दाङ – जिल्ला कारागार घोराहीमा कार्यरत सशस्त्र प्रहरी जवान घोराही उपमहानगरपालिका–७ हनरियाका २८ वर्षीय जुगरु चौधरीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका–५ का ५५ वर्षीय शेरबहादुर केसीलाई पक्राउ गरेको छ।

तिहारको बिदामा घर गएका जवान चौधरी स्थानीयसहित कात्तिक २३ गते घोराही उपमहानगरपालिका–५ स्थित जनसेवा सामुदायिक वनमा मालुका पात टिप्न गएका थिए। चौधरी मृत भेटिएपछि प्रहरीले उनीसँगै पात टिप्न गएका १४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा शेरबहादुर केसीले शिकार खेल्न गएको बेला बाँदरजस्तो लागेर गोली प्रहार गरेको र चौधरीको मृत्यु भएको स्वीकार गरेका छन्। पक्राउ परेका अरु स्थानीयलाई छोडिएको छ।
प्रहरीले एक थान भरुवा बन्दुक, १ सय ७५ थान सिसाका गोली, दुई डिब्बा बारुदलगायतका सामग्री पनि बरामद गरेको छ। केसीविरुद्ध ज्यान मार्ने तथा हातहतियारसम्बन्धी कसुरमा मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।
चौधरीको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

तपाईको प्रतिक्रिया