
तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिकाले बेरोजगार युवाहरुलाई उद्यमशील बनाउने उदेश्यले सञ्चालन गरेको व्यवसायिक योजना सहित सरसफाई सामाग्री उत्पादन गर्ने सीपयुक्त एक हप्ते तालिमको सोमबार समापन गरिएको छ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै मन्त्री मास्कीले अबको दुई बर्ष भित्र प्रदेशका दुई लाख नागरिकहरूलाई स्वरोजगार बनाउने बताए ।
उनले भरखरै संसदबाट पारित भएको नीति तथा कार्यक्रम एवम् बजेटमा नै दुई बर्ष भित्र दुई लाख युवाहरूलाई स्वरोजगार बनाउने लक्ष्य लिएको बताउदै प्रदेशका १२ वटै जिल्लाका उद्यमशिल बन्न चाहने युवायुवतीहरुलाई स्वरोजगार बनाउने गरी आवश्यक बजेटको व्यवस्था समेत गरेको बताए ।
त्यस्तै मन्त्री मास्कीले स्वरोजगार कै माध्यमबाट समृद्ध लुम्बिनी र आत्मानिर्भर प्रदेश बनाउन सकिने बताए ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले सिकेको सिपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे । त्यस्तै उनले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा शिपमूलक शिक्षा र उद्यमशिलताको विकास लाई बढी जोड दिएको बताउदै बाँकी चार बर्षे कार्यकालमा एक हजार युवाहरुलाई उद्यमशिल बनाउने लक्ष्य रहेको बताए । अध्यक्ष विष्टले युवाहरुले उद्यमशिल गर्नका लागि योजना लिएर आएको खण्डमा बैंकबाट सहुलियतदरमा कर्जा उपलब्ध गराउने गरी ग्लोबल आईएमी बैंक भालुवाङ शाखा संग सम्झौता भएको समेत जानकारी दिए ।
समृद्ध नेपालका लागि स्वच्छ, कर्मठ र उद्यमी युवा भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका दाङ र राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको संयुक्त आयोजनामा सञ्चालित तालिमका सहभागीहरु लाई हार्पिक, कुलीन, फिनाईल, ह्यान्ड वास लगायतका सामाग्रीहरु उत्पादन र बजारीकरण सम्बन्धी सिकाइएको थियो ।

विभिन्न तालिमका लागि कुल ४ सय २ जना युवाहरुले आवेदन दिएकोमा पहिलो चरणमा २५ देखि ४५ वर्ष उमेर समुहका ८७ जना युवाहरुलाई सरसफाई सामाग्री उत्पादन सम्बन्धी तालिम प्रदान गरिएको हो। तालिममा बहिराहरुका लागि सांकेतिक भाषा सिकाउन दोभासेको समेत व्यवस्था मिलाइएको थियो।

तालिमको प्रशिक्षकमा राष्ट्रिय युवा परिषद्का सदस्य सन्दिप सपकोटा, मदन खड्का र प्रकाश अधिकारी रहेका थिए ।

तपाईको प्रतिक्रिया