दशरथ घिमिरे

दाङ । सर्पदंशका कारण विरामी परेका प्यूठानका दिदी, भाईको सकुसल उद्धार गरिएको छ। भेरी अस्पताल नेपालगञ्जका सर्पदंश बिशेषज्ञ टोलीले दाङबाट बिरामीको सकुशल उद्धार गरेको हो।
प्यूठान–भालुबाङ सडकखण्ड अवरुद्ध भएपछि मुर्कुटी हुँदै घोराही भएर नेपालगञ्ज थप उपचारको लागि लैजान थालिएको थियो। भेरी अस्पतालका सर्पदंश बिशेषज्ञ डाक्टर कृष्णप्रसाद आचार्य सहितको स्वास्थ्यकर्मीको टोलीले घोराही उपमहानगरपालिका–४ रानीदमारबाट सर्पदंशका बिरामीको उद्धार गरिएको छ।

प्यूठान स्वर्गद्धारी नगरपालिका–१ निवासी १४ बर्षीया करिना बस्नेत र उनका १० बर्षका भाइ करण बस्नेतलाई बिषालु सर्पले डसेको थियो। बिहान पौने ४ बजे सुतेको अवस्थामा करणको छातीमा र करिनाको हातमा टोकेको थियो। सर्पले डसेको थाहा पाएपछि उपचारको लागि जिल्ला अस्पताल विजुवार लगियो।
जिल्ला अस्पतालमा एन्टिस्नेक भेनम चढाएर उपचार सुरु गरिएको थियो। तर, बिरामीको अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गर्न नेपालगञ्ज भेरी अस्पतालमा पठाइयो। बिरामीलाई लिन भेरी अस्पताल नेपालगञ्जका सर्पदंश रोग बिशेषज्ञ डाक्टर कृष्णप्रसाद आचार्य आफै एम्बुलेन्स लिएर आएका थिए। प्यूठान अस्पतालका डाक्टर सुवोधकुमार बिडारी, इमरजेन्सी इञ्चार्ज माधव रावत र स्टाफनर्स अस्मिता केसीले बिरामीलाई एम्बुलेन्समा थप उपचारको लागि नेपालगञ्ज लैजान थालेका थिए। बीचबाटोबाटै बिरामीको उद्धार गरेर भेरी अस्पताल पुर्याइएको छ।
‘सर्पले टोकेपछि सास फेर्न गाह्रो हुन्छ। यसका लागि भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउने भएकाले सुविधा सम्पन्न अस्पतालको खाँचो पर्छ। अर्काे कुरा फोक्सोमा अक्सिनको पाईप पुर्याएर सास फेराउनुपर्ने भएकाले बिरामीसँगै स्वास्थ्यकर्मी आवश्यक पर्छ’, भेरी अस्पतालका सर्पविशेषज्ञ डाक्टर कृष्णप्रसाद आचार्यले भने, ‘दुवै बिरामीको अवस्था स्थिर छ। भेन्टिलेटरमा राखेर उपचार गरेपछि निको हुने आशा छ।’
झण्डै एक सय ५० किमि टाढाको दूरीमा पुगेर सर्पदंश बिरामीको उद्धार गरेको पहिलो अनुभव रहेको डाक्टर आचार्यले सुनाए। ‘प्यूठान अस्पतालमा बिरामी पुगेदेखि म सम्पर्कमा थिएँ। चिकित्सको निगरानीमा उपचार भइरहेको र थप उपचार चाहिने भएपछि यताबाट म बिरामी लिन एम्बुलेन्ससहित पुगेँ’आचार्यले भने,‘दाङको पहाडी क्षेत्रको जंगलबाट बिरामीलाई एम्बुलेन्समा हालेर ल्यायौं।’ प्यूठानबाट दुई वटा एम्बुलेन्स मार्फत बिरामीलाई नेपालगञ्ज लग्न थालिएको थियो। यस अघि प्यूठानमा एक जना बालकको सर्पदंशका कारण मृत्यु भएको थियो। समयमा अस्पताल पुर्याउन नसक्दा बालकको मृत्यु हुन पुगेको थियो।

तपाईको प्रतिक्रिया