सुरक्षित शहरको परिकल्पना, प्रदेश राजधानीलाई विपत्बाट सुरक्षित राख्न अध्ययन

दशरथ घिमिरे

 

देउखुरी । बर्खामा राप्ती नदीमा ठूलो बाढी आउँछ । उत्तर र दक्षिण दुबै चुरेबाट बग्ने खोलाहरु पनि उस्तै डरलाग्दा हुन्छन् । चुरेबाट माटो र ढुंगा बगाएर ल्याउने बाढीले एकप्रकारको त्रास थप्ने गर्छ । पूर्व–पश्चिम राजमार्ग किनारका बस्ती पनि डुबानमा पर्छन् । पानीको निकास नहुँदा वस्ती र धान खेत सधैं डुबानमा पर्छन् । भूकम्पको दृष्टिले पनि चुरेको फेदी उत्तिकै जोखिममा पर्छ ।

अब भूकम्प आयो भने लुम्बिनी प्रदेशका क्षेत्रहरुमा बढी प्रभाव पर्ने अध्ययनले देखाएको छ । त्यस्तै यो क्षेत्रमा आगलागीको पनि उस्तै जोखिम छ । अहिले पनि बेलाबखत आगलागीका ठूला घटना हुने गरेका छन् । घना वस्ती र तीब्र शहरीकरण भयो भने भविष्यमा पनि आगलागीको जोखिम झनै बढेर जाने सम्भावना उत्तिकै छ । यस्ता सबै विपतबाट हुने क्षतिलाई कम गर्न अध्ययन शुरु भएको छ । लुम्बिनी प्रदेशको राजधानी शहरलाई सबैखाले विपत्बाट सुरक्षित बनाउन अध्ययन भइरहेको हो । समुदाय तहका नागरिकसहितको विज्ञ टोलीले विभिन्न तहबाट शहरलाई सुरक्षित बनाउने विषयमा अध्ययन गरिरहेका छन् ।

राजधानी शहर नदी सभ्यतामा आधारित हुनेगरी योजना बनाइएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानी शहरलाई नदी सभ्यतामा आधारित गुरुयोजना बनाएको छ । यसरी बनाइने शहर प्राकृतिक विपत्बाट कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बारेमा अहिले अध्ययन भइरहेको हो । लुम्बिनी प्रदेश सरकारले विषयविज्ञहरुसँग सहकार्य गरेर भोलिको राजधानी शहरलाई सबैखाले विपत्बाट सुरक्षित राख्न अध्ययन गरिरहेको प्रदेश पुर्वाधार विकास प्राधिकरणका इञ्जिनियर शंकर सुवेदीले बताउनुभयो । ‘नदी सभ्यतामा आधारित शहर बनाउने भनेका छौं । हामीसँग राप्ती नदी छ । चुरे पहाड छ । यस्ता कुराले भोलि हाम्रो शहरलाई कुनै किसिमको क्षति नपु¥याओस् भन्ने दृष्टिकोणबाट विदेशी विज्ञहरुसँगको सहकार्यमा अध्ययन गर्ने काम भइरहेको छ’– इञ्जिनियर सुवेदीले भन्नुभयो– ‘बाढीबाट हुन सक्ने क्षति, चुरेबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गरेर शहर बसाल्ने योजना हो ।’ गुरुयोजनाले तोकेको क्षेत्रलाई आधार मानेर जोखिम विश्लेषण गर्न थालिएको छ ।

टुमारो सिटीसँग सहकार्य गरेर समुदायस्तरका नागरिकको सहभागितामा छवटा समूह बनाइएको छ । त्यही समूहमा बसेर विभिन्न विकल्पमा अध्ययन भइरहेको हो । बाढी, पहिरो, भूकम्प, आगलागीलगायत महामारी जस्ता विपत्बाट शहरलाई सुरक्षित राख्न सकिने विकल्पको बारेमा अहिलेनै अध्ययन गरेर सुझाव दिन थालिएको छ । भविष्यमा हुन सक्ने र आइपर्न सक्ने विपत्बाट जोगिन अहिले नै सोच बनाउन थालिएको विषयविज्ञ तथा एनसेटका उपकार्यकारी निर्देशक रमेश गुरागाइँले बताउनुभयो । ‘राप्तीमा शहर बन्छ । शहर बन्दाखेरी विभिन्न प्रकोपहरु भूकम्प, बाढी, पहिरो, आगलागीबाट सुरक्षित बनोस् भन्ने मुख्य लक्ष्य हो’– उपनिर्देशक गुरागाइँले भन्नुभयो– ‘व्यवस्थित शहर बनोस् । जोखिमरहित शहर बनोस, आधुनिक कृषि प्रणालीसहितको शहर बनोस् । खुला क्षेत्र प्रशस्त होस् । सही तरिकाको फोहोर व्यवस्थापन होस् भन्ने अध्ययनको उद्देश्य हो ।’

आदिवासी जनजातिलगायत स्थानीयहरुको परम्परागत बसोवासलाई असर नपर्नेगरी भोलिको राजधानी शहर निर्माण गर्न स्थानीयहरुले सुझाव दिएका छन् । थारु समुदायको बसोवास रहेको क्षेत्रलाई असर नपर्नेगरी राजधानी शहर निर्माण गरिनुपर्नेमा जोड दिइएको छ । ‘राजधानी शहर बन्दा यहाँका स्थानीयहरुको अपनत्व कायम हुनुपर्छ । विपत्सँग जुध्ने योजनासहित यहाँको इतिहासलाई जोगाइ राख्नुपर्छ ।’

२०७७ असोज २० मा बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएको थियो । राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं. १, २ र ३, शीतगंगा नगरपालिका अर्घाखाँचीको वडा नं. ८ र ९ राप्ती उपत्यका देउखुरी नामाकरण गरेर राजधानी तोकिएको थियो । राजधानीको निर्णय पश्चात प्रदेश सरकारले नदी सभ्यतामा आधारित शहर बनाउने उद्देश्यले गुरुयोजना निर्माण गरिसकेको छ । भोलिको शहरलाई सुरक्षित राख्ने विषयमा भइरहेको अध्ययनले ठूलो टेवा पु¥याउने विश्वास गरिएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले योजना निर्माण गरेर शहर बनाउनुपर्ने बताउनुभयो । ‘योजनाबिना शहर बनाउँदा धेरै शहर कुरुप बनेका छन् । हामीले राप्तीमा बनाउने शहर कुरुप होइन, व्यवस्थित बनाउनुपर्नेछ’– उहाँले भन्नुभयो– ‘यसका लागि समुदायका सबै नागरिकको सहयोगको खाँचो पर्छ ।’ शीतगंगा नगरपालिका अर्घाखाँचीका प्रमुख छविलाल पौडेलले भविष्यलाई हेरेर शहर निर्माण गरिनुपर्ने बताउनुभयो । ‘आज भोलिलाई हेरेर होइन, ५० औं वर्षपछिको समयलाई हेरेर शहर बनाइनुपर्छ’– उहाँले भन्नुभयो– ‘विश्वमा नमूना शहरको रुपमा परिचित गराउनेगरी काम अघि बढ्नुपर्छ ।’ गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीले भविष्यको शहर बनाउने क्रममा यहाँका नागरिकहरु सुरक्षित राख्नुपर्ने विषय महत्वपूर्ण रहेको बताउनुभयो ।

तस्बिरः कुलदिप न्यौपाने

 

तपाईको प्रतिक्रिया