
देउखुरी । लुम्बिनी प्रदेश राजधानी घोषणा हुनु अघि गरिएको जग्गा रोक्का अझैं फुकुवा नभएपछी दोस्रो चरणको आन्दोलनको घोषणा गरिएको छ ।
जग्गा फुकुवा संघर्ष समितिले दोस्रो चरणको आन्दोलनको घोषण गरेको हो । जग्गा फुकुवा संघर्ष समितिका संयोजक तथा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खड्काको संयोजकत्वमा राप्ती उद्योग बाणिज्य संघको सभाहलमा बुधवार बसेको बैठकले चरणवद्ध रुपमा आन्दोलन गर्ने घोषण गरेको छ ।
जग्गा रोक्का हुदाँ जनजीवन प्रभावित भएको भन्दै फुकुवाको माग हुदै आएको छ । राप्ती गाउँपालीकाका अध्यक्ष प्रकाश बिष्ट, निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, विभिन्न राजनितिक दलका प्रतिनिधी, जन प्रतिनिधी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधीका साथै स्थानीय व्यवसायी एवम् पत्रकारहरुको बृहत् भेला मार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ । तीन स्थानीय तह भित्र पर्ने १४ वटा वडाको करिब १० हजार विगाह जग्गा रोक्का छ ।
यस अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले भदौ ५ गते जग्गा फुकुवा हुने आश्वासन दिनु भएको थियो । तर ५ गतेसम्म पनि जग्गा फुकुवा नभएपछि संघर्ष समितिले आन्दोलनको घोषणा गरेको संर्घण समितिका संयोजक सुरज खड्काले बताउनु भयो । यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले तत्काल राजधानी क्षेत्रको जग्गा फुकुवा नभए राजधानी व्यवस्थापनमा सहयोग नगर्ने चेतावनी दिनु भएको थियो ।
भेलाले पहिलो चरणमा भदौ ११ गते मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराउने, १२ गते संसदिय दलका नेताहरुलाई ध्यानाकर्षण गराउने, १३ गते यस क्षेत्रका संसदहरु सँग अन्र्तक्रिया गर्ने कार्यक्रम तय गरेको छ । त्यसैगरी १४ गते स्थानिय जनप्रतिनिधि, प्रदेश सांसदहरु सँग अन्र्तक्रिया गर्ने निर्णय गरेको छ ।
त्यसैगरी भेलाले दोस्रो चरणमा १६ गते पत्रकार सम्मेलन, १७ गते पालिका अध्यक्षलाई पत्र, १८ र १९ गते मुख्यमन्त्री कार्यालय अगाडी धर्ना तथा प्रर्दशन, २० गते राजधानी क्षेत्र भित्र मसाल जुलुस, २१ गते राजधानी क्षेत्र भित्रका सरकारी कार्यालयका गाडी बन्द गर्ने निर्णय भएको संयोजक खड्काले बताउनु भयो ।
तत्कालीन सरकारले २०७७ असोज १६ गते राजधानी क्षेत्रको जग्गा रोक्का राख्ने निर्णय गरेको थियो । २०७७ असोज २० गते तत्कालनीन प्रदेश नम्बर ५ को राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने र नाम लुम्बिनी राख्ने निर्णय भएको थियो ।

तपाईको प्रतिक्रिया