दशरथ घिमिरे

देउखुरी । आँखा उपचार गर्ने अस्पताल थिएनन् । आँखा पाक्यो भने घरेलु उपचार गर्ने चलन थियो । यसरी उपचार गर्दा कतिपयले आँखाको ज्योतिसमेत गुमाउन पुग्थे । आर्थिकरुपमा सम्पन्न भएकाहरु आँखाको उपचारको लागि भारतसम्म जान्थे । तर, आर्थिकरुपले विपन्नहरु भने रोग पालेरै बस्नुपथ्र्याे । आँखाको दृष्टि कम हुँदै जाने, अन्तिममा आएर आँखाले देख्न छाड्ने, आँखामा फुलो परेको, आँखा डेढो भएको जस्ता समस्या पालेर बस्नुपर्ने बाध्यता थियो तर अहिले आँखा उपचारमा नेपालले फड्को मारेको छ ।
आँखा उपचारसँग जोडिएका अस्पतालहरु ठाउँ–ठाउँमा खुलेका छन् भने ग्रामीण तहमा आँखा उपचार केन्द्र स्थापना गरेर उपचारलाई सहज बनाउने काम भएको छ । जसले गर्दा आँखासम्बन्धी समस्याहरु समाधान गर्ने काम भएको छ । आँखाको दृष्टि हराउँदै जानेहरुको शल्यक्रिया गरेर निको पार्ने, फुलो परेकाहरुको उपचार गरेर निराकरण गर्ने, डेढो आँखालाई शल्यक्रिया गरेर सामान्य अवस्थामा ल्याउने काम हुने गरेको छ । ‘आँखा उपचार टाढाको विषय थियो । उपचार गर्ने ठाउँ थिएनन् । रोग पालेर बस्नुपर्ने अवस्था थियो’– नेपाल नेत्रज्योति संघका उपसभापति रेशमबहादुर खड्काले भन्नुभयो– ‘उमेर बढ्दै जाँदा आँखामा समस्या आउँदोरहेछ । दुईवटै आँखामा मोतियाविन्दु देखिएपछि मेरो पनि सल्यक्रिया भएर अहिले राम्रोसँग देख्ने भएको छु । अहिले जिल्लामै आँखाको विशेषज्ञ उपचार हुने गरेको छ ।’
दाङ जिल्लामा दुईवटा आँखा अस्पताल छन् । तुलसीपुरमा राप्ती आँखा अस्पताल र लमहीमा लमही आँखा अस्पताल । राप्ती आँखा अस्पतालमा आँखाको विशेषज्ञ उपचार हँुदै आएको छ भने लमही आँखा अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया र कानको उपचार हँुदै आएको छ । ३० वर्षअघि आँखाको प्राथमिक उपचार हुने राप्ती आँखा अस्पतालमा अहिले आँखाको नानी समेत प्रत्यारोपण हुने गरेको छ । मोतियाबिन्दुको मात्रै नभई आँखासँग जोडिएको विशेषज्ञ उपचारलाई प्राथमिकतामा राखेर सेवा प्रदान भइरहेको वरिष्ठ प्रशासक शमशेर थापाले बताउनुभयो । ‘आँखामा चोटपटक लाग्यो । राम्रो उपचार गर्ने ठाउँ नहँुदा दृष्टि गुमाउने अवस्था थियो । यति मात्र होइन आँखामा लाग्ने रोगका कारण उपचार नपाई मान्छेले दृष्टि गुमाउने अवस्थालाई न्यूनीकरण गर्न सकेका छौं’– थापाले भन्नुभयो– ‘जिल्लामै आँखाको पर्दाको कस्मेटिक शल्यक्रिया हुन्छ ।’ जिल्लामा उपचार नहँुदा भैरहवा, काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता थियो ।
लुम्बिनी प्रदेशमा दृष्टिविहीनता उच्च
लुम्बिनी प्रदेशमा दृष्टिविहीनताको अवस्था उच्च देखिएको छ । पछिल्लो सर्वेक्षणले लुम्बिनी प्रदेशको बाँके, कपिलवस्तु र बर्दिया जिल्लामा दृष्टिविहीनताको अवस्था उच्च देखाएको हो ।
आँखाको उपचारलाई प्रभावकारी बनाउँदै सबैको पहुँचमा पु¥याउन जोड दिइएको छ । सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेशमा जम्मा जनसंख्याको १ दशमलव ७५ प्रतिशत नागरिकमा दृष्टिविहीनताको समस्या देखिएको हो । नेपाल नेत्रज्योती संघले गरेको पछिल्लो सर्वेक्षणमा आँखामा मोतियाबिन्दु, दृष्टिदोष, जलबिन्दु, मधुमेहका कारण आँखाको दृष्टिविहीनताको अवस्था बढ्दै गएको देखिएको छ । नेपाल नेत्रज्योति संघलगायत अन्य आँखा उपचारसँग जोडिएका संस्थाले सञ्चालन गरेका आँखा अस्पतालबाट आँखा उपचार सेवा प्रदान हँुदै आएको छ । प्रदेशभित्रै आँखा उपचारसँग जोडिएका अस्पतालहरुको संख्या धेरै भए पनि उपचारमा अझै नागरिकहरु आउन नसक्दा अझै समस्या धेरै देखिएको वरिष्ठ प्रशासक थापाले बताउनुभयो ।
मुख्य गरी मोतियाबिन्दुका कारण दृष्टिविहीनताको अवस्था बढ्दो देखिएको छ । यसका अतिरिक्त उच्च रक्तचाप र मधुमेहका कारण आँखामा पर्ने असरले पनि मानिसमा दृष्टिविहीनताको अवस्था बढ्दै गएको देखिएको हो । आँखालाई सुरक्षित राख्न र यसको हेरचाहको लागि ध्यान दिनुपर्नेमा जोड दिइएको छ । विश्व दृष्टि दिवसको अवसरमा लमही आँखा अस्पतालमा भएको कार्यक्रममा आँखा स्वास्थ्यको लागि सबै निकायले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । आँखा स्वास्थ्य कार्यक्रम लागु भएदेखि अहिलेसम्म ३४ लाख पाँच हजार मानिसको उपचार गरिएको छ । जसमध्ये चार लाख ८८ हजारलाई निःशुल्क उपचार सेवा दिइएको छ ।
आँखा स्वास्थ्यलाई बुझौं
आँखामा रोग लागेको छैन । राम्रै देखेको छु तर पनि जाँच गराउँछु भनेर अस्पताल पुग्नेको संख्या निकै कम छ । यसरी आँखाको नियमित जाँच नगर्दा पनि आँखामा लाग्ने रोगको निराकरण गर्न चुनौती थपिएको छ । नियमित आँखा जाँच गर्दा आँखामा लाग्ने रोगहरुको शुरुवाती अवस्था पत्ता लगाउन सकिने, औषधि उपचारबाट निको बनाउन सकिने भएकाले नियमित जाँच गर्न सल्लाह दिइएको छ । विश्व दृष्टि दिवसको अवसरमा जिल्लाको तुलसीपुर र लमहीमा भएको कार्यक्रममा आँखा स्वास्थ्यसँग जोडिएको विषयमा अझै सचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याइएको छ । आफ्नो आँखालाई प्रेम गरौं भन्ने नारासहित दिवस मनाइएको हो । नेपाल नेत्रज्योति संघका उपसभापति रेशमबहादुर खड्काको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले आँखा उपचारमा सबै नागरिकको सहज पहुँच पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया