
दशरथ घिमिरे
देउखुरी । राप्ती गाउँपालिका वडा नं. ८ मा पर्ने बनमा कुनै समय खुल्ला चरिचरण थियो । गाउँभरीका गाई, गोरु, भैंसी, बाख्रा बनमा पुग्थे । जसले गर्दा पलाएका वोटविरुवा पनि नासिए । पछी चरिचरण बन्द भयो । बनमा गाई, गोरु, भैंसी, बाख्रा चराउन लैजानेलाई जरिवाना गर्न थालियो । उपभोक्ताको सक्रियता बढ्दै गयो । खुला चरिचरणका कारण उजाड बनलाई जोगाउन वृक्षारोपण गरियो । सिसौं र खयरका विरुवा रोपियो । उहिले रोपेको विरुवा हुर्किए । सामुदायिक वनले रुखहरुको व्यवस्थापन ग¥यो । अहिले ति पुराना रुख फालेर फलफूलका विरुवा रोप्न थालिएको छ । उत्पादन नदिने बोटविरुवा रोपिएका कारण उपभोक्ताले प्रत्यक्ष लाभ लिन नसकेपछी फलफूलका विरुवा रोप्न थालिएको हो ।
शंकर सामुदायिक वनको करिब पाँच विगाह क्षेत्रमा दशहरी आँप र उन्नत जातको बेलौतीको विरुवा रोपिएको छ । राप्ती गाउँपालिकाले उत्पादन नदिने बोट विरुवाको ठाउँमा फलफूलका विरुवा रोप्न प्राथमिकतामा राखेको हो । वन क्षेत्रको खाली क्षेत्रमा फलफूलको विरुवा रोप्ने अभियाननै चलेको छ । फलफूलको वन बनाउने योजना अनुसार गाउँपालिकाले विरुवा रोपन अभियान चलाएको हो । शंकर सामुदायिक वनमा आँपका एक हजार र बेलौतीका दुईसय बिरुवा रोपिएको अध्यक्ष तुलाध्वज मल्लले बताउनु भयो । ‘२०४८÷२०४९ सालबाट वन संरक्षण गर्दै आयौं । उतिबेला रोपिएका विरुवा रुख बने । कती मरे । कती सुके । अव खाली ठाउँमा फलफूलका विरुवा लगाउन थाल्यौं’उहाँले भन्नुभयो,‘उपभोक्तालाई आम्दानी संग जोड्न फलफूलका विरुवा रोपिएको हो । यसको संरक्षण पनि उपभोक्ताले गर्ने छन् ।’
वन संरक्षणमा जोडिएका उपभोक्ता फलफूलको विरुवा रोप्न सक्रिय भए । वडा नं. ७ र ८ का उपभोक्ताले जनश्रमदान गरेर वृक्षारोपण गरेका हुन ।‘वन, वातावरण संरक्षण गर्न उत्पादन नदिने बोटविरुवा पनि रोपिए । अव उत्पादन दिने फलफूलका रोप्न पाउदा खुसी भयौं’उपभोक्ता इमा रावतले भन्नुभयो,‘अरु भन्दा फलमा फाईदा देख्या छु । त्यही भएर रोप्न आएको ।’ सामुदायिक वनले रोपेको सिसौ जातको विरुवा हुर्के बडेको नपाइएपछी फलफूलका विरुवा रोप्ने अभियान चलाइएको वडा नं. ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङले बताउनु भयो ।‘गाउँपालिकाले निर्णय गरेर वनमा फलफूलका विरुपा रोप्न थालेको हो’उहाँले भन्नुभयो,‘वनले उपभोक्ताको जीवनमा सहयोग गर्नुपर्छ । उत्पादन संग जोडिनुपर्छ भनेर यो अभियान चलाइएको हो ।’
गाउँपालिका भित्रका सबै सामुदायिक वनहरु संग समन्वय गरेर फलफूलका विरुवा रोपिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले अभियानको सुरुवात गर्दै सामुदायिक वनको खाली क्षेत्रमा फलफूलको बन बनाइने बताउनु भयो ।‘काम नलाग्ने वोटविरुवाको ठाउँमा फलफूलका विरुवा लगाउन थालेका हौं । यसले उपभोक्ताको आम्दानी समेत बढाउन मद्धत गर्छ’उहाँले भन्नुभयो,‘छिटो लाभ दिने आँप र बेलौती रोपेका छौं ।’
राम्रो संग हुर्किएमा दुई बर्षमा फल लाग्ने थाल्ने उहाँले बताउनु भयो । स्थानीय, प्रदेश तथा केन्द्र सरकारले पनि वनलाई आम्दानी संग जोड्नेगरी कार्यक्रम बनाउन थालेका छन् । राप्ती गाउँपालिकाले सामुदायिक वनमा लगाइएका फलफूलका विरुवाले आम्दानी दिन थाले ७५ प्रतिशत आम्दानी सामुदायिक वन समुहमा राखिने र २५ प्रतिशत आम्दानी गाउँपालिकाको राजश्व शाखामा जम्मा गर्ने कार्ययोजना बनाएको छ ।
धेरै जग्गा जमिन बाँझै छन् । ति बाँझो जमिनमा फलफूलका विरुवा लगाउने र आम्दानी लिन सकिनेगरी स्थानीय सरकारले सहयोग गर्ने भएको हो । वनमा फलफूलका विरुवा लगाउन निःशुल्क विरुवा उपलब्ध गराइएको हो । फलफूलको वनले उपभोक्ताको जीवनस्तर उकास्न मद्धत गर्ने प्रमुख प्रशासकिय अधिकृत नेवबहादुर वलीले बताउनु भयो ।‘मानिसको दैनीक जीवन संग मात्रै होइन सिंगो सवैको जीवन संग जोडिएको छ वन र फलफूल । संरक्षण र आम्दानी लिन सकिने भएकाले यो उपयोगी बन्न सक्ने देखिन्छ’उहाँले भन्नुभयो,‘फलफूलको वनलाई विस्तार गर्न जरुरी छ ।’ प्रदेश सरकार अन्तरगतका डिभिजन वन कार्यालयहरुले पनि फलफूलका विरुवा लगाउन प्रोत्साहन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया