दशरथ घिमिरे

दाङ – लुम्बिनी प्रदेशमा ११ प्रतिशतमात्रै धान रोपाइँ सकिएको छ । यस वर्ष समयमै वर्षा नहुँदा प्रदेशमा धान रोपाइँ निकै कम मात्रामा भएको हो ।
समयमै वर्षा भएको भए अहिले ५० प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको हुने कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । पानी नपर्दा ११.०९ प्रतिशतमात्रै रोपाइँ सम्पन्न भएको छ । जसले गर्दा यस बर्ष पनि लुम्बिनी प्रदेशमा धान उत्पादनमा गिरावट आउने देखिएको छ ।
गत वर्ष यही अवधिमा झन्डै ३२.७१ प्रतिशत रोपाइँ भएको थियो । अहिले गतवर्षको भन्दा २१.६२ प्रतिशतले कम रोपाइँ भएको मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा धान रोपाइँ हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ३४ हजार ४ सय ८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । अनुसार प्रदेशमा सबैभन्दा धेरै धान रोपाइँ कपिलवस्तु र सबैभन्दा कम रुकुमपूर्वमा हुन्छ । कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने रुकुम पूर्वमा १ हजार ४ सय १९ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुन्छ । जसमध्ये कपिलवस्तुमा ४ हजार २ सय ४ हेक्टर क्षेत्रफल अर्थात् धान रोपाइँ हुने क्षेत्रफलको ६ प्रतिशत रोपाइँ भएको छ भने रुकुम पूर्वमा ८ सय ५८ हेक्टर अर्थात् ६०.५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
त्यस्तै, रुपन्देहीमा ८ प्रतिशत रोपाइँ सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा रोपाइँ भएको छ । तराईका जिल्लामध्ये धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ८ प्रतिशत र बर्दियामा १० प्रतिशत रोपाइँ सकिएको छ । दाङ जिल्लामा कुल धान रोपाइँ हुने ३७ हजार ४ सय ३० हेक्टर क्षेत्रफलमध्ये ४ हजार २ सय ९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ९ सय ३ हेक्टरमा अर्थात् १० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यस्तै पश्चिम नवलपरासीमा २५ प्रतिशतमात्रै रोपाइँ भएको छ । प्रदेशको पहाडी जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला गुल्मीमा ८.५ प्रतिशत रोपाइँ सकिएको छ । गुल्मीमा ८ हजार ६७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने अहिलेसम्म ७ सय ३७ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ सकिएको छ ।
त्यस्तै, पाल्पामा ८ सय २१ हेक्टर क्षेत्रफलमा अर्थात् १० प्रतिशत रोपाइँ सकिएको छ । पाल्पामा यो वर्ष ८ हजार २ सय १० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने प्रवक्ता मरासिनीले बताए । प्युठानमा ८० प्रतिशत रोपाइँ सकिएको छ भने अर्घाखाँचीमा १० प्रतिशत मात्रै रोपाइँ भएको छ ।
अर्घाखाँचीमा ८ सय ५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । यसैगरी रोल्पामा ४५ प्रतिशत रोपाइँ सकिएको छ । सिँचाइको अभाव र आकाशको पानीमा निर्भर हुँदा गत वर्षभन्दा धेरै कम मात्रामा धान रोपाइँ भएको छ ।

तपाईको प्रतिक्रिया