछि वरपरको क्षेत्र पनि हरियालीमा परिणत भएको छ । दाङ जिल्लामा रहेका सामुदायिक वनहरुले सिमसार क्षेत्र संरक्षण लगायत वन, वातावरण तथा जैविक विविधताको संरक्षणमा समेत ध्यान दिएको पाइएको छ । ‘जसरी गोवरडिहा सामुदायिक वनले नमूना काम गरेको छ यस्तै काम अन्य सामुदायिक वनहरुले पनि गर्न सक्ने हो भने संरक्षणको अभियान नयाँ उचाइमा पुग्थ्यो’– अभियन्ता गंगाराम भट्टराईले भन्नुभयो– ‘यहाँको सिकाइ अन्यत्र विस्तार गर्नुपर्ने देख्छु ।’

सामुदायिक वनले सिमसार क्षेत्र संरक्षणसँगै आफै विरुवा उत्पादन नर्सरी समेत तयार पारेको छ । लोपोन्मुख र बहुमूल्य प्रजातिका श्रीखण्ड, कपुर, सुपारी, मौवाको विरुवा तयार पारिएको छ । उपभोक्तालाई संरक्षणसँगै उत्पादनमा जोड्न सामुदायिक वनले ध्यान दिएको पाइएको हो । ‘वन समुहले आफै नर्सरी बनाएको रहेछ । यसबाट समुदायमा वृक्षारोपण गर्ने प्रेरणा र उत्साह मिल्ने छ’– समुदायका अगुवा पुष्पराज अधिकारीले भन्नुभयो– ‘जडीबुटीजन्य विरुवाहरुलाई पनि व्यापक बनाउन जरुरी छ ।’

तपाईको प्रतिक्रिया