दशरथ घिमिरे

देउखुरी । लमही नगरपालिका–३ टिकुलीगढ निवासी ७६ वर्षीय फागुराम चौधरीलाई हाइड्रोशिलको समस्या थियो । वर्षाैंदेखि यो समस्याबाट पीडित चौधरीले प्रभावकारी परामर्श र उपचार नपाउँदा रोग लुकाएर बस्नुपर्ने बाध्यतामा हुनुहुन्थ्यो तर उनै चौधरीको लमही अस्पतालमा सफल शल्यक्रिया भयो ।
हाइड्रोशिलको शल्यक्रियाको लागि अन्यत्र जाँदा उपचार खर्च धेरै लाग्ने भएपछि चौधरी उपचार नगराई घरमै बस्दै आउनुभएको थियो । लमही अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउँदा शल्यक्रिया समेत हुने जानकारी पाएपछि उहाँले हाइड्रोशिलको शल्यक्रिया गराउनुभयो । यसका अतिरिक्त हात्तीपाइले रोगबिरुद्ध आम औषधि सेवन अभियानको क्रममा महिला स्वास्थ्य स्वयंसेविकाले समेत खबर पु¥याएका थिए । शल्यक्रियाको लागि दुई हजार पाँच सय र बाँकी औषधि गरेर पाँच हजार जतिको खर्चमा स्वास्थ्य समस्या समाधान भएको छोरा दुतराम चौधरीले बताउनुभयो । ‘बुवाको समस्या पुरानो हो । उपचार खर्च धेरै लाग्छ कि भनेर आएनौं । अहिले थोरै खर्चमा पनि अप्रेसन भयो’– उहाँले भन्नुभयो– ‘सबै रोगको उपचार यहीं भइदिए गरिब, दुःखी हामी जस्तालाई उपचार सेवा लिन सजिलो हुन्थ्यो ।’
लमही अस्पतालमा यही तीन दिनको अवधिमा छजनाको हाइड्रोशिलको शल्यक्रिया गरिएको छ । अस्पतालमा शल्यक्रिया हुन्छ भन्ने खबर पाएपछि सेवा लिने बिरामीको संख्या बढ्न थालेको लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दीपक आचार्यले जानकारी दिनुभयो । ‘अस्पतालमा शल्यक्रिया सेवा नियमित रुपमा भइरहेको छ’– उहाँले भन्नुभयो– ‘हामीले माइनर प्रकृतिको हाइड्रोशिल, हर्निया, एपेन्डिसाइटिस, जटिल प्रकारको प्रसूति शल्यक्रिया गर्दै आएका छौं ।’ अस्पतालबाट शल्यक्रिया सेवा नियमित भएपछि बिरामीहरुलाई सेवा लिन सजिलो भएको छ ।
लमही अस्पतालमा बीचमा रोकिएको शल्यक्रिया सेवा पुनः नियमित रुपमा शुरु भएको छ । शल्यक्रियामार्फत प्रसूति सेवा सञ्चालन भएको लमही अस्पतालमा अहिलेसम्म हाइड्रोशिल, हर्निया, एपेन्डिसाइटिसको शल्यक्रियामार्फत उपचार जारी छ । चालु आर्थिक वर्षको चैत पहिलो हप्तासम्म शल्यक्रियामार्फत प्रसूति सेवा लिनेको संख्या ११ जना छ । हाइड्रोशिलका छजना, हर्नियाका पाँचजना, एपेन्डिसाइटिसका छजना बिरामी रहेका छन् । मंसिर र पुस दुई महिना डाक्टर नहुँदा शल्यक्रिया सेवा सञ्चालन हुन सकेन । त्यसपछि डाक्टर आएपछि शल्यक्रिया सेवा नियिमित भएको हो ।
अस्पतालमा कार्यरत एमडिजिपि डा. महेश सिलवालको नेतृत्वमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दीपक आचार्य, एनेस्थेसिया असिस्टेन्ट सञ्जय शर्मालगायतको टिमले सफल सल्यक्रिया गर्दै आएको छ । अस्पतालले दिएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्मको आठ महिनाको अवधिमा दुई सय ४६ जना आमाले प्रसूति सेवा लिएका छन् । यही समयमा ११ जना आमाले शल्यक्रियामार्फत बच्चा जन्माएका छन् । यहाँ सल्यक्रिया सेवा नभइदिएको भए घोराही अथवा जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । साउनमा एक, भदौमा चार, असोजमा दुई, माघमा एक, चैतमा एकजना आमाले सल्यक्रियामार्फत बच्चालाई जन्मदिनु भएको छ ।

तपाईको प्रतिक्रिया