दाङमा सडक विस्तारको नाममा अवैध रुख कटान

दशरथ घिमिरे

 

घोराही उपमहानगरपालिकादेखि सिमलतारा, मुलाबारी, हाँसीपुर हुँदै भालुबाङ प्युठान सडकखण्डको चैते, शान्तिपुर सडक निर्माणका लागि केन्द्र र प्रदेश सरकारबाट बजेट परेको छ।

चालु आर्थिक वर्ष २०८०/८१ मा सडक विस्तार गर्ने योजनाअनुसार वन कार्यालयमा पटकपटक जानकारी गराउँदा पनि रुखहरू नहटेपछि वन क्षेत्रको रुख काटिएको फेला परेको छ।

घटनामा संलग्नहरूको पहिचान हुन सकेको छैन। डिभिजन वन कार्यालय, घोराहीका प्रमुख मोहन श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताए। उनका अनुसार साना ठूला गरेर ९६ वटा रुख काटिएको फेला परेको छ।

‘प्रदेश सरकारले विनियोजन गरेको बजेटको आधारमा सडक पूर्वाधार कार्यालयले ठेक्का लगाएर काम सुरु भएको आयोजना रहेछ। तर, वातावरणीय प्रभाव मूल्यांकन र भोगाधिकारको विषय टुंगिएको देखिएन’, उनले भने, ‘बाटोमा पर्ने रुखहरू मात्रै काटिएको देखियो।’

घोराही उपहानगरपालिका- १ का वडा अध्यक्ष राममणी पाण्डेले सडक क्षेत्र भित्र पर्ने रुखहरू अज्ञात समूहबाट काटिएको पाइएको जानकारी दिए।

यसरी रुख कटानी हुँदा बिजुलीका पोलहरू भने ढलेका छन्, जसले गर्दा झण्डै एक करोडको नोक्सानी भएको विद्युत प्राधिकरणको भनाइ छ।

तपाईको प्रतिक्रिया