जता उत्खनन् उतै बग्न थाल्यो राप्ती

दशरथ घिमिरे

 

देउखुरी । धान रोपेर सकेका किसानको खेतसम्म पानी पुगेन । कुलोमा पनि पानी सुक्यो । जसले गर्दा स्याउला, काठको किला अनि भाटा बोकेर धेरै किसान राप्ती नदी किनारमा पुगे । कुलोको मुहानमा पानी चढेन । नदीमा प्रशस्त पानी छ तर त्यो पानी कुलोको मुहान भन्दा मुनि छ । अर्थात कुलो भन्दा नदीको सतह गहिरो छ । राप्ती नदीमा भएको अनाधिकृत उत्खनन्ले नदीको वहाव समेत परिवर्तन हुन पुगेको छ ।

राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ पुल्चोकमा उत्तर पश्चिम किनारबाट बग्दै आएको नदी अहिले दक्षिण पूर्व किनारबाट बग्न थालेको छ । जसले गर्दा राप्ती गाउँपालिका भित्रका किसानले सिंचाईको समस्या भोग्न थालेका छन् । ‘मुहान भन्दा मुनि जथाभावी डोजर चल्यो । नदीको भाग गहिरो भयो । जता गहिरो उतै पानी बग्दा नदीको वहाव नै परिवर्तन भयो’– बराखुट्टी वनकुलो जल उपभोक्ता समितिका अगुवा लोकमणि पौडेलले भन्नुभयो– ‘हरेक वर्ष भइरहने उत्खनन्ले नदीको सतह पनि गहिरो हुँदै गएको छ । पोहरसाल काँश उम्रेको थियो । माटोको थुम्को पनि थियो । बाढीले उतिबेला बगायो । यस वर्ष त नदीले वहाव परिवर्तन गर्दा कुलोमा पानी नचढ्ने अवस्था आइलाग्यो ।’

नदीको सतह गहिरिएपछि सिंचाई अभाव भोगेका किसानले कुलोको मुहानमा पानी चढाउन अस्थायी बाँध बनाएका छन् । गाउँभरिका किसान जम्मा भएर स्याउला र काठको बाँध बनाएका हुन । ‘यस्तो बाँध पहिला पनि बनाएका हौं । नदीमा आउने बाढीले बाँध नै बगाउँछ’– पौडेलले भन्नुभयो– ‘कच्ची बाँध हँुदा बाढीले बगाउँछ । किसानलाई सिंचाईको लागि पानी पु¥याउन दुःख छ ।’ नदीको सतह गहिरो हुँदा राप्ती नदीको पुलमुनि समस्या भएको छ । कच्ची कुलोको बाँध फुटेको छ ।

इलाका प्रहरी कार्यालय र हनुमानगढी मन्दिरको बीचबाट कुलोको मुहान छ । यो मुहानबाट पानी नदीको किनारै किनार कुलोबाट किसानको खेतसम्म लगिएको छ । कुलो कच्ची छ । प्रगन्ना कुलो सिंचाई आयोजना लागु हँुदा पक्की पूर्वाधार बनाइएन । जसले गर्दा अहिले पनि किसानले पानीको दुःख भोग्नुपरेको छ । यहाँबाट लगिएको पानीले करिब दुई हजार पाँच सय विगाह जमिन सिंचाई हुँदै आएको छ । १५ वटा मौजामा सिंचाई सुविधा पुग्दै आए पनि हरेक वर्ष नदीमा भइरहने दोहनले सिंचाईमा समस्या थप्दै आएको हो । ‘पहिला त यस्तो हँुदैनथ्यो । पानी पुगेकै थियो । नदीमा डोजर चलेर समस्या भयो’– कटाहाका किसान छोटेलाल चौधरीले भन्नुभयो– ‘हाम्रो मुहान माथि छ । तल उत्खनन् हुँदा पानी भरी सबै गहिरोतिर बग्यो । हाम्रो कुलो सुख्खा हुन थाल्यो ।’

यो मुहानबाट बग्ने पानीले वडा नं. १ को पाखापानी, २ को रामनगर, लालमटिया, बराखुट्टीका साथै राजमार्ग उत्तर किनारका नयाँ बस्ती, वडा नं. ४ को बुढीचौर, सुंगुरे, मझनीगढ, नयाँगाउँ, पिपरखुट्टीको खेतीयोग्य जमिन सिंचाई हुने गरेको छ । हरेक वर्ष परम्परागतरुपमा अस्थायी बाँध बाँधेर सिंचाईको लागि पानी लग्ने गरिएको छ । पक्की कुलो र बाँध नहुँदा किसानले अहिले पनि सास्ती खेप्नु परेको छ ।

‘प्रगन्ना सिंचाई आयोजना बन्ने बेलामै यो इन्टेक पक्की हुनुपथ्र्याे तर हुन सकेन । जसले गर्दा अहिले पनि किसानले समस्या भोग्नुपरेको छ’– स्थानीय महेश रिजालले भन्नुभयो– ‘अहिले त उत्खनन्ले गर्दा नदी गहिरिन पुग्यो । सिंचाईमा गम्भीर समस्या आइप¥यो ।’

प्रगन्ना कुलो सिंचाई आयोजनाको २ नम्बर इन्टेक नजिक रंङसिङ खोला र राप्ती नदीको दोभान विरघाट नजिकमा नदीजन्य पदार्थ उत्खनन् गर्न ठूला मेसिनऔजारको प्रयोग भयो । त्यहाँ ठूला खाडल परेका थिए । यसका साथै कुलो खन्ने नाममा राप्ती नदी किनारमा अर्को उत्खनन् भयो । अहिले नदीको सतह गहिरिन पुगेको स्थानीय किसानको भनाइ छ । अहिले उत्खनन् भएको ठाउँ होचो भएको छ । जसले गर्दा नदीको पानी जता होचो उतैबाट बग्न थालेपछि सिंचाईमा समस्या पर्न थालेको हो । राप्ती नदीलाई स्थानीय सरकारले राजश्व संकलनको प्रमुख स्रोत बनाउँदा समस्या बढ्दै गएको छ । कुनै समय राप्ती नदीमा ठूला मेसिन औजार लगाउन पाइँदैनथ्यो । परम्परागत विधिबाट उत्खनन् गर्ने र लैजाँदा नदीको सतह सामान्य थियो तर अहिले ठूला मेसिन औजारको जथाभावी प्रयोग गरेर उत्खनन गर्दा सिंचाई प्रणालीमा समेत असर पर्न थालेको छ ।

राप्ती, गढवा गाउँपालिका, लमही नगरपालिका र राजपुर गाउँपालिकाले ठूला मेसिन औजार प्रयोग गरेर उत्खनन् गर्न अनुमति दिने गरेका छन् । जसले गर्दा पनि पछिल्लो समय समस्या निम्तिदै गएको हो । प्रगन्ना कुलो सिंचाई आयोजनाबाट देउखुरीको पाँच हजार हेक्टर बढी जमिनमा सिंचाई पुग्दै आएको छ । नदीजन्य पदार्थ सेटिङ मिलाएर उत्खनन् गर्ने क्रम बढेसंगै सिंचाईमा समस्या देखा पर्न थालेको हो । किसानलाई देखाएर हिउँदमा उत्खनन् गर्ने र वर्षामा उनै किसानको खेतबारी सुख्खा हुने अवस्था आउन थालेको छ ।

तपाईको प्रतिक्रिया