देउखुरीका पौरखी साना किसानः जसले बदले जीवन

 

 

दशरथ घिमिरे

देउखुरी । राप्ती गाउँपालिका वडा नं. ६ भगवानपुर निवासी मिन्का चौधरीको दिनचर्या हिजो आज खुर्सानी बारीमा वित्ने गरेको छ । भूमि अधिकार मञ्च लगनशिल बगरखेती समुहका अध्यक्ष समेत रहनु भएका मिन्कालाई खुर्सानी टिप्ने, व्यापारी संग कुरा गर्ने र विक्रि गर्दैमा फुर्सद छैन् । राप्ती नदीले छोडेको १० कट्ठा जग्गामा २५ जनाको समुहमा आवद्ध भूमिहिन किसान, मोही किसान तथा मुक्त कमैयाँले संयुक्त रुपमा खुर्सानी खेती गरेका हुन । तरकारी खेती गर्दै आएका यहाँका किसानले अव देखी बजार हेरेर उत्पादन गर्न थालेका हुन । खुर्सानीको बजार र मुल्य दुवै राम्रो भएकाले खेती गरेको बताउने गरेका छन् ।‘तरकारी खेती गर्दा एक दुईपटक राम्रो मुल्य पाउने र त्यसपछी मुल्य पाउन गाह्रो पथ्र्याे । तर, खुर्सानीले एकैनासको मुल्य पाउने भएकाले सजिलो भयो’भूमिहिन किसान चौधरीले भन्नुभयो,‘खुर्सानी हरियोमा बेच्न सकियो । पाकेकोमा पनि वेच्न सकियो । हरियो र पाकेकोमा नबिके सुकाएर पनि वेच्न सकियो ।’

गुलीया चौधरी अर्काको घरमा काम गर्न बस्नुभयो । जमिनदारको घरमा खेती किसानी गर्नु भएकी गुलिया कमैया मुक्त घोषणापछी भने ऐलानी तथा नदी उकास जग्गामा खेती गर्न थाल्नु भयो ।‘धेरै दुःख गरियो । न खाने ठेगान थियो, न सुत्ने’उहाँले भन्नुभयो,‘मालिकको घरमा काम गरियो । तर, आफ्नो नाममा जग्गा भएन् ।’ समुहमा आवद्ध भएका किसानहले सामुहिक रुपमा खुर्सानी खेती थालेका हुन । यसबाट आउने आम्दानीले घरखर्च चलाउने गरेका छन् । कुनै समय राप्ती नदी हिड्ने ठाउँ अहिले खेतीयोग्य जग्गामा परिणत भएको छ । नदीले छोडेको जग्गामा भूमिहिन किसानले खेती गर्दै आएका हुन । विगतमा तरकारी खेती गरेका किसान अहिले भने खुर्सानी खेतीमा जोडिएका हुन । अर्काको घरमा कमैया कमलहरी बसेका तर, अहिले आफ्नै खेतीपातीमा रमाउन थालेका छन् । तरकारी विक्रि गर्न बजार अभाव भोगेका किसानले अहिले खुर्सानी विक्रि गर्न कुनै गाह्रो भएको छैन । फुटकरमा एक किलोको १३० रुपैयाँ र थोकमा १०० रुपैयाँमा खुर्सानी विक्रि हुने गरेको छ ।‘खुर्सानीले बजार र मुल्य दुवै पाउने भएकाले आम्दानी पनि राम्रो हुने गरेको छ’स्थानीय जगबीर चौधरीले भन्नुभयो,‘यो ठाउँका भूमिहिन किसानले बगर खेतीको रुपमा खुर्सानी फलाउने गरेका छन् । दैनिक ५० किलो सम्म विक्रि हुने गरेको छ । देउखुरी क्षेत्रका भूमिहिन किसान साना उद्यम तथा कृषि कर्ममा जोडिएपछी उनिहरुको दिनचर्या फेरिएको छ । ज्याला मजदुरी गर्नुपर्ने बाध्यतामा रहेका उनिहरु उद्यममा जोडिएपछी आर्थिक उपार्जनमा सहजता आएको हो ।

ज्याला मजदुरी गर्नेहरु अहिले कृषि तथा पशु पालन व्यवसायमा जोडिएका छन् । केही समय बंगुरले राम्रो बजार पाएको थिएन । पुनः बंगुरले राम्रो मुल्य पाउन थालेपछी किसान खुसी भएका छन् । स्वान संस्थाले बंगुर पालक किसान रामकृष्णी चौधरीको गोठ निर्माण गर्न र बंगुरका पाठापाठी राख्न सहयोग गरेको थियो । त्यसपछी रामकृष्णी बंगुर पालन व्यवसायमा जोडिनु भएको हो ।‘अर्काको काम गर्दागर्दै दिन वित्थ्यो । अहिले त आफ्नै काम छ । बंगुर स्याहारसुसार गरेर दिन वित्छ’उहाँले भन्नुभयो,‘विपन्न किसानलाई लक्षित गरेर सरकारले सहयोग गरेमा झनै सजिलो हुने थियो ।’

भूमिहिन किसान करार खेतीमा जोडिएका छन् । सुरुको बर्ष स्वान संस्थाले किसानको जग्गा भाडाँ पुरै तिरिदिएको थियो । अहिले किसान आफैले उत्पादन गरेर आएको आम्दानीबाट जग्गाको भाडाँ तिर्न सक्ने अवस्थामा पुगेका छन् । जग्गाजमिन आफ्नो नाममा नभएपनि किसानले मेहनत गरेर दैनिक आम्दानी गर्न सफल भएका छन् । राप्ती गाउँपालिका–६ पत्थरगढवा निवासी किसान रामदेवाली चौधरीले तरकारी विक्रिबाट सन्तुष्ट रहेको बताउनु भयो ।‘जग्गाको आफै भाँडा तिर्न सक्ने अवस्थामा पुग्यौं । ज्याला मजदुरी गर्न सक्ने उमेर भएन् । अव खेतबारीमै रमाउन थाल्यौं’रामदेवाली चौधरीले भन्नुभयो,‘तरकारी फलायो, बेच्यो । यसैबाट गुजारा चलेको छ ।’ सर्मिला चौधरी चितवन ईट्टा भट्टामा काम गर्नुहुन्थ्यो । अहिले उहाँ ईट्टा भट्टामा काम गर्न जानु भएको छैन् । घरमै बाख्रा पालन गरेर बस्नु भएको छ । स्वान संस्थाले बाख्रा पालनमा सहयोग गरेपछी उहाँको गोठमा बाख्राको संख्या बढ्दै गएको छ । अव बाख्राबाट आम्दानी लिन थालेको उहाँले बताउनु भयो ।‘दुई वटा बाख्राबाट सुरु गरे । अहिले गोठभरी बाख्रा छन् । अव विक्रि गर्ने अवस्थामा पुगे’उहाँले भन्नुभयो,‘इट्टा भट्टा जान छाडे ।’

स्वान संस्थाले भूमिहिन किसानको जीवनस्तर उकास्न आयआर्जनको कार्यक्रममा लगानी गरेको छ । अधिकार वकालत संगै कृषि, पशु पालन र उद्यम विकासमा लगानी गरेको हो । ज्यालामजदुरी गर्ने किसान अहिले कृषि, पशुपालन र उद्यम विकासमा जोडिएका छन् । आयआर्जन बृद्धि भएसंगै अधिकारको पैरवी गर्न सहज भएको स्वान संस्थाका कार्यक्रम संयोजक रेमन्त चौधरीले बताउनु भयो ।‘भूमि, कृषि र उद्यम विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छ । साना किसानको पक्षमा काम गर्न जरुरी छ । अहिले कर्पाेरेट खेतीले गर्दा साना किसानको आवाज नसुनिने अवस्था भयो’उहाँले भन्नुभयो,‘ठूलो फर्म बनाउने, ठूलो क्षेत्रमा खेती गर्नेहरुले मात्रै सरकारी सुविधा पाउने अवस्था नहोस ।’

राप्ती गाउँपालिका वडा नं. ६ मा किसानलाई लक्षित गरेर कम्पोष्ट मल बनाउने उद्योग स्थापनाको तयारी छ । जसका लागी गाउँपालिकाले बजेटको व्यवस्था समेत गरेको छ । साना किसानलाई पर्ने समस्याहरु समाधान गर्न वडा कार्यालय तयार रहेको वडा अध्यक्ष दिपक चौधरीले बताउनु भयो ।‘हामीले यो बर्ष कम्पोष्ट मल उद्योग खोल्ने योजना बनाएका छौं’उहाँले भन्नुभयो,‘यो योजनाले सबै किसानलाई सेवा पु¥याउछ ।’

राप्ती गाउँपालिका भित्र भूमिहिन किसान तथा आर्थिक रुपले कमजोर साना किसानहरुलाई लक्षित गरेर तरकारीको बीउ, घाँसको बीउ वितरण गर्ने कार्यक्रम यस बर्ष पनि निरन्तर हुने भएको छ । पशु विकास अधिकृत तथा आर्थिक विकास शाखाका प्रमुख जीवराज पौडेलले किसान लक्षित कार्यक्रम जारी रहेको बताउनु भयो । गाउँपालिकाले भूमिहिन किसानलाई लक्षित गरेर करार खेती कार्यक्रम लागु गरेको छ । गत बर्ष पनि यो कार्यक्रम गरिएको थियो । यस बर्ष पनि कार्यविधिमा केही संसोधन गरेर पुनः कार्यक्रम लागु गरिने भएको छ । भूमिहिन किसान करार खेतीबाट लाभान्वीत भएको कृषि शाखा प्रमुख सिमा भट्टले बताउनु भयो ।

स्थानीय सरकार संगको समन्वयमा स्वान संस्थाले कृषि, पशुपालन तथा उद्यम विकासमा काम गर्दै आएको छ । राप्ती गाउँपालिका संग सहकार्य गरेर तरकारी संकलन केन्द्र देखी करार खेती जस्ता महत्वपूर्ण योजनामा सहकार्य भएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बताउनु भयो । बिष्टका अनुसार चालु आर्थिक बर्षमा पनि कृषि, पशुपालन तथा उद्यम विकास कामले निरन्तरता पाउने छन् ।‘भूमि, कृषि र उद्यम विकासको क्षेत्र हाम्रो प्राथकितामा क्षेत्र हो । यसमा काम गरिरहेका छौं’अध्यक्ष बिष्टले भन्नुभयो,‘भूमिहिनलाई जग्गाको मालिक बनाउने कुरा, जग्गा नहुनेहरुलाई करार खेतीमा जोड्ने कुरा, स्थानीय उत्पादन बढाउने कुरा, हस्तकलाको सामाग्रीको बजारीकरण सबै क्षेत्रमा ध्यान दिएका छौं ।’ जिल्लामा रहेका भूमिहिन किसानलाई स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधामा समेत पैरवी गर्न आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया