दशरथ घिमिरे

देउखुरी । राजपुर गाउँपालिका वडा नं. १ गुरुङखोला निवासी जंगबहादुर चलाउने लाहुर पसेको ३१ वर्ष नाघ्यो । आठ महिनाको दुधे छोरी श्रीमतीको काखमा छोडेर जंगबहादुर भारत पस्नुभएको थियो । अहिले छोरीको बिहे भएर पनि दुईवटा सन्तानको जन्म भइसकेको छ तर जंगबहादुरले न छोरीको बिहे गर्न पाउनुभयो । न त नयाँ परिवारका सदस्यलाई भेट्नै पाउनुभयो । घरखर्च टार्न भारत पस्नु भएका जंगबहादुर एक पटक पनि नफर्किएपछि ७९ वर्षीया आमा तुलसी चलाउनेको मन बेचैन भएको छ ।
हरेक दिन छोराको कुराइमा बित्ने गरेको छ । छोराको न चिठ्ठी आउँछ, न खबर आउँछ । ज्यूँदो छ कि मर्दो छ कुनै पत्तो छैन तर छोरा घर फर्किने आशा भने जीवितै छ । गाउँ घरमा नयाँ मान्छे देखेपछि छोरा हो कि भन्ने लाग्ने गरेको बताउनुहुन्छ उहाँ । छोराको याद दिलाउने एउटा तस्विर छ । त्यही तस्विर हेरेर तुलसीको दिन बित्ने गरेको छ । छोराको फोटो बोकेर भौंतारिने सिवाय अरु केही भएको छैन । ‘छोरा भारत गयो । आज आउला, भोलि आउला भन्दाभन्दै दिन बिते, महिना बिते, वर्ष बिते तर फर्केर आएन’- आमा तुलसीले बिलौना गर्दै भन्नुभयो- ‘आमाको मन हो, बाटो हेरेरै तीस वर्ष बिते । अहिले त छोरा पनि बुढो भयो होला, कस्तो होला उसको अनुहार ।’
तुलसीका सात भाइ छोरा हुन् । अहिले छ भाइ घरमै छन् तर एउटा सन्तान आफूसँग नहुुँदा संसार नभए जस्तो लाग्ने गरेको उहाँले बताउनु भयो । ‘६ भाइ घरमै छन् तर एउटा छोरा मसँग छैन । मन खुशी छैन । सबै छोरालाई एकैसाथ देख्न चाहन्छु’- उहाँले भन्नुभयो- ‘खोजेर भेटिन्छ कि भन्ने लागेको छ ।’ जंगबहादुर गाउँका केही साथीसहित भारत जानुभएको थियो । हिमाञ्चल प्रदेशको भर्मोरमा गएको पुष्टि भए पनि अहिले जंगबहादुर त्यहाँ हुनुहुन्न । सँगै गएका साथीहरु गाउँ फर्के । आफ्नै इलममा लागिसके तर जंगबहादुर घर नफर्किएपछि परिवारमा छट्पट्छी छाएको छ । भारतमा रहेका छोराको खोजी गरेर घर फर्काउन परिवारजनले अनुरोध गरेका छन् ।
तस्विर बोकेर युगबोधकर्मीलाई भेट्नु भएकी आमा तुलसीले छोराको खोजी गरिदिन अपिल समेत गर्नुभयो । ‘मेरो छोरा भारतमा छ । त्यहाँसम्म यो फोटो पुग्छ किी नाइँ ? खोजेर घर पठाइदिन अनुरोध गर्दछु’- उहाँले भन्नुभयो-‘म मर्नुअघि छोरालाई घरमा देख्न चाहन्छु ।’
जंगबहादुर घर नफर्किएपछि श्रीमतीले समेत घर छाडेर अन्यत्र विवाह गरेर जानुभयो । छोरीको बिहे पनि भइसक्यो तर ७९ वर्षीया आमा तुलसी चलाउने छोरा घर फर्किने आशामा बाटो कुरेर बस्नुभएको छ । छोराको पर्खाइमा आँखा थाकिसके तर आँखाले छोराको अनुहार खोजिरहेको छ । ‘गाई भैंसी पाल्ने म, खोज्न इण्डिया जान सकिनँ । अहिले जान खोज्दा समय धेरै बितिसक्यो । घर सम्झेर आउँछ कि भन्ने आशा अझै छ’- उहाँले भन्नुभयो- ‘छोराको सम्झना धेरै आउँछ । खोज्न काँ जाने, आउँछ कि भन्दै बाटो हेर्दै बस्छु ।’

तपाईको प्रतिक्रिया