
तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को प्रथम चौमासिक अवधिक सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।
गाउँपालिकाको वडा नं. ४ मा रहेको भिम बगैंचामा कार्यक्रम आयोजना गरिएको थियो ।
राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही , सेवा प्रवाह, योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले प्रथम चौमासिक अवधिमा गाउँपालिकाले गरेका काम र प्रगति प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ, सरसफाइ, यातायात लगायत विकासका पूर्वाधारहरू, पर्यटकीय क्षेत्रको प्रवर्द्धन, संरक्षण र विकास, पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयन, शान्ति र सुशासन लगायतका विषयमा प्रश्न तथा सुझाव राखेका थिए ।
प्रदेश सरकारका बारेमा सरोकारवालाहरूले राखेका प्रश्नकोहरुको जवाफ लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले र स्थानीय तहका बारेमा पालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, वडा अध्यक्षहरु तथा विभिन्न शाखाका शाखा प्रमुख कर्मचारीहरूले जवाफ दिनु भएको थियो ।

उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, क्रियाशिल राजनीतिक दलका प्रमुख , सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख, क्याम्पस प्रमुख तथा विद्यालयका प्रधानाध्यापक, बैंक तथा वित्तीय संस्थाका प्रमुख , टोल विकास संस्थाका अध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी, संचारकर्मी लगायत स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सार्वजनिक सुनुवाइको सहजीकरण आर. एन. बुलन्द मिडिया प्रा. लि. काठमाडौंका सञ्चालक राजन नेपालले गर्नु भएकोे थियो।
स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम पालिकाले प्रत्येक चौमासिक रूपमा गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया