
दशरथ घिमिरे
देउखुरी । पहाडबाट बसाइ सराइ गरेर शहरबजार भित्रिने र नयाँ घर निर्माण गर्ने क्रम बढेसँगै खानेपानीको समस्या बढ्दै गएको छ । दैनिक चारदेखि पाँचजना नयाँ धारा जडानको लागि लमही खानेपानी उपभोक्ता संस्थामा पुग्ने गरेका छन् । दिनप्रतिदिन पानीको माग बढ्दैछ । गर्मी शुरु भएपछि त पानी पु¥याउन हम्मेहम्मे पर्छ ।
लमही क्षेत्रमा खानेपानीको माग बढ्दै गएपछि शुरु भएको दोस्रो शहरी खानेपानी आयोजनाले समेत पानीको माग थेग्न नसक्ने अवस्थामा पुगेको छ । अब पानीको मागलाई थेग्न नयाँ आयोजना सञ्चालन गर्न खोजिएको छ । साना शहरी खानेपानीको क्षमता दुई हजार सात सय ६९ धारा हो । अहिले करिब आयोजनाको क्षमताभन्दा धेरै धारा वितरण गरिएको छ । चार हजार आठ सय ८० घरका उपभोक्ता माझ दैनिक ११ लाख लिटर खानेपानी पुगेको छ तर अब यो पानीले उपभोक्ताको माग थेग्न नसक्ने अवस्था आउने देखिएपछि नयाँ खानेपानी आयोजना खोजी भएको र त्यसको सर्वे शुरु गरिएको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव वसन्त आचार्यले जानकारी दिनुभयो ।
‘पानीको माग बढ्दो छ । अब नयाँ आयोजनाको काम नगर्ने हो भने केही वर्षभित्र पानीको समस्या बढ्ने देखिन्छ’– उहाँले भन्नुभयो– ‘भविष्यमा खानेपानीको दुःख नहोस् भनेर सबै ठाउँमा स्वच्छ पानी पु¥याउन नयाँ आयोजनाको खोजी भइरहेको हो ।’ लमही नगरपालिकाभित्रका बस्तीमा खानेपानी संस्थाले पानी उपलब्ध गराउँदै आएको छ । २०७२ साल मंसिरबाट दोस्रो साना शहरी खानेपानी आयोजना शुरु भएको थियो । यो आयोजना शुरु नहँुदा पानीको चरम दुःख थियो । पानीको हाहाकार हुँदा दमकलबाट समेत पानी बोकेर उपभोक्तालाई खुवाउने गरिएको थियो । बजार क्षेत्रमा रहेका पुराना इनारहरु सुकेपछि पानीको थप दुःख भएको थियो ।
‘परम्परागत पानीका स्रोतहरु सुके । इनारहरु थिए । ती इनार मासिए । फेरि पनि पानीको दुःख नहोस् भनेर विकल्पहरुको खोजी गरिएको छ’– खानेपानी संस्थाका अध्यक्ष जंगबहादुर चौधरीले भन्नुभयो । दोस्रो साना शहरी आयोजनाले नसमेटेको क्षेत्र र एक लाइन मात्रै पाइप विस्तार गरेको क्षेत्रमा दोहोरो पाइपलाइन विस्तार गर्नेगरी नयाँ आयोजनाको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) गर्न थालिएको हो । यसका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगञ्जबाट परामर्शदातामार्फत डिपिआर तयार पार्न फिल्डमा खटिएको प्राविधिक दिनेश वलीले जानकारी दिनुभयो ।
‘हाम्रो काम रिपोर्ट तयार पार्ने हो । यो काम सकिन १०÷१५ दिन लाग्छ’– प्राविधिक वलीले भन्नुभयो– ‘भविष्यमा पानीको संकट नहोस् भनेर अहिलेदेखि नै विकल्पहरु खोजिनु राम्रो हो ।’ अब ८० किलोमिटर पाइपलाइन विस्तार गर्ने, नौ लाख लिटर क्षमताको दुईवटा ओभरहेड टंकी निर्माण गर्नेगरी डिपिआर बनाउन थालिएको हो । यस्तै केन्द्रीय खानेपानी आयोजनाको हाल निर्माणाधीन मजगाउँ क्षेत्रमा पनि नयाँ आयोजना सञ्चालन गर्न थालिएको हो । अहिले बजेट अभावका कारण आयोजनाको बाँकी निर्माण कार्यले गति लिएको छैन । नौ करोड ९८ लाखको लागतमा नयाँ आयोजनाको काम शुरु भएको थियो । जसबाट एक हजार पाँच सय ६५ उपभोक्तालाई पानी पु¥याउने लक्ष्य छ ।
नयाँ आयोजनाबारे छलफल
लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले नयाँ आयोजना सञ्चालनबारे सर्वपक्षीय छलफल गरेको छ । संस्थाका अध्यक्ष जंगबहादुर चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको छलफलले दोस्रो साना शहरी खानेपानीको उपलब्ध संरचनाबाट खानेपानी वितरण र विस्तारमा समस्या उत्पन्न हुँदै गएको, समस्या समाधान गर्न लमहीमा नयाँ आयोजनाको मागको बारेमा जानकारी गराइएको थियो । नयाँ आयोजना सम्पन्न गर्न सरकार र संस्थाले साझेदारी गरिनेछ । नेपाल सरकारले ७० प्रतिशत र संस्थाले ३० प्रतिशत लगानी गर्ने सहमति भएको छ । जसमा ३० प्रतिशतमध्ये संस्थाले १० प्रतिशत नगद र २० प्रतिशत श्रमदान हुनेछ । नगद १० प्रतिशतमध्ये पाँच प्रतिशत रकम शिलबन्दी टेन्डर हाल्नुपूर्ब बैंक दाखिला गर्नुपर्नेछ ।
आयोजनामा बन्ने संरचनाहरू ओभरहेड टंकी, डिप टियुबेल बोरिङ, भल्भ चेम्बरलगायत संरचना निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण जग्गा संस्थाले उपलब्ध गराउने छ । नयाँ आयोजनाको सेवाक्षेत्र पनि निर्धारण गरिएको छ । वडा नं. ३ को नारायणपुर, वनगाउँ, वडा नं. ४ को अर्नहवा, शान्तिनगर, चैलाही, वडा नं. ५ को सुनखोली, आदर्शटोल, कोलही, बसन्त नगर, प्रगति टोल, प्रिन्स बोडिङ क्षेत्र, गोरक्ष टोल, लमही गल्ली, वडा नं. ६ को देउपुर, खैरी, मध्यनगर, ढिकपुर, कसियापुर, लङ्गडी, छुट्की महरहवा, बड्का महरहवा, कुलमोहर, आर्मी क्याम्प, वडा नं. ७ को अर्जुनखोला पुल्चोक, सशस्त्र बेस क्याप, केन्द्रीय खानेपानी आयोजना मजगाउँको निर्माणाधीन आयोजनाले तत्कालीन रूपमा समेट्न नसकेको क्षेत्रलाई सेवा क्षेत्र निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया