भालुवाङ अमिलिया सडक खण्डः तीब्रगतिमा ट्राफिकको निगरानी

दशरथ घिमिरे

 

देउखुरी । समथर सडक । तर तीब्र गति । जसले गर्दा पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना निम्त्याउने गरेको छ । राजमार्गमा हुने ७० प्रतिशत सवारी दुर्घटना तीब्र गतिका कारण हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

यही साउन १४ गते नेपालगञ्जबाट प्युठान जान थालेको स्कार्पियो र लमहीबाट रिहारतर्फ जाँदै गरेको मोटरसाइकल हस्नापुर नजिकको जंगलमा ठोक्किन पुगे । न घुमाउरो सडक छ । न उकालो, न ओरालो । समथर ठाउँमा पनि दुर्घटना हुन पुग्यो । यसको कारण थियो, तीब्र गति । यो मात्रै होइन, राजमार्गमा हुने अन्य दुर्घटना पनि तीब्रगतिमा सवारी साधन गुड्ने गरेका कारण हुने गरेको पाइएको छ । तीब्रगतिमा गुड्ने सवारी साधनका कारण दुर्घटना बढेपछि राजमार्ग केन्द्रित सवारी जाँचलाई अभियानको रुपमा चलाइएको छ । सवारी साधनको गति मापन गर्ने यन्त्र राडार गनको मद्दतले राजमार्गमा गुड्ने सबै साना तथा ठूला सवारी साधनको गति मापन गर्न थालिएको छ ।

‘राजमार्गमा पछिल्लो समय सवारी साधनको चाप पनि बढेको छ । त्यसमा पनि तीब्र गतिमा सवारी साधन चलाउने प्रवृत्ति बढ्दो छ । यसले गर्दा दुर्घटना हुने क्रम बढेको छ’– जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लले भन्नुभयो– ‘राजधानी भएकाले पनि सवारी चाप बढ्दो छ । हामीले राजमार्गमा हुने दुर्घटनालाई कम गर्न राडारगनबाट निगरानी थालेका छौं ।’ पूर्व–पश्चिम राजमार्गमा दैनिक हजार बढी सवारी साधनको आउजाउ चल्छ । मोटरसाइकलदेखि जीप, कार, बस, ट्रक लगायतका सवारी साधन गुड्दै आएका छन् । तर तीब्र गतिमा सवारी साधन चलाउने गर्दा दुर्घटनाको जोखिम बढ्दो छ । दुर्घटना न्यूनीकरण गर्न र अकाल हुने मृत्यु, अंगभंग हुनबाट जोगाउन सीमित गतिमा सवारी साधन चलाउन अनुरोध गरिएको छ । ‘प्रति घण्टा ६० को स्पिडमा गाडी गुडाउनुपर्ने हुन्छ । तर राजमार्गमा ८०/९० को स्पिडमा गाडी चलाउने गरिएको छ । यसो हुँदा सवारी साधन अनियन्त्रित भएर दुर्घटनामा पर्ने गरेका छन्’– ट्राफिक प्रहरी प्रमुख मल्ले भन्नुभयो– ‘अझ बस्ती र बजार भएको क्षेत्रमा पनि तीब्र गतिमा गाडी गुडाउँदा दुर्घटना हुने जोखिम रहन्छ ।’

पूर्व–पश्चिम राजमार्गको पूर्वमा भालुबाङ र पश्चिममा अमिलिया क्षेत्रमा राडारगनको माध्यमबाट निगरानी गरिएको हो । यातायात व्यवस्था कार्यालयले पनि तोकिएको गति भन्दा तीब्र गतिमा सवारी साधन चलाएको पाइएमा दण्ड जरिवाना हुने बताएको छ । यातायात व्यवस्था कार्यालय भालुबाङका प्रमुख खेमबहादुर थापाले गति नियन्त्रण बारे सवारी साधनको जाँच गरिनु स्वागतयोग्य कुरा भएको भन्दै राजमार्गकेन्द्रित सवारी जाँचलाई तीब्र पार्न आवश्यक रहेको बताउनुभयो । ‘यातायात व्यवस्था कार्यालयले ट्राफिक कार्यालय र यातायात सँग सरोकार राख्ने निकायसँग समन्वय गरेर ऐन नियमको परिधिभित्र रहेर अनुशान पालनाको बारेमा निगरानी गर्दै आएको छ’– उहॉँले भन्नुभयो– ‘सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने छ ।’

यातायाताको नियम परिपालना गराउन ट्राफिक प्रहरीसँग समन्वय गरेर कानुनी साक्षरता दिनुपर्ने आवश्यकता छ । निश्चित गति भन्दा माथिल्लो गतिमा सवारी साधन चलाएमा दश हजारसम्मको जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ । तीब्र गतिका साथै ओभरलोड, भब्वरलोड नियन्त्रणमा पनि ध्यान दिइएको थापाले बताउनुभयो । ‘सडक सुरक्षा र ट्राफिक नियमको पालना एक्लो प्रयासले सम्भव छैन’– उहाँले भन्नुभयो– ‘यससँग जोडिएका सबै निकायबीच समन्वयको आवश्यकता छ । सबै मिलेर अघि बढ्ने हो भने दुर्घटना न्यूनीकरणदेखि सबैखाले समस्याहरुलाई न्यूनीकरण गर्न सकिन्छ ।’

तीब्रगतिमा सवारी साधन गुड्ने सडक र स्थानको पहिचान गरेर स्वचालितरुपमा राडारगन राख्न आवश्यक रहेको राप्ती गाउँपालिका वडा नं. ३ का अध्यक्ष उमेश अधिकारीले बताउनुभयो । ‘तीब्रगति नियन्त्रण गर्न खटिनु अत्यन्तै सकारात्मक कुरा हो । अब तीब्र गतिमा सवारी साधन गुडे नगुडेको बारेमा सिसि क्यामराबाट निगरानी गर्न सकिनेगरी प्रविधि जडान गरिनुपर्छ’– उहाँले भन्नुभयो– ‘स्थानीय सरकार यसमा साझेदारी गर्न तयार छ ।

‘दुर्घटना न्यूनीकरण हुनु भनेको धेरैको जीवन सुरक्षित हुनु हो’– ट्राफिक प्रहरी कार्यालयले राजमार्गसँगै अन्य सहायक सडकहरुमा तीब्रगतिमा गुड्ने सवारी साधनको निगरानी गर्दै आएको छ । यो कार्यलाई अझ व्यापक बनाउन आवश्यक छ ।

तपाईको प्रतिक्रिया