देउखुरी सहकारीको सञ्चालक भित्रै बिबाद, एकीकरणपछि पनि अलग–अलग कारोवार

दशरथ घिमिरे
देउखुरी । सहकारी मर्ज गर्ने अभियान चल्दै गर्दा देउखुरी क्षेत्रका चारवटा सहकारी एकआपसमा गाभिए । सरकारले पनि मर्जलाई प्राथमिकता दिएको थियो । चारवटा सहकारी गाभिएर देउखुरी बचत तथा ऋण सहकारी बन्यो । काम अघि बढ्दै थियो, गाभिएकोमध्ये एउटा सहकारी संस्थाको हिसाव कितावमा गडबड देखियो । त्यसले मर्ज भएका अन्य सहकारीलाई झस्कायो । मर्ज भएर संयुक्त कारोबार शुरु भए पनि एउटा सहकारीको हिसाव नमिल्दा अझै पनि कारोवारमा एकरुपता आएको छैन । अलग–अलग कारोबार चलेको छ । साविकको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाभित्र बदमासी भएपछि उपभोक्ताले बचत रकम फिर्ता पाउन सकेका छैनन् । यो मुद्दा अहिले अदालतसम्म पुगेको छ ।

 

विवाद बढेपछि अहिले सहकारीहरु विभाजनको अन्तिम प्रक्रियामा लागेका छन् । विभाजनको अन्तिम प्रक्रियाको फाइल सहकारी दर्ता अधिकारीको कार्यालयसम्म पुगेको छ । अहिले सञ्चालकहरुबीच नै विवाद बढेपछि विभाजन प्रक्रियासमेत अन्योलमा परेको छ । हरियाली बचत तथा ऋण सहकारी संस्था, बिहानी बचत तथा ऋण सहकारी संस्था र जनजीविका बचत तथा ऋण सहकारी संस्थाले संस्थाको नामबाट अलग–अलग कारोबार गर्दै आएका छन् । साविकको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाले भने देउखुरी बचत तथा ऋण सहकारी संस्थाको महाप्रभु सेवा केन्द्रको रुपमा कारोबार गर्दै आएको जनाएको छ ।

२०७७ पुस २७ गते चारवटा सहकारीहरु मर्ज भएका थिए भने २०७७ माघ १४ गते तत्कालीन लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलबाट औपचारिकरुपमा सहकारी संस्था एकीकरणको घोषणा गरिएको थियो । तर साविकको महाप्रभु बचत तथा ऋण सहकारी संस्थामा रकम हिनामिनाको विषय बाहिर आएपछि एकीकरण भएका अन्य तीनवटा सहकारी संस्थाले छुट्टा छुट्टै कारोबार गरेका थिए ।

यसरी अलग–अलग कारोबार गर्न थालेपनि केहीदिन यता देउखुरी बचत तथा ऋण सहकारी संस्थाका संञ्चालकहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । पछिल्लो समय उनीहरूले छुट्टाछुट्टै पत्रकार सम्मेलन नै गरी एक आर्कालाई आरोप प्रत्यारोप लगाउन थालेका छन् । असार २७ गते साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हाल देउखुरी बचत तथा ऋण सहकारी संस्थाका लेखा समिति संयोजक रुक्मांगत ज्ञवाली, सचिव हरिप्रसाद भुसाल, कोषाध्यक्ष रामकृष्ण पौडेल, सदस्यहरु धर्मराज अधिकारी र कमला बेलबासेले विज्ञप्ति निकालेर आपत्ति जनाउनु भएको छ । साविकका सहकारी संस्थाको नाममा विज्ञापन, क्यालेण्डर प्रकाशन तथा प्रचारप्रसार शुरु गरेको, एकीकृत संस्थाका अध्यक्षले पछिल्लो एक वर्षदेखि नियमित बैठक नबसालेको, आर्थिक वर्ष २०७७÷०७८, २०७८÷०७९ र चालु आर्थिक वर्ष २०७९÷०८० को आन्तरिक लेखा परीक्षण, वार्षिक लेखा परीक्षण (अडिट) र वार्षिक साधारणसभासमेत नगराएको विज्ञप्तिमा उल्लेख छ ।

यता देउखुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्लले साविकका सहकारी संस्थाहरु बदर नभएको जिकिर गर्नुभयो । ‘संस्था बदरको प्रक्रियामा गएका थियौं । तर महाप्रभुकै पदाधिकारीले पत्रमा सहीछाप नगर्दा संस्था बदर रोकियो’– उहाँले भन्नुभयो– ‘साविककै सहकारीबाट कारोबार गरिरहेका छौं ।’ संस्था एकीकृतपश्चात कारोबार भएको साढे दुई महिनापछि नयाँ सफ्टवेरमा डाटा स्थानान्तरण गर्ने क्रममा महाप्रभु सेवा केन्द्रका कर्मचारीहरुबाट पाँच करोड २७ लाख २३ हजार सात सय ३७ रुपैयाँ रकम हिनामिना भएको सार्वजनिक भएपछि विक्रम रानासहितका केही कर्मचारीहरुमाथि मुद्दा दर्ता भएको छ ।

आरोपितहरुले केही सञ्चालक समितिले पनि रकम हिनामिना गरेको प्रहरीलाई बयान दिएपछि अनुसन्धानका क्रममा साविकको महाप्रभु बचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिका पदाधिकारी, सदस्य तथा उपसमिति र पूर्वअध्यक्षहरु तानिएका छन् । अहिले यो मुद्दाको किनारा लागिसकेको छैन । जसले गर्दा सहकारीको कारोबारलाई तीब्रता दिन केही जटिलता भने देखिएको छ । तीनवटा सहकारी संस्थाले अलग–अलग कारोबार थालेपछि एकीकरण भएर बनेको देउखुरी बचत तथा ऋण सहकारी संस्था अलपत्र पर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया