लुम्बिनीमा अपांगता भएकाहरु आन्दोलित, ५ प्रतिशत आरक्षण सुनिश्चित गर्न माग

दशरथ घिमिरे

 

दाङ – राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशले ५ प्रतिशत अपांगता कोटा सुनिश्चित हुनुपर्ने माग राख्दै लुम्बिनी प्रदेश सभाको मूल गेटअगाडि रिले अनशन सुरू गरेको छ। निजामती कर्मचारी विधेयकमा आरक्षण कोटाअन्तर्गत अपांगताको कोटा ५ प्रतिशत रहँदै आएकोमा ३ प्रतिशतमा झारिएको भन्दै प्रावधान सच्याउन माग गर्दै रिले अनसन सुरु गरिएको हो।

तीन दिनसम्म दैनिक बिहान १०ः३० बजेदेखि बेलुका ४ बजेसम्म लुम्बिनी प्रदेश सभाको मूल गेटबाहिर शान्तिपूर्ण रिले अनसन सुरू गरेको राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशका सहसचिव मनोज पंगेनीले बताए।

‘अन्य प्रदेशमा अपांगता कोटा ५ प्रतिशत कायम छ तर लुम्बिनी प्रदेश सरकारले अपांगताहरूको अधिकार कटौती गर्न आरक्षण कोटा घटायो। यो हामीहरुलाई मान्य छैन,’ महासचिव पंगेनीले भने,‘सरकारले नसच्याएसम्म आन्दोलन जारी राख्छौँ।’

निजामती सेवाको गठन सर्तसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयकको दफा ११ मा पदपूर्तिसम्बन्धी विशेष व्यवस्थापनमा अपांगता भएका व्यक्तिहरुको लागि ३ प्रतिशत कोटा व्यवस्था गरिएको छ। यो व्यवस्थाप्रति राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी -प्रदेशले ध्यानाकर्षण भएको जनाएको छ।

उक्त पदपूर्तिसम्बन्धी व्यवस्थालाई संशोधन गरी ५ प्रतिशत कायम गरिनुपर्ने राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशका प्रदेश व्यवस्थापक धिरेन्द्र विकको भनाइ छ।

अपांगता भएका व्यक्तिहरुलाई सरकारी सेवामा मूलप्रवाहीकरण गर्नुपर्ने, नेपालको संविधानको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने, अपांगता भएका व्यक्तिहरुको नागरिक अधिकार तथा मानव अधिकारको रक्षा र प्रवर्द्धन, अपांगता भएका व्यक्तिहरुमैत्री सासन प्रवर्द्धन, समाजिक न्याय प्रदान गर्नुपर्ने माग राख्दै रिले अनसन सुरु गरिएको विकले बताए।

यता प्रदेश सांसदहरू दीपेन्द्र पुन र विश्व प्रेम पाठकले अपांगता भएका नागरिकहरूले उठाएका माग जायज भएको र संसद् बैठकमा अपांगता कोटा सुनिश्चितताका लागि माग गर्ने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया