एकल महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने भएको छ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले देशभरीका वडालाई सोही अनुसार गर्न निर्देशन दिएको छ।
एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता गर्ने विषयमा निर्देशन दिँदै विभागले मावलीकै थरबाट जन्मदर्ता हुने स्पष्ट पारेको हो।
‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने’, निर्देशनमा भनिएको छ।
त्यसैगरी, विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिन विभागले निर्देशन दिएको छ।
‘प्रकरण नं. (१) र (२) बाहेक अन्य अवस्थामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (संशोधन सहित), २०७७ र विभागको यस अघिका परिपत्रअनुसार गर्ने निर्देशन दिइएको छ’, विभागको परिपत्रमा भनिएको छ।


तपाईको प्रतिक्रिया