राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका छन् ।

 

पौडेलले ३३८०२ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतभार प्राप्त गरे । निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई १० राजनीतिक दलको समर्थन थियो ।नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टीले उनलाई समर्थन गरेका थिए ।

मंसिर ४ को आमनिर्वाचनभन्दा अगाडिदेखि उनले राष्ट्रपति बन्ने तयारी अगाडि बढाएका थिए ।

संसदीय मोर्चामा पौडेल
पौडेलले संसदीय यात्रा २०४८ सालमा तनहुँ १ बाट निर्वाचित भएर सुरु गरेका हुन्। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी स्थानीय विकासमन्त्री बने। २०४९ सालमा स्थानीय विकास तथा कृषिमन्त्री बन्ने अवसर पाए।

कांग्रेसले पाएको बहुमतलाई पाँच वर्ष टिकाउन सकेन। २०५१ सालमा मध्यावधि निर्वाचन भयो। एमालेले अल्पमतको सरकार बनायो। मनमोहन अधिकारी नेतृत्वको उक्त सरकारका पालामा तनहुँ–२ बाट निर्वाचित भएर आएका पौडेलले सभामुख बन्ने अवसर पाए। उनले पाँचै वर्ष सभामुखका रुपमा काम गरे।

२०५६ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट उनी सांसद् चुनिए। २०५७ सालमा उपप्रधानमन्त्रीसहित सञ्चार र गृह मन्त्री बन्ने अवसर पाए।

गिरिजाप्रसाद कोइरालासँग निकट पौडेलले माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा शान्ति सचिवालय संयोजक हुने अवसर पाए। शान्ति तथा पुनर्निमाण मन्त्री पनि उनलाई नै बनाइयो। त्यसपछि भएको पहिलो संविधानसभाको निर्वाचनमा उनी तनहुँ २ बाटै चौथोपटकका लागि जनप्रतिनिधि चुनिए। कांग्रेस संसदीय दलको नेता बन्ने अवसर समेत उनलाई जुर्‍यो। दोस्रो संविधान सभा २०७० मा तनहुँ–२ बाटै संविधानसभा सदस्य बने।

तपाईको प्रतिक्रिया