दशरथ घिमिरे

देउखुरी । राप्ती गाउँपालिका–८ पिपरी निवासी रामप्रसाद चौधरीलाई आफ्नो क्षेत्र लुम्बिनी प्रदेशको राजधानी बनेकोमा खुशीको सीमा छैन । राजधानीका गतिविधिहरु अघि बढ्दा उहाँ उत्साहित हुनुहुन्छ तर यो उत्साहभित्र केही चिन्ता पनि छन् । खाद्यान्नको भण्डार मासिएर कंक्रिटको मात्रै शहर बन्ने त होइन भन्ने चिन्ताले सताउन थालेको उहाँले बताउनुभयो । ‘यहाँको कृषि क्षेत्र नयाँ शहर बन्दा नासिने त होइन भन्ने चिन्ता छ ।
राजधानी शहर बन्दै गर्दा भोलि आउन सक्ने समस्यालाई पनि ध्यानमा राखेर योजना बनाउनुपर्छ’– उहाँले भन्नुभयो– ‘राजधानी शहर बन्दै गर्दा यहाँका स्थानीय आदिवासी, विपन्न नागरिक तथा मुक्त कमैया, भूमिहीनको अवस्था के हुने त्यसमा पनि ध्यान दिऔं । विपन्न नागरिकलाई राजधानीले आर्थिक उपार्जनको अवसर दिनुपर्छ ।’ कृषियोग्य भूमिलाई छोडेर बाँकी उत्पादन नदिने जग्गामा शहरीकरण गर्नुपर्नेमा ध्यान दिन आग्रह गरिएको हो । राजधानी शहर निर्माण गर्दा खेतीयोग्य जमिन क्षयीकरण हुन सक्ने भन्दै त्यसका लागि हाल तोकिएको १४ वटा वडामा तीस वर्षपछिको शहर साँघुरो हुन सक्ने भएकाले समस्या समाधानका लागि देउखुरीभरि राजधानी क्षेत्र फैलाउनुपर्ने समेत सुझाव दिइएको छ ।
लुम्बिनी प्रदेशको राजधानीमा निर्माण गरिने भोलिको शहरले भविष्यमा रोजगारी सिर्जना गर्न सक्नेलाई अवसरको रुपमा र विपतहरु बढ्न सक्नेलाई जोखिमको रुपमा आँकलन गरिएको छ । भोलिको शहर परियोजनामार्फत भविष्यमा बन्ने शहरले दिने अवसर र जोखिमहरुको बारेमा जनधारणा संकलन गरिएको हो । ‘राजधानी क्षेत्र सफा होस्, खुला क्षेत्र धेरै होस्, सुरक्षित होस् । शिक्षा, स्वास्थ्य र रोजगारको अवसर यहीं पाइयोस्’– गढवा गाउँपालिका–१ निवासी केशरी गिरीले भन्नुभयो– ‘भोलिको राजधानी शहर सबै हिसावले उत्कृष्ट होस् भन्ने चाहन्छौं ।’ अबको तीस वर्षपछि राजधानी क्षेत्रमा जनसंख्या बढेर एक लाख ४० हजार पुग्नेछ । हाल ७६ हजार मात्रै जनसंख्या रहेको छ । तीब्र शहरीकरणका कारण आर्थिक आयआर्जनका अवसरहरु सिर्जना हुने देखि स्थानीय उत्पादनका सामग्रीले राम्रो बजार पाउने स्थानीयले विश्वास गरेका छन् । भविष्यमा अर्थतन्त्र बलियो हुने, थारु संस्कृति पर्यटनसँग जोडिदा आयआर्जन बढ्ने, फोहोरको वर्गीकरण गरेर उद्योग स्थापना गरेर पुनः प्रयोगमा आउने जस्ता विषयलाई अवसरको रुपमा हेरिएको छ । अवसर मात्रै होइन, राजधानी शहर निर्माण भएपछि विभिन्न प्राकृतिक तथा मानवसिर्जित आपत विपतको समेत सामना गर्नुपर्नेलाई चुनौतीको रुपमा हेरिएको छ ।
जोखिमको अध्ययन
देउखुरी उपत्यका बाढी, पहिरो, डुबान–कटान, आगलागी, भूकम्प, चट्याङको जोखिममा छ । राप्ती नदी, चुरे र डुन्डुवा पहाडबाट उत्पति भएर आउने दोलही, कटेस नाला, बौराहा, कफली, रङ्सिंगलगायतका खोलाले वर्षेनि जग्गा कटान र डुबानको समस्या बढाउने गरेका छन् । यस्तै खोलाहरुमा बालुवा थुप्रने क्रम बढेर खोलाको सतह माथि उठेकोले वर्षाको बेलामा छोटो समयमा डुबान हुने क्रम बढ्दो छ । यी विपतका विषयलाई अध्ययनको विषय बनाइएको छ । यसका साथै बेला बखत देखिने महामारीजन्य घटनालाई पनि अध्ययनसँग जोडिएको हो ।
राजधानी शहर बनाउँदा विपत जोखिमलाई पनि मसिनोगरी अध्ययन गर्न थालिएको छ । विपत् जोखिम क्षेत्र पहिचान गरेर सुरक्षित स्थानमा शहरीकरण गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । लुम्बिनी प्रदेश सरकार र भोलिको शहर परियोजनाले जनस्तरका नागरिकहरुको धारणा संकलन गरेर योजना निर्माण गर्न थालेका हुन् । प्रकोपको जोखिम कम गर्न सामाजिक क्षेत्र, विपन्नता–संकटा, अव्यवस्थित शहरीकरण तथा बस्तीहरु सम्बन्धी पनि अध्ययन गरिने अनुसन्धानकर्मी डिल्लीप्रसाद पौडेलले बताउनुभयो । ‘सबै प्रकारका समुदायको ज्ञानलाई पनि लिएर यो परिकल्पना गर्न थालिएको हो । ताकि भोलिको राजधानी शहर सुरक्षित र समतामूलक होस् भन्ने उद्देश्यले अध्ययन गर्ने काम भइरहेको छ’– अनुसन्धानकर्मी पौडेलले भन्नुभयो– ‘यसका साथै प्रकोपको जोखिम कम गर्न अनुसन्धान भइरहेको छ । सामाजिक जोखिम, विपन्नता, संकटा, अव्यवस्थित शहरीकरण तथा बस्तीहरु सम्बन्धी अध्ययन समेटिएको छ ।’
भोलिको शहरको अवसर र चुनौतीको बारेमा समुदायका नागरिकसँग पनि छलफल गर्ने काम भइरहेको छ । समुदायका नागरिकले भोगाइ, देखाइ र सुनुवाइलाई आधार मानेर धारणा व्यक्त गर्ने गरेका छन् । राजधानी शहर बन्दै गर्दा स्थानीय आदिवासी जनजाति थारु, भूमिहीन सुकुम्वासी तथा आर्थिक रुपले विपन्न समुदायको भविष्यलाई समेत सुनिश्चित हुनेगरी योजना बनाउनुपर्ने सरोकारवालाहरुको सुझाव छ ।

तपाईको प्रतिक्रिया