राप्ती गाउँपालिकाको आगामी आर्थिक बर्षको कुल बजेट ६५ करोड ७६ लाख बिनियोजन (पूर्णपाठ सहित)

सन्ताेषकुमार गुप्ता/ तुल बहादुर कँवर मगर

 

देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८० /०८१ को कुल बजेट ६५ करोड ७६ लाखको बिनियोजन गरिएको छ ।

गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको चौथो बैठकमा पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले उक्त बजेट प्रस्तुत गर्नु भएको हो ।

समृद्ध राप्ती, सुखी र खुसी राप्तीबासी भन्ने मुल नाराका साथ आज शुक्रबार आगामी आर्थिक बर्षको बजेट बिनियोजन गरिएको छ । आगामी आर्थिक बर्षको बजेटमा पनि शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशिलतालाई जोड दिंदै बजेट बिनियोजन गरिएको छ ।

जसमा चालु आर्थिक बर्षको कुल बजेट ७० करोड ३ लाख थियो भने अगामी आर्थिक बर्षको बजेट झण्डै ६ प्रतिशतले घटेर ६५ करोड ७६ लाखको नयाँ बजेट आएको हो । जस अन्र्तगत आगमी आर्थिक बर्षको चालु तर्फ ३१ करोड ५८ लाख र पुँजीगत ३३ करोड २६ लाख बजेट विनियोजन गरिएको छ ।

जसमा चालु तर्फ संघीय सरकारबाट २० करोड ५१ लाख, प्रदेश सरकारबाट १२ लाख र पालिकाको १० करोड ९५ लाख बिनियोजन गरिएको छ भने पुँजीगत तर्फ संघीय सरकारको २ करोड ६८ लाख, प्रदेश सरकारको ३ करोड ८६ लाख र पालिको २६ करोड ७२ लाख बिनियोजन गरिएको छ ।

त्यस्तै आगामी आर्थिक बर्षका लागि शिक्षा, युवा तथा खेलकुद तर्फ २२ करोड १७ लाख ५० हजार, स्वास्थ्य तर्फ ९ करोड ४१ लाख, कृषि र पशु तर्फ २ करोड ९९ लाख बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै पूर्वाधार तर्फ ११ करोड २ लाख, उद्यम तथा रोजगार तर्फ २ करोड, वन वातावरण र विपत्त तर्फ २ करोड, खानेपानी सरसफाई, फोहरमैला व्यवस्थापन ३० लाख, कला संस्कृति पर्यटन तर्फ ३३ लाख, महिला बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता ४५ लाख र सञ्चार तर्फ ३ लाख ५० हजार बजेट विनियोजन गरिएको पालिकाका प्रबक्ता पहलवान र्चौधरीले जानकारी दिनु भयो ।

यता चालु आर्थिक बर्षको पुँजीगत खर्च १९ करोड १५ र चालु खर्च तर्फ असार पहिलो हप्ता सम्मको कुल खर्च ३६ करोड ५ लाख भएको छ । त्यस्तै आगामी आर्थिक बर्षको बजेट घट्नुमा आन्तिरिक राजश्व ८३ प्रतिशत मात्र संकलन, संघ र प्रदेशबाट २० प्रतिशतले बजेट कतौती भएर आएको हूँदा अगामी आर्थिक बर्षको बजेट झण्डै ६ प्रतिशतले घटेको पालिकाका सुचना अधिकारी विश्वास विकले जानकारी दिनु भयो ।

बजेटकाे पूर्णपाठ…

राप्ती गाउँपालिकाको उपाध्यक्षको हैसियतले दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको बैठकमा आगामी आ.व. २०८०/८१ को बजेट तथा कार्यक्रम  प्रस्तुत गर्न पाउँदा गौरब लागेको छ ।   सर्वप्रथम अधिकार र व्यवस्था परिवर्तनका लागि भएका आन्दोलन तथा संघर्षमा जीवन बलिदान गर्नुहुने सम्पूर्ण  शहिदहरुप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलन तथा संघर्षका घाइते, अपाङ्ग, सहिद परिवार, बेपत्ता परिवार प्रति सम्मान प्रकट गर्दछु । समृद्ध राप्ती; सुखी र खुसी राप्तीबासीको सपना पुरा गर्न एकताबद्ध रहेका राप्तीबासी जनसमुदाय तथा नेतृत्व प्रति उच्च सम्मान प्रकट गर्दछु ।

शिक्षा, स्वास्थ्य,कृषि,रोजगार, पूर्वाधार र सूशासनको प्रवर्धन गरी मानवीय विकासको अवधारणा अवलम्बन गरिएको छ । आर्थिक समृद्धि र न्यायपूर्ण समाज निर्माणमा उत्पादनमूखी र नतिजामुखी शासकीय प्रणालीको विकास गर्नु आजको आवश्यकता हो । कोभिड-१९ को प्रभाव र आर्थिक मन्दिका कारण राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा संकुचनमा परेको छ । सूचना तथा सञ्चार क्षेत्रमा आएको परिवर्तनका कारण मानिसका जीवनशैलीमा परिवर्तन भई अनुत्पादक क्षेत्रमा समय खपत भएको छ । यसबाट आर्थिक तथा सामाजिक संरचनामा समेत नकरात्मक प्रभाव बढ्दै गएको अवस्था छ ।

सभाका अध्यक्षज्यू

स्थानीय तहको निर्वाचन पश्चात एक वर्ष जनताको सेवामा व्यतित गरिसकेका छौ । जनताका अपेक्षाहरुको संवोधन स्थानीयस्तरमै जनताका प्रतिनिधिद्वारा पूरा गर्न सकिने पद्धति स्थापित भएको छ । यही धरातलमा उभिएर हामीले आफ्नो बजेट तथा कार्यक्रम आफै तय गर्ने यो अवसर प्राप्त भएको छ । यसले  जनतालाई नजिकको सरकारको   अनुभूती दिलाउन विकास, सूशासन र सेवाप्रवाहका क्षेत्रमा नागरिकको सहभागीता वृद्धि गर्न आवश्यक भएको छ ।

राप्ती गाउँपालिका “समृद्ध राप्ती; सुखी र खुसी राप्तीवासी”भन्ने  मूल सोचका साथ अघि बढेको छ । यो मूल सोचलाई कार्यान्वयन गर्न सरकारी, नीजि  र सहकारी क्षेत्र समेतलाई परिचालन गरी सबै स्रोत र क्षमताको उपयोग गर्ने लक्ष्य,उद्देश्य,रणनीति र कार्यनीति विकास गर्न आवश्यक छ ।

 सभा अध्यक्ष महोदय,

  • चालु आर्थिक वर्षको संशोधित आय अनुमान ७० करोड ३ लाख भएकोमा असार महिनाको पहिलो सातासम्म ६० करोड ३ लाख (८५ प्रतिशत) मात्र प्रगती हुन आएको छ ।  आन्तरिक राजश्व तर्फ ८३ प्रतिशत तथा राजश्व बाँडफाँड तर्फ संघ, प्रदेश र स्थानीय तहको ६४ प्रतिशत मात्र प्रगती भएको अवस्था छ ।
  • चालु आर्थिक वर्षको असार महिनाको पहिलो सातासम्म चालु तर्फ संशोधित विनियोजन ४६ करोड ९ लाख रहेकोमा ३६ करोड ५ लाख ( ७८ प्रतिशत) खर्च भएको छ । चालु आर्थिक वर्षमा पूँजीगत तर्फ रकम रु. २३ करोड ९६ लाख विनियोजन भएकोमा हालसम्म रकम रु. १९ करोड १५ लाख (८० प्रतिशत) खर्च भई समग्रमा कुल विनियोजन रकम रु. ७० करोड ३ लाख रहेकोमा हालसम्मको खर्च प्रगती रकम रु. ५५ करोड २० लाख झण्डै उनासी प्रतिशत  भएको छ ।

सभा अध्यक्ष महोदय,

अब म उल्लेखित खर्चबाट यस अवधीमा भएका मुख्य -मुख्य उपलब्धीहरु पेश गर्दछु ।

शिक्षा,युवा तथा खेलकुद  क्षेत्र

  • सामुदायिक विद्यालयमा बाल विकास कक्षादेखि कक्षा १० सम्म निःशुल्क शिक्षा कार्यक्रम मार्फत नपुग शिक्षक पदपुर्ति तथा विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान मार्फत विद्यालय तहको शिक्षामा गुणस्तर अभिवृद्धिमा टेवा पुगेको छ । मौलिक हकको रुपमा रहेको आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क रुपमा प्राप्त गर्ने अवसर सिर्जना भएको छ । चालु आर्थिक वर्षमा अति विपन्न, अभिभावक गुमाएका, पारिवारिक विचलनमा परेका बालबालिकाहरुका लागि स्टेशनरी  वितरण गरी शिक्षामा पहुँच वृद्धि भएको छ  । पालिकाको शैक्षिक पात्रो निर्माण गरी शैक्षिक क्रियाकलापहरुलाई प्रभावकारी तुल्याइएको छ ।  प्राविधिक शिक्षा अध्ययन गर्ने ६ जना विधार्थीलाई सूचना प्रविधिसँग सम्बन्धित छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक, नेपाली र अंग्रेजी विषयका शिक्षक, सामुदायिक विद्यालयका कक्षा ८ र १० का ७ सय ९६ जना विद्यार्थीहरुको लागि अक्षर सुधार कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाभित्र ३ वटा विद्यालयका विधार्थी, शिक्षक र अभिभावक केन्द्रित गरी जीवनमूल्य शिक्षा सञ्चालन गरिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुका लागि कम्प्युटर तथा सूचना प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिएको छ । सामुदायिक विद्यालयहरुमा नयाँ ६ वटा कक्षाकोठा निर्माण  सम्पन्न भएको छ र ८ वटा अधुरा  सामुदायिक विद्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ  ।  सामुदायिक विद्यालयका १८ जना शिक्षकलाई स्काउट तालिम प्रदान गरी विद्यालयहरुमा स्काउट गठनको प्रक्रिया अगाडी बढाइएको छ । संस्थागत विद्यालयहरुबाट कम्तिमा १० प्रतिशत विधार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्य अगाडी बढाइएको छ ।

स्वास्थ्य क्षेत्र

  • चालु आर्थिक वर्षमा सिसहनिया र लालमटिया स्वास्थ्य चौकीमा २४ घण्टे आकस्मिक स्वास्थ्य सेवा तथा लालमटिया स्वास्थ्य चौकी प्रस्तावित भालुवाङ अस्पतालबाट शल्यक्रियाद्धारा प्रसुती सेवा र अन्तरङ्गसेवा सञ्चालनमा आएको छ ।  सिसहनिया  र लालमटिया स्वास्थ्य चौकीबाटसमेत सुरक्षित गर्भपतन सेवा तथा टेलिकार्डियोलोजी सेवा सुरु भएको छ । सिसहनिया स्वास्थ्य चौकीको हाताभित्र तिलगंगा आँखा अस्पतालको शाखा स्थापना गरी आँखा जाँच तथा उपचार सेवा सुरु गरिएको छ, यसबाट २४४ जनाको मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया गरिएको छ, भने २ हजार २ सय ८६ जनाको आँखा जाँच भएको छ ।
  • चालु आर्थिक वर्षमा घरघरमा गई १ हजार १ एक ९० जना जेष्ठ नागरिकको स्वास्थ्य जाँच तथा उपचार गरिएको, गर्भवती जाँच ९ सय ६२, स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीद्धारा ६ सय ४६ जना प्रसुती भई गाउँपालिकाबाट उपाध्यक्ष कोशेली,न्यानो झोला, गर्भवती उत्प्रेरणा र यातायात खर्च  प्रदान गरिएको छ ।  प्रसुती पोषण खर्च १सय ८४ जनालाई उपलब्ध गराइएको छ । पहाडी क्षेत्रमा रोमिङ स्वास्थ्य सेवा मार्फत ५सय ७३ जनालाई घर घरमा गई स्वास्थ्य जाँच तथा उपचार गरिएको छ । ९ वटै स्वास्थ्य संस्थाहरुबाट जम्मा ४१ हजार ३ सय ९९ जना नयाँ विरामीहरुको स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गरिएको छ । कोभिड-१९ रोग विरुद्धको खोप ११ हजार ३ सय ३१ जनालाई प्रदान गरिएको छ । चालु आ.व.मा नियमित खोप सेवा अन्तरगत २ वर्षमुनीका ६ सय ७० जना बालबालिकाहरुलाई पूर्ण खोप लगाइएको छ ।

महिला, बालबालिका, जेष्ठ नागरिक  तथा सामाजिक समावेशीकरण

  • चालु आ.व. मा ९ सय १९ जना जेष्ठ नागरिकलाई नयाँ परिचयपत्र  र ४६ जना लाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।  ४० जना अनाथ बालबालिकालाई अनाथ भत्ता उपलब्ध गराइएको छ ।  १०२ जना हिंसा पीडित महिलाहरुको क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको छ  । विद्यालयहरुमा लागु औषध रोकथाम नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको छ । २८ जना किशोरीहरुलाई आत्म रक्षा तालिम प्रदान गरिएको छ । लक्षित वर्ग अन्तरगत दलित समुदायका व्यक्तिहरुका लागि बिभिन्न सिप बिकास कार्यक्रम  सञ्चालन गरिएको छ ।

खानेपानी तथा सरसफाई क्षेत्र

  • राप्ती गाउँपालिकामा सरसफाई केन्द्र स्थापनाको कार्य अगाडी बढाइएको छ । शुन्य फोहोरको अवधारणा कार्यान्वयनका लागि सरसफाई सचेतना अभिवृद्धि अभियान वडा  तथा टोल तहसम्म  सञ्चालन भएका छन् । खानेपानीको सुरक्षाका लागि पानी परिक्षणको कार्य अघि बढेको छ  ।  सिसहनिया बजारमा बटुवाहरुका लागि निःशुल्क पिउने पानी धाराको व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा तथा पञ्जीकरण

  • सामाजिक सुरक्षा भत्ता ४ हजार ६१ जनालाई वितरण भएको छ  । वडा नं. ९  को सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण गरिएको छ । पञ्जीकरणको टोकन निर्माण सम्बन्धी सवै वडाका ६ सय ६० जनालाई अभिमुखिकरण  सम्पन्न गरिएको छ  । चालु आ.व. मा २ हजार ९ सय ५५ वटा घटना दर्ता भएका छन्  । ११ हजार ७ सात ६ वटा पुराना घटना दर्तालाई  डिजिटाइजेशन  गरिएको छ ।

कृषि विकास   

  • ५० प्रतिशत अनुदानमा ७ सय ९२ जना किसानहरुलार्इ विभिन्न जातका गहुँको उन्नत विउ १ सय ७२ क्वीन्टल, ३ सय ६१ जना किसानहरुलार्इ विभिन्न जातको धानको उन्नत विउ ५४ दशमलव ३७ क्वीन्टल वितरण गरिएको छ । वडा नं. ६ मा कृषि सहकारी मार्फत २० हेक्टरमा तरकारी पकेट विकास कार्यक्रम सञ्चालन गरिएको छ ।  वडा नं. ७ मा कृषक समूह मार्फत  तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ ।  ९ वटा वडाका  ४८ जना किसानलार्इ २ दिने कन्ये च्याउ खेती सम्बन्धी तालिम, ९२ जना किसानलार्इ कृषि बिमा सम्बन्धी जनचेतनामूलक तालिम सञ्चालन गरिएको छ ।  वडा नं. ८ मा कृषि एम्बुलेन्स सहित कृषि उपज संकलन केन्द्र स्थापना गरिएको  छ । करार खेती अन्तरगत १५ जना  किसानहरुको  जग्गाको भाडा तिर्ने कार्यक्रम सम्पन्न भएको  छ । कृषि  समूह र सहकारी मार्फत ४ वटा कलष्टरमा खायन आलु उत्पादन कार्यक्रम सञ्चालन गरिएको  छ । वडा नं. ८ मा १ वटा तरकारी, फलफूल तथा पुष्प बेर्ना उत्पादनको लागि ५० प्रतिशत लागत साझेदारीमा नर्सरी विकास प्रवर्द्धन कार्यक्रम सञ्चालन  गरिएको छ ।

पशुपंक्षी तथा मत्स्य विकास क्षेत्र

  • गाउँपालिका भित्र ४ हजार ९ सय ५० कृषकहरुलाई सूचीकृत गरिएको छ । ११ हजार २ सय ३० वटा पशुपंक्षीको उपचार सेवा गरिएको छ । ९ सय ९६ पशुहरुमा कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको छ । १ हजार १ सय २३ घरधुरीलाई १ हजार ७ सय ८५ केजी वर्षिम र जै घाँस ६० के जी, सुडान ६ सय ९० के जी र ४ सय ९५ केजी टियोसेन्टी घाँसको विउ वितरण भएको छ । यस गाउँपालिकामा दुध उत्पादनमा आधारित अनुदान कार्यक्रमबाट ६४ जना किसान लाभान्वित भएका छन ।  लम्पी स्कीन रोगबाट  ८ सय ४६ पशुमा संक्रमण देखिएको, ४९ वटा पशुहरुको मृत्यु  भएको छ भने बाँकीको उपचार गरिएको छ । पशु स्वास्थ शिविर मार्फत दुर्गम क्षेत्रका गाईभैसी ९ सय ७४,  बाख्रा ४ हजार ७ सय ७ , कुखुरा ४ हजार २ सय ३९, बंगुर १ सय ७ तथा  ३ हजार ६ सय ६२ वटा वंगुरलाई खोप, रानीखेत रोगको उपचार  ५ हजार ६ सय भ्यागुते, चर्चरे २ हजार ३ सय , पिपिआर २० हजार ९ सय ८४ मा सेवा पुर्‍याइएको छ ।  वडा न २, ५ र ९ मा बाख्राको पकेट विकास कार्यक्रम सञ्चालनमा आएको छ ।  २८ वटा उच्च उत्पादन क्षमता भएका वोयर बोका वितरण भएका छन ।

सहकारी क्षेत्र

  • आधारशिला कार्यक्रम सञ्चालन गरिएको छ । समस्याग्रस्त सहकारीहरुको सघन अनुगमन गरिएको छ । नेप्सुनको सहकार्यमा कोपोमिस तालिम सञ्चालन गरिएको छ ।

भूमि सेवा केन्द्र

  • सम्पुर्ण वडामा नाप नक्साको लागि वडा स्तरिय सहजिकरण समिति गठन भएको छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको सम्पुर्ण वडामा लगत सङ्कलन गरी सोको लगत प्रविष्टी भई ४ हजार ५ सय ८७ जनालाई घुम्ती शिविर मार्फत निस्सा वितरण कार्य सम्पन्न भएको  छ । सम्पुर्ण वडामा नाप नक्सा कार्य  सहज गर्न जम्मा २ सय ८५ वटा नियन्त्रण बिन्दु (control point) राखिएको छ । नाप नक्साको कार्य वडा न. २ मा सकिएको छ र वडा न. १,३,र ९ मा  नाप नक्साको काम अन्तिम चरणमा रहेको छ ।

पूर्वाधार विकास तर्फ

  • गाउँपालिकाको गौरबको योजना अन्तरगत राप्ती चक्रफथ वडा नं. ५ सिसहनिया मिलनचोक देखि वडा नं. ३ बसान्तापुरसम्मको सडक खण्ड निर्माण सम्पन्न भएको छ । वडा नं. ८ मा रहेको पिपरी खोला पक्की पुल हाल सम्मको भौतिक प्रगती ७० प्रतिशत भएको छ । निर्माणाधीन १५ शैयाको राप्ती आधारभूत अस्पताल सिसहनियाको ६० प्रतिशत कार्यसम्पन्न भएको छ । चालु आ.व. मा वडा नं. ४ को प्रशासनिक भवन निर्माण सम्पन्न भई सेवा आफ्नै भवनबाट सुरुवात भएको छ । राप्ती चक्रपथ वडा नं. ३ खुरुरीया खण्ड ८० प्रतिशत भौतिक प्रगती भएको छ । चालु आर्थिक वर्षमा कालोपत्रे सडक  ३ हजार ७०० मीटर, ग्रावेल सडक ६ हजार ८ सय १२ मीटर, नाला निर्माण ३ हजार २ सय  मीटर, सडक नयाँ ट्राक ५ सय ६१ मीटर, तटबन्ध निर्माण ४ सय ५४ मीटर, कल्भर्ट निर्माण १३ वटा , सिचाई कुलो ८ सय ३० मीटर सम्पन्न भएको छ  ।

श्रम, रोजगार तथा उद्यम विकास

  • न्यूनतम रोजगार कार्यक्रम अन्तर्गत पालिकामा सूचिकृत १०० जना बेरोजगार ब्यक्तिहरुलाई रोजगारी उपलब्ध गराईएको छ । पुन: श्रम स्वीकृती लिन चाहने व्यक्तिका लागि आवश्यक सहजिकरण गरिएको छ । गाउँपालिका मार्फत सञ्चालन भएका आयोजनाहरुमा उपलब्ध रोजगारीको तथ्याङ्क अध्यावधिक गरिएको छ । उद्यमी बन्न चाहनेहरुका लागि सिलाई कटाई तालिम, होजियारी तालिम, चप्पल बनाउने तालिम, दुना टपरी तालिम , थाकलबाट सामग्री निर्माण तालिम गरी कुल १ सय २५ जनालाई सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिएको छ । गाईको गोबरबाट धुप उत्पादन उद्योग सञ्चालनको सुरुवाती चरणमा रहेको छ ।

 सुशासन तथा संस्थागत सेवा प्रवाह

  • योजना व्यवस्थापन प्रणाली, व्यवसाय दर्ता प्रणाली र तलव भत्ता व्यवस्थापन प्रणाली प्रयोग गरिएको छ । चालु आर्थिक वर्षमा स्थानीय तह संस्थागत क्षमता स्व मूल्याङ्कनमा ८१.७५ अङ्क प्राप्त भएको छ । । सुत्र,पाम्स जस्ता सफ्टवेरहरुलाई प्रयोगमा  ल्याईएको छ । अनलाइन तथा  बैकं मार्फत सामाजिक सुरक्षा वितरण गरिएको छ ।  खाद्य तथा बजार अनुगमनको कार्य सम्पन्न गरिएको छ । सार्वजनिक जवाफदेहिता, उत्तरदायित्व र पारदर्शितामा अभिबृद्धि गर्न लागि सार्वजनिक सुनुवाई, सामाजिक लेखापरीण र प्रगति समिक्षा   गरी पृष्ठपोषण प्राप्त गरिएको  छ ।  विभिन्न निकाय र पदाधिकारीसँग सहकार्य र साझेदारीमा कार्य सञ्चालन गरिएको छ ।  विद्युतिय खरिद  प्रक्रियालाई अबलम्बन गरी मितव्ययीता निर्माणलाई जोड  दिईएको छ ।
  • गाउँपालिकाको आफ्नै वेवसाइट, फेसबुक पेज, ट्वीटर जस्ता सामाजिक संजालको दैनिक रुपमा अद्यावधिक गरी सूचना आदानप्रदान गर्ने काम भईरहेको छ । चालु आ.व. मा गत आ.व. २०७८/७९ को गर्नुपर्ने स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA), राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुल्याङ्कन प्रतिवेदन आदिको काम सम्पन्न भएको छ । फ्रि वाइफाइ तथा डिजिटल भिडियो बोर्ड मुख्य बजार क्षेत्र भालुवाङ र सिसहनियामा जडान गरिएको छ । राजमार्ग तथा मुख्य बजार क्षेत्रमा सिसिक्यामेरा जडान गरिएको छ ।

न्यायिक समिति

  • न्यायिक समितिमा परेका उजुरीहरु मध्ये ३८ वटा उजुरीहरुको फर्छौट गरिएको छ । २७ जना मेलमिलापकर्ताहरुको तालिम सम्पन्न भएको छ ।

वन वातावरण तथा विपद व्यवस्थापन तर्फ

  • चालु आ.व. को असोज महिनामा बाढी तथा पहिरोबाट प्रभावित २७५ घर परिवारलाई राहत उपलब्ध गराईएको छ । पहिरोबाट घरवार विहिन १० परिवारको लागि घर निर्माण गर्न सहयोग गरिएको छ ।  । वडा नं ४ हुदैँ देविकोट जाने बाटोका दाँया र बाँया वृक्षारोपणका लागि ५ सय ७५ वटा खाडल खनिएको छ । विपद् व्यवस्थापनका लागि सामुदायिक वन र प्रहरीहरुलाई सामाग्रीहरु वितरण गरिएको छ । वर्षातमा अवरुद्ध भएका  सडकहरु समयमै सूचारु गरिएको छ । अग्नीजन्य विपद् तथा दुर्घटनाजन्य विपदबाट प्रभावित २५ परिवारलाई सहयोग रकम प्रदान गरिएको छ ।

सभाका अध्यक्ष महोदय,

  • अव म उल्लेखित प्रगतीका क्रममा भोगिएका मुख्य मुख्य समस्या तथा चुनौतिहरु प्रस्तुत गर्दछु ।
  • अर्थतन्त्रमा आएको मन्दीसँगै राजश्व बाँडफाँड र आन्तरिक राजश्व तर्फ भएको गिरावटका कारण सम्पूर्ण आयोजनाको कार्यान्वयन र भुक्तानीमा कठिनाई,
  • निर्वाचित जनप्रतिनिधीको समयमा क्षमता विकास नहुँदा बुझाई एकरुपता कायम गर्न नसकिनु ।
  • स्थानीय तह र अन्य संघीय तथा प्रदेश तहका बाँझिएका कानूनका कारण कार्यसम्पादनमा प्रभावकारीता नआउनु ।
  • असीमित जनताका आकांक्षा र सीमित स्रोत साधन बीच तालमेल गरी अधिकतम जनसन्तुष्टी कायम गर्नु ।
  • विकास निर्माण र व्यवस्थापनमा अर्थपूर्ण जनसहभागीता ।
  • शासन सञ्चालन र समाज व्यवस्थापनमा नकरात्मताको बढोत्तरी ।

सभाका अध्यक्ष महोदय,

  • उल्लेखित उपलब्धी, समस्या र चुनौतिका आधारमा आर्थिक वर्ष २०८०।८१ को बजेट तथा कार्यक्रम निर्माणका निम्नलिखित आधारहरु प्रस्तुत गर्दछु ।
  • नेपालको संविधान
  • संघ,प्रदेश र स्थानीय तहका आवधिक योजना
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४
  • संघ,प्रदेश र स्थानीय तहका कानूनहरु
  • दिगो विकासका लक्ष्य २०१६ देखि २०३०
  • राप्ती गाउँपालिकाको आ.व. २०८०/०८१ वार्षिक नीति तथा कार्यक्रम
  • विभिन्न सरोकारवालासँगको छलफलबाट प्राप्त सुझाव तथा राप्तीवासी जनताका आवश्यकता र अपेक्षा

 

सभा अध्यक्ष महोदय,

  • अब म उल्लेखित उपलब्धी, समस्या तथा बजेट निर्माणका लागि लिइएका आधारहरु बमोजिम आर्थिक वर्ष २०८०।८१ को बजेट तथा कार्यक्रमका उद्देश्यहरु पेश गर्दछु ।
  • शिक्षा, स्वास्थ्य र समावेशीकरण प्रवर्धन मार्फत समतामूलक, समृद्ध र सुस्कृत राप्ती निर्माण गर्ने ।
  • विपद संवेदनशील दिगो पूर्वाधार विकास गर्ने
  • कृषि, रोजगारी र पर्यटन क्षेत्रको विकास गरी राप्तीवासीको जीवनस्तरमा सुधार गर्ने
  • विकास, सुशासन र सेवा प्रवाहलाई जनमैत्री तुल्याई स्थानीय सरकार र जनता बीचको सम्बन्ध सुमधुर बनाउने ।

सभाका अध्यक्ष महोदय,

  • उल्लेखित उद्देश्यहरु पुरा गर्न सम्मानित सभा समक्ष राप्ती गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०।०८१ का बजेट तथा कार्यक्रमको प्राथमिकताहरु निम्नानुसार निर्धारण गरेको छु ।
  • शिक्षा,स्वास्थ्य र सामाजिक समावेशीकरण
  • कृषि रोजगार, पर्यटन र उद्यमशीलता
  • दिगो पूर्वाधार विकास
  • विपद् व्यवस्थापन, हरियाली प्रवर्धन तथा वातारण संरक्षण
  • सुशासन,सूचना प्रविधि र गुणस्तरिय सेवा प्रवाह

 सभा अध्यक्ष महोदय,

शिक्षा र स्वास्थ्यमा लगानीः सुनौलो र स्वस्थ जिन्दगानी

  • बजेटका उल्लेखित उद्देश्य र प्राथमिकताका आधारमा राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रमका मुख्य मुख्य व्यवस्थाहरु सहितको बजेट तथा कार्यक्रम यस सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु ।
  • मौलिक हकको कार्यान्वयन गरी मानवीय विकास मार्फत समृद्धिको ढोका खोल्न सुसंस्कृत र सभ्य नागरिकको विकासका लागि प्रारम्भिक बाल विकास देखि कक्षा १० सम्म निःशुल्क शिक्षा कार्यक्रमलाई निरन्तरता दिदै रु ५ करोड ४१ लाख विनियोजन गरेको छु ।
  • प्रतिस्पर्धाका आधारमा कार्यसम्पादनलाई दण्ड र पुरस्कारसँग आवद्ध गर्न, धार्मिक विद्यालयहरुको सञ्चालन तथा व्यवस्थापन गर्न, गाउँ शिक्षा योजना विकास गरी अति विपन्न, अभिभावक गुमाएका, पारिवारिक विचलनमा परेका समेत बालबालिकाहरुको लागि आवश्यक रकम विनियोजन गरेकोछु ।
  • प्राविधिक धार अध्ययन गर्न चाहने विधार्थीको लागि छात्रवृत्ति तर्फ रकम रु. ७ लाख विनियोजन गरेको छु । युवाहरुको सर्वाङ्गीण विकास ,पालिका र राष्ट्रको प्रतिष्ठाका लागि खेल प्रशिक्षण तथा खेलकुद एकेडेमी सञ्चालन, अध्यक्ष कप लगायतका प्रतियोगिताहरु सञ्चालन गर्न रकम रु. २० लाख विनियोजन गरेको छु । प्रविधिमैत्री विद्यालय शिक्षाका लागि रकम रु. ५० लाख विनियोजन गरेको छु ।
  • शिक्षा तर्फ संघीय सशर्त अनुदान रकम रु १५ करोड १४ लाख र पालिका तर्फ रु. ६ करोड ५३ लाख ५० हजार गरी जम्मा रु २२ करोड १७ लाख ५० हजार कुल विनियोजनको करिब ३३ प्रतिशत शिक्षा तर्फ विनियोजन गरेको छु ।
  • आधारभूत मौलिक हकको कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गरी सुखी र खुसी राप्तीवासीको सपना पुरा गर्न चालु आ.व.मा सुरु भएको सिसहनिया र लालमटिया स्वास्थ्य चौकीको आकस्मिक स्वास्थ्य सेवालाई निरन्तरता दिदै लालमटियाबाट CS सेवा र अन्तरङग सेवा समेत थप अभिवृद्धि गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
  • राप्ती आधारभूत अस्पताल सिसहनिया राप्ती गाउँपालिका ५ सिसहनियालाई आगामी आ.व. देखि सञ्चालनमा ल्याउन रु. ३ करोड विनियोजन गरेको छु ।
  • उपाध्यक्ष कोशेली कार्यक्रम निरन्तरता दिदै अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रमका लागि रकम विनियोजन गरेको छु । ८० वर्ष माथिका जेष्ठ नागरिक, विपन्न असहाय, अति विपन्न अपाङगता भएका समेतलाई पालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवाका लागि बजेट विनियोजन गरेको छु ।
  • महिला स्वास्थ्य स्वयसेविकालाई प्रोत्साहन स्वरुप सुनौलो अवकाश योजना ल्याई प्रोत्साहनका लागि आवश्यक रकमको व्यवस्था गरेको छु ।
  • स्वास्थ्य तर्फ संघीय सशर्त तर्फ रकम रु २ करोड ५६ लाख र पालिका तर्फ रु. ६ करोड ८५ लाख गरी जम्मा रु ९ करोड ४१ लाख कुल विनियोजनको झण्डै १४ प्रतिशत स्वास्थ्य तर्फ विनियोजन गरेको छु ।

महिला, बालबालिका, अपाङगता, जेष्ठनागरिक तथा सामाजिक समावेशीकरण

  • बालमैत्री स्थानीय शासन लागु गरी किशोरकिशोरीमैत्री स्थानीय पालिका निर्माण गर्न आवश्यक रकम विनियोजन गरेको छु । अपाङगता भएका व्यक्ति, सेफ हाउस सञ्चालन तथा अनाथ बालबालिकाहरुको सहयोग र युवा बालबालिकाहरुमा रहेको दुर्व्यसनी न्यूनिकरणका लागि रकम रु. १० लाख विनियोजन गरेको छु ।
  • जेष्ठ नागरिक सम्मान तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनका लागि रकम रु. ६ लाख विनियोजन गरेको छु । जेष्ठ नागरिक संवाद डबली, दोभासे सेवा तथा दलित लक्षित आय आर्जन कार्यक्रमका लागि रकम विनियोजन गरेको छु । सहयोगापेक्षी सडक मानव व्यवस्थापनका लागि निलसागर सेवाश्रमसँग सहकार्यका लागि रकम रु. १० लाख विनियोजन गरिएको छ ।
  • महिला, बालबालिका, अपाङगता, जेष्ठनागरिक तथा सामाजिक समावेशीकरणका लागि रकम रु. ४५ लाख विनियोजन गरेको छु ।

सुरक्षित खानेपानी: स्वच्छ,सफा  तथा सुन्दर हाम्रो आनीवानी 

  • मुलदेखि मुखसम्म स्वच्छ सुरक्षित खानेपानीका लागि पानी गुणस्तर परीक्षण उपकरण खरिद तथा खानेपानी सरसफाई अनुसन्धान कार्यक्रमका लागि रु. १० लाख विनियोजन गरेको छु । शुन्य फोहोरको मान्यतालाई आत्मसाथ गर्दै फोहोरमैला व्यवस्थापन तथा सरसफाई स्रोतकेन्द्र सञ्चालनका लागि रु. २० लाख विनियोजन गरेको छु ।

कला, संस्कृति र न्याय पर्यटनसँगै सामाजिक सुरक्षा

  • थारु, मगर, गुरुङ, कुमाल लगायत अन्य जातीहरुका भाषा,धर्म, कला, संस्कृति, सम्पदा र परम्परालाई संरक्षण र प्रवर्धन गर्न आवश्यक रकमको विनियोजन गरेको छु । राप्तीको पहिचानका रुपमा थारु समुदायसँग सम्बन्धित कला, संस्कृति, भेषभुषा, थारु परिकार आदिको संरक्षण, सम्बर्धन र विकासका लागि राप्ती गाउँपालिका वडा नं ६ मा थारु सांस्कृतिक ग्राम स्थापनाका लागि आवश्यक रकम विनियोजन गरेको छु । मगर सांस्कृतिक संग्राहलयका लागि आवश्यक रकम विनियोजन गरेको छु । न्यायिक समिति सञ्चालनका लागि रकम रु. १० लाख विनियोजन गरेको छु ।
  • घरदैलोमा सरकारको अवधारणालाई कार्यान्वयन गर्न जेष्ठ नागरिक, असक्त, एकल महिला, अति विपन्न परिवार, सुविधाबाट वञ्चित तथा असक्त बेसाहारा व्यक्तिहरुको लागि सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।

आर्थिक विकास समृद्धिको आधार  

  • एक घर एक करेसाबारी पकेट क्षेत्रमा व्यावसायिक तरकारी कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छु । कृषि उपज संकलन केन्द्र, कृषि एम्बुलेन्स सञ्चालन लागि रु. २१ लाख विनियोजन गरेको छु ।
  • “उत्पादन साथमा अनुदान हातमा” भन्ने अभियानलाई कार्यान्वयन गर्न स्वरोजगारीका लागि युवा लक्षित कार्यक्रम तथा दुग्धजन्य उत्पादन अनुदानका लागि रु. १९ लाख ६० हजार विनियोजन गरेको छु । पुष्प खेती तथा फलफुल प्रोत्साहनका लागि नमूना बगैचा स्थापना गर्न रु. १८ लाख ५० हजार रकम विनियोजन गरेको छु ।
  • पालिकालाई अर्गानिक जोनको रुपमा अगाडी बढाउन “एक सामुदायिक वनःएक प्राङगारिक मल उद्योग” कार्यान्वयन गर्न अर्गानिक उत्पादन पकेट क्षेत्र विकासका लागि रु. १५ लाख विनियोजन गरेको छु । “हाम्रो बैंक” टोकन प्रदान गर्ने कार्यका लागि आवश्यक रकम विनियोजन गरेको छु । स्वरोजगार हुन चाहने मुक्त कमैया, भूमिहिन, सुकुम्वासी लगायतका विपन्न परिवारका लागि करार खेती कार्यक्रमका लागि रु. ११ लाख ६० हजार रकम विनियोजन गरेको छु । कस्टम हाइरिङ सेन्टरको लागि रु. ४० लाख विनियोजन गरेको छु ।
  • पशु उपचार घुम्ती शिविर, बधिया भाले प्रवर्धन, कुकर बन्ध्याकरण र पशुवृद्धाश्रम केन्द्र सञ्चालन समेतका लागि आवश्यक रकम विनियोजन गरेको छु । बाख्रा पकेट तथा तरकारी पकेट विकासका लागि रकम रु. १७ लाख विनियोजन गरेको छु । कृषि तथा पशुविकास साझेदारी कार्यक्रमका लागि रकम रु. ५० लाख विनियोजन गरेको छु ।
  • कृषि तथा पशु विकास तर्फ संघीय सशर्त अनुदान रु. ७९ लाख, प्रदेशबाट रु. ७३ लाख र पालिकाबाट रु. १ करोड ४७ लाख गरी जम्मा रु २ करोड ९९ लाख विनियोजन भएको छ । चालु आ.व.मा १ करोड ९० लाख विनियोजन भएकोमा आगामी आ व का लागि ५७ प्रतिशतले वृद्धि भएको छ ।

राप्तीका युवा र महिला उद्यमशीलतामा पहिला

  • “राप्तीका युवा र महिला: उद्यमशीलतामा पहिला” भन्ने मूल ध्येयका साथ युवाहरुको व्यवसाय प्रवर्धनका लागि युवा व्यावसाय सेवा केन्द्र मार्फत सीप तथा स्वरोजगारी सिर्जना गरी व्यावसाय सुरुवाती कोष तथा उद्यमशीलता विकासका लागि समेत रु. १ करोड ३५ लाख विनियोजन गरेको छु ।
  • श्रम संस्कृतिको विकास र रोजगारीमा बेरोजगार युवाहरुलाई रोजगार सिर्जना गरी गरिबी निवारण गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ रु. ६४ लाख विनियोजन गरेको छु । समग्रमा रोजगारी र उद्यमशिलताका लागि जम्मा रु २ करोड विनियोन गरेको छु ।

वन, वातावरण, विपद व्यवस्थापन

  • विपद कार्यका लागि वडा तथा पालिकास्तर समेत गरी रु. ६५ लाख विनियोजन गरेको छु । हरियाली प्रवर्धन तथा वातावरण संरक्षणका लागि रु. ६० लाख विनियोजन गरेको छु । वन, वातावरण र विपद व्यवस्थापन तर्फ रु. १ करोड २५ लाख विनियोजन गरेको छु ।

सडक, भवन तथा सहरी विकास

  • राप्ती चक्रपथको पत्थरगढवा भगवानपुर मझेरीया खण्ड, सिसहनिया भानपुर सडक खण्ड, खुरुरिया गोइन्द्रे खोला समेत गरी रु. ४ करोड ४० लाख विनियोजन गरेको छु । ८ वटा वडा कार्यालयहरु सम्पन्न भई सकेकोमा आगामी आ व देखि वडा नं ३ को प्रशासकीय भवनसँगै अतिथि गृह निर्माण कार्यका लागि रु १ करोड विनियोजन गरेको छु । प्रत्येक वडाको गौरबको आयोजनाका रुपमा कम्तिमा रु १० लाखसम्मका आयोजना सञ्चालन गर्न रु १ करोड १० लाख विनियोजन गरेको छु ।
  • अपाङ्गतामैत्री कार्यालय परिसर, अटो भिलेज सम्भाव्यता अध्ययन र भुकम्प प्रतिरोधी सिकर्मी, डकर्मी तालिम समेतका लागि आवश्यक रकम विनियोजन गरेको छु । पिपरी खोलामा पुल निर्माणका लागि रु १ करोड ५० लाख विनियोजन गरेको छु । काउछे, लामाखोला, भोजखोलाघाट, पुनखोला र लामाखोलामा झोलङगे पुल निर्माणका लागि रु ३० लाख विनियोजन गरेको छु ।
  • निर्मित पूर्वाधारहरुको नियमित तथा आकस्मिक मर्मत सम्भारका लागि मर्मत संभार कोषका तर्फ रु. २५ लाख विनियोजन गरेको छु । जनता आवास कार्यक्रमका लागि रु. २३ लाख विनियोजन गरेको छु ।
  • पूर्वाधार विकास तर्फ संघीय सरकार सशर्त अनुदान रु. २ करोड ३ लाख, प्रदेश सरकारबाट रु. १ करोड ६० लाख तथा पालिकाबाट  रु. ७ करोड ३९ लाख गरी जम्मा रु ११ करोड २ लाख गरी कुल विनियोजनको १७ प्रतिशत रकम विनियोजन गरिएको छ ।

 

सुशासन, संस्थागत व्यवस्थापन  र सेवा प्रवाह

  • सूचना प्रविधिको विकास तथा उपयोगका लागि आवश्यक रकम विनियोजन गरिएको छ । स्थानीय सरकारलाई उत्तरदायी र पारदर्शी बनाई जनमैत्री बनाउन टोल विकास संस्था परिचालन र सार्वजनिक सुनुवाईका लागि रु. १० लाख विनियोजन गरको छु । आगामी आ व भित्र संघीय सरकारको समन्वयमा भूमिहिन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँच सम्पन्न गरी जग्गाधनी लालपूर्जा वितरण गर्न भूमी सेवा केन्द्रका लागि रु २० लाख विनियोजन गरेको छु । पत्रकारिता विकास तथा उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि आवश्यक रकम विनियोजन गरिएको छ । जनतासँग जनप्रतिनिधी कार्यक्रम तथा क्षमता विकास कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेकोछु । उत्कृष्ट वडा, कर्मचारी, करदाता सम्मान तथा पुरस्कारका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
  • उद्योगी व्यावसायीहरुसँग साझेदारी तथा करदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको छु । सडक दुर्घटना न्यूनिकरणका लागि आवश्यक रकम व्यवस्था गरेको छु । सुशासन तथा संस्थागत व्यवस्थापन र सेवा प्रवाह तर्फ रु. १ करोड १८ लाख विनियोजन गरेको छु ।

सभाध्यक्ष महोदय,

अब म आ व २०८० ।८१ को आय तथा व्यय अनुमान पेश गर्दछु  ।

  • चालु तर्फ संघीय सरकारको रु २० करोड ५१ लाख, प्रदेश सरकारको रु १२ लाख र पालिका तर्फको रु. १० करोड ९५ लाख सहित ३१ करोड ५८ लाख कुल विनियोजन को  ४८ प्रतिशत  विनियोजन गरेको छु । पुँजीगत तर्फ संघीय सरकारको रु २ करोड ६८ लाख , प्रदेश सरकारको ३ करोड  ८६ लाख र पालिका तर्फको रु २६ करोड ७२ लाख गरी जम्मा रु ३३ करोड २६ लाख  कुल  विनियोजनको  ५२ प्रतिशत  विनियोजन गरेको छु ।
  • वडा कार्यालयको प्रशासनिक खर्च रु. ४५ लाख र पालिका तर्फ रु. १० करोड ५० लाख सहित  प्रशासनिक खर्च रु १० करोड ९५ लाख कुल विनियोजनको  १६.६  प्रतिशत मात्र विनियोजन गरेको छु ।  चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा प्रशासनिक खर्च ४ प्रतिशतले  घटाएको छु ।
  • उल्लेखित कुल खर्चका लागि संघीय सरकारको प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट रु. १२ करोड ९२ लाख , शसर्त अनुदान रु. २३ करोड १९ लाख , समपुरक अनुदानबाट रु १करोड १० लाख, विशेष अनुदानबाट रु १ करोड ३५  लाख र राजस्व बाँडफाँडबाट रु  ११ करोड २१ लाख ९४ हजार गरी जम्मा रु ४९ करोड ७७ लाख ९४ हजार , प्रदेश सरकारको वित्तीय समानिकरण अनुदानबाट रु ९४ लाख ८२ हजार, प्रदेश सशर्त अनुदान १ करोड ४५ लाख, समपुरक अनुदान रु १ करोड र राजस्व बाँडफाँड बाट रु.५९ लाख ९ हजार १ सय २१ गरी जम्मा रु ३ करोड  ९८ लाख   ९१ हजार १सय २१ तथा आन्तरिक श्रोत तर्फ रु. ७ करोड १७ लाख १४ हजार ८ सय ७९ र चालु आवको मौज्दात समेत रु ४ करोड ८२ लाख गरी जम्मा रु ६५ करोड  ७६ लाख आय अनुमान गरेको छु ।  चालु आव को संसोधित  आय अनुमान रु ७० करोड ३ लाखको तुलनामा आगामी  वर्षको आय अनुमान रु. ४ करोड २७ लाख  ( ६ प्रतिशत) ले कमी हुन पुगेको छ ।

बजेट तथा कार्यक्रमको पुर्ण विवरण यहाँहरुलाई उपलब्ध गराईएको रहेको अनुसुचीमा समावेश गरेको छु ।

सभाध्यक्ष महोदय,

प्रस्तुत आगामी आर्थिक वर्षको बजेट  तथा  कार्यक्रम निर्माणका लागि आफ्ना अमूल्य राय, सूझाव प्रस्तुत गर्नुहुने सम्पुर्ण समाजसेवी, बुद्धिजिवी,  सञ्चारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि , राजनितिक दल, निर्वाचित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत सहित  सम्पुर्ण  राष्ट्रसेवक कर्मचारी एवं शिक्षक , सधैं सकारात्मक सल्लाह ,सुझाव  तथा मार्गदर्शन गर्नुहुने  गाउँपालिका अध्यक्षज्यू एवं सम्पुर्ण राप्तीबासी महानुभावहरुमा हार्दिक धन्यवाद एव आभार व्यक्त गर्दछु । प्रस्तुत बजेट तथा कार्यक्रमको कार्यान्वयनमा समेत यहाँहरुको सकृय सहभागिता एवं साथ हुनेछ भन्ने विश्वास लिएको छु ।

धन्यवाद ।

कमलापति चौधरी

उपाध्यक्ष

राप्ती  गाउँपालिका, मसुरिया देउखुरी-दाङ

तपाईको प्रतिक्रिया